७ मंसिर २०८१, शुक्रबार

बैजनाथमा भाइरल रोड हेर्न र टिकटक बनाउन आउनेको भीड
  • न्युज मानसराेवर

बैजनाथ। बाँकेको न्यू सिटी रोड भाइरल नै भएको छ । पछिल्लो समय सामाजिक सञ्जाल टिकटकमा भाइरल भएको न्यू सिटी सडक निकै चर्चामा रहेको छ ।

बाँकेको बैजनाथ गाउँपालिकास्थित न्यू सिटीमा रहेको भाइरल सडक हेर्न र टिकटक बनाउन आउनेको भीड नै लाग्ने गरेको छ । केही समय अगाडिसम्म सुनसान न्यू सिटीमा अहिले नास्ता पसल, चटपटे, होटललगायत गाडीसमेत त्यही ठाउँमा पुग्ने गरेको स्थानीयले बताउँछन् ।

यो ठाउँ एकाएक भाइरल भएको देखेर स्थानीय दंग छन् । वरिपरि हरियाली खेत, चारैतिर मनमोहक दृश्यसँगै रुखहरुको छायाका कारण पनि यो ठाउँ निकै रमाइलो । अहिले यस सडकमा टिकटक बनाउन र हेर्न आउनेको घुइचो नै लाग्ने गरेको कोहलपुर नगरपालिका–३ का हिमेन्द्र चौधरीले बताउँछन् ।

नजिकै रहेको भाइरल रोडमा दैनिक जसो जाने गरेको उनले बताए । खाली समय हुने वित्तिकै भाइरल रोड घुन्न पुगिहाल्ने चौधरी बताउँछन् । निजी जग्गामा प्लटिङ गरिएको र सुन्दर फाँटको बीच फराकिलो कालोपत्रे गरिएको पक्की सडक निकै रमणीय छ ।

टाढा–टाढादेखि उक्त भाइरल रोड हेर्न दैनिक हजारौंको संख्यामा आउने गरेको कोहलपुर–१४ की विमला पुनले बताइन् । ‘मैले पनि टिकटकमा भाइरल रोड हेर्न समय मिलाएको थिए । बल्ल समय मिलाएर हेर्न आए’, उनले भनिन् ।

उनले थप भनिन्, ‘यहाँ आउँदा त साच्चै नै रमाइलो ठाउँ भएको महसुस गरेकी छु ।’ उक्त सडकमा म्युजिक भिडियो बनाउन, सेल्फी खिच्न तथा टिकटक बनाउन आउनेको घुइँचो लाग्ने गरेको छ ।

‘यो सडक खेतको बीचमा बनेको छ । सामाजिक सञ्जाल टिकटकमा भाइरल भएको देखेर घुम्न आएको हुँ’, भाइरल सडक घुम्न आएकी अनु रावतले भनिन् । ‘सामाजिक सन्जालमा निकै भाइरल भएको देखेर यहाँ नआइ मन मानेन’, उनले थप भनिन् ।

त्यस्तै, स्थानीय सन्तोष चौधरीले भने, ‘टिकटकमा देखेर यो सडकको बारेमा थाहा पाएकी हुँ । म आज पहिलोपटक यहाँ आएँ ।’ उक्त ठाउँमा दैनिक पर्यटक बढ्न थालेपछि वातावरण प्रदूषण भइरहेको उनले बताए । ‘हजारौंको भीडमा दैनिक फोहोर बढिरहेको छ, तर सफा कस्ले गर्ने ?’ उनले भने । तस्विर र समाचार पत्रकार भगराम थारुको सहयोगमा 

  • ६ भाद्र २०७८, आईतवार प्रकाशित

  • Nabintech