काठमाडौं। यती एयरलाइन्सले जहाज थपेर नयाँ गन्तव्य विस्तार गर्ने भएको छ। सन् १९९८ सेप्टेम्बर २१ बाट पहिलो उडान सुरु गरेको यतीले २४ वर्ष प्रवेशसँगै गन्तव्य विस्तारको रणनीति अख्तियार गरिने जानकारी दिएको हो।
कम्पनीले जेट स्ट्रिम युगको पूर्णरुपले अन्त्य गरी एटिआर युगमा प्रवेश गरिएको समेत उल्लेख गरेको छ। हालै यतीले ५ वटा विमान बिक्री गरेको छ। नेपालका दुर्गम क्षेत्रका बासिन्दालाई मानवीय सेवा गर्ने उद्देश्य लिएर स्थापना भएको यतीले आफ्नो भगिनी संस्था तारा एअरसहित सेवा प्रदान गर्दै आएको कम्पनीले दाबी गरेको छ।
कल सेन्टरको शुभारम्भ
एअरलाइन्सले वार्षिकोत्सवको अवसरमा ग्राहकवर्गलाई थप सहजता प्रदान गर्ने उद्देश्यले रिजर्भेसन सेन्टर बढाउँदै आजबाट कल सेन्टरको औपचारिक शुभारम्भ गरेको छ। कल सेन्टरको शुभारम्भसँगै अब ०१–५९७००७४ मा फोन गरी उडानसम्बन्धी जानकारी लिन सकिने र उडानसम्बन्धी जिज्ञासा अनुत्तरित नरहने यती एअरलाइन्सले जनाएको छ।