बाँके। जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले चालू आर्थिक वर्षको पहिलो महिनामा १८ लाख बढी राजश्व संकलन गरेको छ । कार्यालय प्रमुख राजु भण्डारीले दिएको जानकारी अनुसार, साउन महिनामा ३ हजार १ सय ७० वटा सवारीसाधन कारवाहीमा १८ लाख ५ हजार राजश्व संकलन भएको हो ।
साउन महिनामा ८ वटा सवारी दुर्घटना भएका छन् । जसमा ४ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । गएको आर्थिक वर्ष १ सय ५० वटा सवारी दुर्घटना भएका थिए । जसमा ७७ जनाले ज्यान गुमाएका थिए भने २ सय ८ जना घाइते भएका थिए ।
यस्तै ०७७–७८ मा साढे दुई करोडबढी राजश्व संकलन भएको थियो । ४७ हजार ८ सय ४७ वटा सवारीसाधन कारवाहीबाट २ करोड ७० लाख ६६ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको भण्डारीले बताए ।
आर्थिक वर्ष ०७६–७७ को भन्दा यो झन्डै डेढ करोडले बढी हो । ०७६–७७ मा १ करोड २९ लाख ६९ हजार राजश्व संकलन भएको थियो ।