सुर्खेत — लोपोन्मुख राउटे समुदायमा एकल महिलाको संख्या बढ्दा जनसंख्या घट्दै गएको छ । पछिल्लो वर्षमा राउटे समुदायमा १३ महिला एकल बनेको गुराँस गाउँपालिकाको तथ्यांक छ ।
उनीहरूका बालबालिका पनि छैनन् । अत्यधिक मदिरा सेवनका कारण श्रीमान्हरुको मृत्यु भएपछि उनीहरू सानै उमेरमा एकल बनेका हुन् । राउटेको संस्कारअनुसार उनीहरूले दोस्रो विवाह गर्न पाउँदैनन् ।
राउटे महामुखिया मैनबहादुर शाहीका अनुसार समुदायमा एकल महिलालाई उल्टो ढोका भएको छुट्टै घर बनाएर राख्ने चलन छ । ‘हामी उनीहरूको इच्छाभन्दा चलेको परम्परामा ध्यान दिन्छौं,’ उनले भने, ‘पुस्तौंदेखि चलिआएको संस्कार भएकाले परिवर्तन गर्न गाह्रो छ ।’ उनका अनुसार राउटे युवतीहरू सानै उमेरमा एकल हुनुको कारण गोत्र पनि हो ।
राउटे समुदायमा रास्कोटी, स्ववंशी र कल्याल गरी ३ किसिमका शाहीहरूको बसोबास छ । उनीहरूबीच एकअर्काको थरमा मात्र विवाह हुन्छ । समुदायमा कल्यालको संख्या धेरै भएकाले स्ववंशी र रास्कोटी थरका किशोरीको चाँडो विवाह हुने गरेको उनले बताए । एउटै थरका युवाहरू धेरै हुँदा बालविवाह र अनमेल विवाह धेरै हुने गरेको उनले जानकारी दिए ।
अलमेल र बालविवाहका कारण राउटे युवतीहरू सानै उमेरमा एकल बन्दा र उनीहरूले दोस्रो विवाह गर्न नपाउँदा राउटेको जनसंख्या घटिरहेको महामुखिया शाहीले बताए । ‘हाम्रो समुदायमा कसैको १२ वर्ष नपुग्दै विहे हुन्छ भने कोहीको ४० वर्षसम्म विवाह नै हुँदैन,’ उनले भने, ‘युवालाई पनि अर्को थरको छोरी जन्मिए १०/१२ वर्ष पुग्ने बेलासम्म विवाह कुनुपर्ने बाध्यता छ ।’
समुदायमा श्रीमान् गुमाएका महिलाले विहे गर्नु अपराध मानिने मुखिया सूर्यनारायण शाही बताउँछन् । उनका अनुसार बस्तीमा अहिले राउटेको संख्या १ सय ४२ मात्र छ । त्यसमध्ये ८१ जना कल्याल, ४० जना रास्कोटी र २१ जना स्वंवंशी थरका छन् । जहाँ महिलाको संख्या ७५ छ भने पुरुष ६७ जना मात्र छन् । स्ववंशीमा त पुरुषको संख्या ८ मात्रै छ ।
‘कल्याल समुदायका युवायुवतीले रास्कोटी र स्ववंशीका छोराछोरी नहुँदा उमेर ढल्कदा पनि विहे गर्न पाएका छैनन्,’ उनले भने, ‘समुदाय बाहिर विवाह गर्न मिल्दैन, यहाँ युवायुवतीको उमेर नै मिल्दैन ।’
३ वर्षदेखि राउटे समुदायमा सहजकर्ताको रुपमा काम गर्दै आएकी दुर्गा खत्रीले कल्याल समुदायमा विवाह गर्ने उमेर पुगेका १७ जना युवाको विवाह नभएको बताइन् । ‘एकल महिलालाई गरिने व्यवहार पनि फरक छ,’ उनले भनिन्, ‘अधिकांश महिला बच्चा नजन्माएर एकल हुँदा जनसंख्या क्रमशः घटिरहेको छ ।’ इकान्तिपुर बाट साभार