बाँके। पश्चिम नेपालकै पुरानो सहर नेपालगन्ज उपमहानगरपालिका अझै निरक्षरको सूचीमा रहेको छ । नेपालगन्जलाई साक्षर बनाउन १३ वर्षअघि अभियान सञ्चालन गरिएको थियो । तर स्थानीय सरकार गठन भएर पनि वडा कार्यालयहरूको बेवास्ताका कारण अभियान सफल हुन नसकेको हो ।
नेपालगन्जसँगै बाँकेका डुडुवा, नरैनापुर र बैजनाथ गाउँपालिकाले साक्षर पालिका घोषणा गर्न सकेका छैनन् । बैजनाथले सबै प्रक्रिया पूरा गरेर भदौमै साक्षर पालिका घोषणा गर्ने जनाएको छ । नेपालगन्ज सहर पश्चिममै विकसित सहर मानिन्छ । तर निरक्षरको सूचीबाट नहट्दा बदनामी खेप्नुपरेको छ । उपमहानगरको एउटै वडा साक्षर घोषणा गरिएको छैन ।
नेपालगन्ज–९, १४, १५ र २२ लाई साक्षर घोषणा गर्न साक्षरता कक्षा सञ्चालन गरिएको उपमहानगरका शिक्षा शाखा अधिकृत लोकेन्द्रबहादुर शाहीले बताए । अन्य वडा कार्यालयमा भने साक्षरता कक्षा सञ्चालन गरिएको छैन । वडा–१ धम्बोझी र वडा–२ घरवारी टोल साक्षर घोषणा गर्न मापदण्ड पूरा भइसकेको छ । तर साक्षर वडा घोषणा गरिएको छैन । नेपालगन्ज–२३ हिरमिनिया, १६ जयसपुर, २१ पुरैना, १७ परसपुर, ११ त्रिभुवन चोक, १५ पिप्रहवा क्षेत्रमा साक्षर प्रतिशत निकै कम छ । यी क्षेत्रहरू नेपालगन्जलाई उपमहानगर बनाउँदा गाभिएका गाविस हुन् ।
नेपालगन्ज उपमहानगरले साक्षर अभियानका लागि चालु आर्थिक वर्षमा बजेट विनियोजन गरेको छैन । ‘यो वर्ष बजेट छुट्याइएको छैन । त्यसैले साक्षर उपमहानगर बनाउन अझै समस्या देखिन्छ,’ नगर शिक्षा अधिकृत शाहीले भने ।
त्यस्तै, ६ वटा वडा भएको डुडुवा गाउँपालिकाले एउटा टोल पनि साक्षर घोषणा गर्न सकेको छैन । हाल उक्त गाउँपालिकामा ९ हजार सर्वसाधारण पढ्न लेख्न जान्दैनन् । पालिकालाई साक्षर घोषणा गर्न अभियान सञ्चालनका लागि कुनै कार्यक्रम सञ्चालन नगरिएको डुडुवाका शिक्षा शाखा प्रमुख सञ्जय कर्णले बताए । ‘पालिकालाई साक्षर बनाउनेतर्फ कसैको ध्यान पुगेको छैन,’ उनले भने ।
जिल्लाको दुर्गम मानिने नरैनापुर गाउँपालिकाले चालु आर्थिक वर्षमा साक्षर पालिका घोषणा गर्ने भन्दै अभियान सञ्चालन गरेको छ । शिक्षा शाखा प्रमुख कृष्णकुमार थारुले तीन महिनामा साक्षर पालिका घोषणा गर्ने योजनामा रहेको जनाए । जिल्ला समन्वय समिति बाँकेका संयोजक अजयकुमार श्रीवास्तवले जिल्लालाई साक्षर घोषणा गर्न पालिका प्रमुखहरूले प्रत्येक वर्ष प्रतिबद्धता जनाए पनि व्यवहारमा कार्यान्वयन नगर्ने बताए । बाँकेको कोहलपुर नगरपालिका, खजुरा, जानकी र राप्तिसोनारी गाउँपालिका भने साक्षर घोषणा भइसकेका छन् ।इकान्तिपुर बाट साभार