काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०७४ सालको चुनावमा वामपन्थी गठबन्धनबाट उत्साहजनक परिणाम ल्याएका प्रचण्डले त्यो बेला नै कांग्रेससँग मिलेर सरकार बनाउने प्रयास गरेको बताएका छन् । ओलीले तत्कालीन संघीय समाजवादी फोरमको विमतिका कारण मात्र प्रचण्डले एमालेको सरकारलाई समर्थन गरेको दाबी गरेका छन् ।
असोज १५ देखि शुरू हुने विधान महाधिवेशनमा पेश गर्न तयार ओलीको राजनीतिक प्रतिवेदनमा आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएपछि मात्र प्रचण्ड एमालेको सरकारमा सहभागी हुन राजी भएको उल्लेख गरेका छन् ।
‘वाम गठबन्धन बनाएर चुनावमा उत्साहजनक परिणाम हासिल गर्न सफल पुष्पकमल दाहाल प्रचण्डबाट निर्वाचनपछि भने कांग्रेससँग मिलेर सरकार बनाउने र नेकपा एमालेलाई एक्लो पार्ने प्रयास भयो । संघीय समाजवादी फोरम संसद्को सबैभन्दा ठूलो दल एमालेलाई बाहिर राखेर सरकार बनाउन नहुने मान्यतामा उभिएपछि मात्रै प्रचण्डको बाध्यात्मक समर्थन नेकपा (एमाले) नेतृत्वको सरकारलाई प्राप्त भयो’ ओलीको प्रतिवेदनको पेज नम्बर ३१ र ३२ मा लेखिएको छ, ‘प्रचण्डसँग सरकारको नेतृत्व आलोपालो गर्ने सहमति गरेपछि मात्रै माओवादी केन्द्र सरकारमा सहभागी भयो । यो प्रचण्डको अवसरवाद र अनैतिक राजनीतिको उदाहरण थियो ।’
माओवादी केन्द्रको समर्थनमा ओली २०७४ फागुन ३ गते प्रधानमन्त्री बनेका थिए । ओलीले राजनीतिक प्रतिवेदनमा सरकार बन्नुअगावै प्रचण्डसँग सरकारको नेतृत्व आलोपालो गर्ने भएको दाबी गरिएको छ ।
२०७५ जेठ ३ गते नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुनु अघिल्लो दिन जेठ २ मा सरकारको नेतृत्व आलोपालो गर्ने सहमति पत्रमा ओली र प्रचण्डले हस्ताक्षर गरेका थिए । त्यो गोप्य दस्तावेज एक वर्षपछि सार्वजनिक भएको थियो ।
राजनीतिक प्रतिवेदनमा भने ओलीले सरकार गठन पूर्व नै सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको दाबी गरेका छन् ।
सरकारको नेतृत्व आलोपालो गर्नेबारे जेठ २ अगावै अर्को सहमति भएको यसअघि कसैले दाबी गरेका थिएनन् । त्यस्तो सहमतिको दस्तावेज भने अहिलेसम्म सार्वजनिक भएको छैन ।
राजनीतिक प्रतिवेदनमा ओलीले कयौँ ठाउँमा प्रचण्डको आलोचना गरेका छन् ।