२ माघ २०८१, बुधबार

फस्टाउनै सकेन होटल व्यवसाय
  • न्युज मानसराेवर

बाँके। ऐतिहासिक सहर नेपालगन्ज व्यावसायिक हिसाबले पश्चिम नेपालकै मुख्य प्रवेश द्वारका रूपमा परिचित छ । तर, कोभिड–१९ का कारण सबैभन्दा बढी प्रभावित क्षेत्र होटल व्यवसाय बनेको छ । अन्य उद्योग, व्यवसाय पुरानै लयमा फर्किन खोज्दा होटल एवं रेस्टुरेन्ट व्यवसाय भने थप थला पर्दै गइरहेका छन् । पछिल्लो दुई वर्षमा यहाँका ५० वटा साना र मध्यम खालका होटल बन्द भएका छन् ।

जिल्लामा अहिले लकडाउन र निषेधाज्ञा छैन । तर, होटल व्यवसायमा पटक्कै चहलपहल देखिँदैन । ‘पछिल्लो दुई वर्षमा यहाँका साना र मध्यम गरी ५० होटल बन्द भए । हाम्रो जानकारीमा नभएका अझ कति बन्द भए, त्यसको गणनै छैन,’ होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भीम कँडेलले भने, ‘यस्तै अवस्था रहे बन्द हुने होटलको संख्या अझै बढ्न सक्छ ।’ नेपालगन्ज उपमहानगरपालिकामा मात्रै १ हजार ५ सय होटल सञ्चालनमा रहेको कँडेलले जानकारी दिए ।

नेपालगन्ज बसपार्कका होटल व्यवसायी गणेशबहादुर मल्लले १५ वर्षदेखि चलाइरहेको होटल गएको असार १ गतेदेखि चटक्कै छोडे । होटलका पुराना सामान राप्ती नदीमा लगेर बगाएको उनले सुनाए । ‘आफ्नो जिन्दगीको लामो समय होटल व्यवसायमै लगाएँ,’ सल्यानी मल्ल होटलका सञ्चालक उनले भने, ‘अहिले आएर चटक्कै छोड्नु पर्दा दुःख लागेको छ ।’

कोभिड–१९ का कारण लकडाउन अनि निषेधाज्ञाले होटल नचलेपछि बन्द गर्ने निर्णयमा पुगेको उनले सुनाए । दुई वर्षसम्म होटल राम्रोसँग नचल्दा पनि उनले तीन महिनाको मात्रै भाडा छुट पाए । ‘घरबेटीले भाडा नछोड्ने, सरकारले कर लिन नछोड्ने,’ मल्लले भने, ‘लकडाउनमा त भाडा हाफ गरे पनि हुन्थ्यो नि ! त्यो पनि नभएपछि कतिन्जेल ऋण खोजेर भाडा तिर्नु भनेर होटल नै छोडेँ ।’ उनको जस्तै पीडा नेपालगन्जका केही मध्यम खालका होटल व्यवसायीको छ ।

पुष्पलाल चोकमा जनार्दन पाण्डेले ३० वर्षदेखि चलाइरहेको होटल छोडे । उनी होटलको १ लाख १५ हजार रुपैयाँ मासिक भाडा बुझाउँथे । भाडा पनि तिर्न नसकेपछि उनलाई होटल चलाउने आँट नआएको उनले सुनाए । वैशाख ३० गतेसम्मको भाडा बुझाएर उनले होटल बन्द गरेको बताए । ‘होटलको भाडासमेत उठ्न गाह्रो भयो,’ पाण्डेले भने, ‘लाखौं लगानी लगाएको होटल छोड्न त मन थिएन, बाध्यताले छोडियो ।’

दुई वर्षको निरन्तर लकडाउन अनि निषेधाज्ञाले यहाँका केही मध्यम र साना खालका होटल बन्द भएका छन् भने ठूला होटल भाडा तिर्न नसक्ने सकसमा छन् ।

‘एक वर्षसम्म होटलका गेटमा ताल्चा झुन्डिए । तर, बैंकदेखि सरकारी निकायले त्यो नदेखेझैं गरे,’ होटल सिद्धार्थका सञ्चालक केशव न्यौपानेले भने, ‘केन्द्रबाट स्पष्ट राहतका कार्यक्रम नआएका कारण जिल्लास्थित सरकारी कार्यालयले ताकेता पठाइरहेका छन् । त्यसैले होटल व्यवसायी यहाँका सरकारी हाकिमसँग होइन, सरकार चलाउनेहरूसँग रुष्ट छन् ।’ मानसरोवर जाने हजारौं भारतीय तीर्थयात्रुले नेपालगन्जलाई ट्रान्जिट बनाउने होटल सिद्धार्थका न्यौपानेले बताए । ‘नेपालगन्ज बसेर आउँदा जाँदा कम्तीमा एउटा ग्रुपले लाखको कारोबार गर्थे,’ उनले भने, ‘कोरोनाले यो सबै चौपट पार्‍यो । पर्यटक अभावमा धमाधम होटल बन्द हुन थाले ।’

लकडाउनका कारण यस क्षेत्रका कामदार विस्थापित भई बेरोजगार भएका छन् । ‘राज्यले कामदारलाई आवश्यक तालिमको व्यवस्था गरेर रोजगारीको अवसर सिर्जना गर्न पहल गर्नु आवश्यक छ,’ होटल व्यवसायी महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष भाष्कर काफ्लेले भने, ‘जिल्लाको पर्यटकीय क्षेत्रको पहिचान तथा खोज अनुसन्धान गरी पर्यटकीय क्षेत्रको विकास र प्रचारप्रसार जरुरी छ ।’

चैतदेखि असार महिना पर्यटकीय समयका रूपमा चिनिन्छ । बाँकेमा भारतबाट वर्षभरि आउने पर्यटकमध्ये ९० प्रतिशतभन्दा बढी यी दुई महिना मात्र भित्रिन्छन् । भारतबाट भित्रिने पर्यटक दिल्लीबाट हवाई मार्गबाट काठमाडौं र त्यसपछि नेपालगन्ज आउने गर्छन् । त्यसबाहेक सडक यातायातको प्रयोग गरी नेपालगन्ज नाकाबाट समेत हजारौं पर्यटक यहाँ भित्रिने गरेका थिए । इकान्तिपुर बाट

  • २१ भाद्र २०७८, सोमबार प्रकाशित

  • Nabintech