८ मंसिर २०८१, शनिबार

विदेश छाडेर गाउँमै उद्यम

होमस्टे, कृषि फार्म र रेस्टुरेन्ट सञ्चालन गरिरहेका युवा आफू मात्रै आत्मनिर्भर भएका छैनन्, अरुलाई समेत रोजगारी दिइरहेका छन्

  • न्युज मानसराेवर

स्नातक तहको पढाइ बीचमै छाडेर वैदेशिक रोजगारीमा गए । तीन वर्ष साउदी अरबमा बिताएर फर्किए । बाँकेको कोहलपुर–१४ का २७ वर्षीय दिनेश थापा अहिले गाउँमै होमस्टे व्यवसाय सञ्चालन गरिरहेका छन् ।

‘मरुभूमिमा हरियो तरकारी फलेको देखेँ,’ उनले भने, ‘बालुवामा हरियो देखेपछि नेपालमा माटोमै केही गर्नुपर्छ भन्ने लाग्यो ।’ त्यसैले मुलुकमै व्यवसाय गर्ने सोचका साथ आफ्नै भूमिमा फर्किएको उनले सुनाए ।

स्वदेश फर्किंदा थापाले केही रकम ल्याएका थिए । त्यसले होमस्टे सञ्चालन गर्ने निष्कर्षमा पुगे र नाम जुराए अर्गानिक होमस्टे । अहिले अर्गानिक होमस्टे सम्पूर्ण समुदाय र विभिन्न परिकारको साझा थलोसमेत बनेको छ । त्यहाँ अर्गानिक वस्तुदेखि तराईमा पाइने परिकार र थारू तथा अन्य समुदायका विशेष परिकार पाइन्छन् । त्यहाँको अर्को राम्रो पक्ष शान्त र सुन्दर रमणीय वातावरण हो ।

कोहलपुर–नेपालगन्ज सडक खण्डअन्तर्गत हवल्दापुरदेखि पूर्वतर्फ अघि बढ्दा वीरेन्द्र खड्काले सञ्चालन गरेको कृषि फार्म पुगिन्छ । वैदेशिक रोजगारीको सिलसिलामा पाँच वर्षसम्म बहराइनमा बसेर फर्केका उनले डुडुवा गाउँपालिका–५ मा घरनजिकै व्यावसायिक रूपमा भैंसीपालन गरिरहेका छन् । दुईवटा भैंसीबाट सुरु गरेको उनको जयमाधुरी कृषि फार्म प्रालिमा हाल सानाठूला गरी २० वटा गाई र भैंसी छन् ।

विदेशमा पाएको दु:ख सम्झिँदा अहिले गरेको काममा निकै सन्तुष्टि मिलेको खड्काले सुनाए । ‘विदेश बस्दा धेरै दु:ख पाएँ, परिवारको चिन्ता अर्कोतिर थियो,’ उनले भने, ‘अहिले म निकै खुसी छु । दुई जनालाई आफ्नो फार्ममा रोजगारी दिन सकेको छु ।’ घरमै फार्म खोलेर मासिक एक लाख रुपैयाँसम्मको दूध बिक्री गर्दै आएकाले सन्तुष्टि मिलेको उनले सुनाए । हाल उनी विदेश जान चाहने युवालाई स्वदेशमै काम गर्न हौस्याउँछन् ।

खड्काजस्तै पाँच वर्षसम्म दक्षिण कोरिया बसेर फर्केका बर्दियाका कमल वलीले बाँकेको गनापुरमा व्यावसायिक रूपमा कडकनाथ जातका कुखुराका साथै एकीकृत कृषि फार्म सञ्चालन गरिरहेका छन् । १० कट्ठा जमिन भाडामा लिएर वलीले कडकनाथ कुखुरा, लोकल कुखुरा र बाख्रापालन गरेका छन् । ६० लाख रुपैयाँ लगानीमा फार्म सञ्चालन गरेका उनले अहिलेसम्म सरकारी अनुदान पाएका छैनन् ।

विदेशबाट फर्केको १५ दिनमै व्यवसाय सुरु गरेका वलीले हाल ७ जनालाई रोजगारी दिइरहेका छन् । कोरियाको जस्तै मासिक तीन लाख रुपैयाँसम्म आम्दानी भइरहेको उनले सुनाए । कोरिया बस्दा श्रमलाई इज्जत गर्न सिकेको बताउने उनले त्यहाँ गर्ने दु:खको ५० प्रतिशत मात्रै मिहिनेत स्वदेशमा गरे राम्रो आम्दानी गर्न सकिने बताए ।

‘विदेशमा धेरै दु:ख पाइन्छ, अरुको गाली खानुपर्छ,’ उनले भने, ‘त्यहाँ गर्ने मिहिनेतको आधा मात्रै परिश्रम यहाँ गर्ने हो भने यहीं प्रशस्त सम्भावना छ ।’ हाल उनले उत्पादन गरेका कडकनाथ जातका कुखुराको चल्लाको अत्यधिक माग बढेपछि आपूर्ति गर्न भ्याइनभ्याइ छ ।

उत्पादित कडकनाथ र स्थानीय कुखुराको खपतका लागि गनापुरमै बेलीफुल रेस्टुरेन्टसमेत सञ्चालनमा ल्याएका छन् । पछिल्लो समय विदेशमा बसेर फर्केका युवाहरूले स्वदेशमा लगानी गरी लोभलाग्दो आम्दानी र स्थानीयस्तरमा रोजगारीसमेत सिर्जना गरेका छन् । इकान्तिपुर।

  • ५ भाद्र २०७८, शनिबार प्रकाशित

  • Nabintech