काठमाडौँ। नेकपा एमालेले पार्टी आन्तरिक जीवनमा सबैभन्दा ठूलो महाधिवेशन पहिलो पटक आयोजना गर्न लागेको छ ।
एमालेको पहिलो विधान महाधिवेशनमा ६ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने भएका छन् ।
असोजको १५ देखि १७ सम्म ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा एमालेले अधिवेशन आयोजना गर्न लागेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल र कार्यक्रम व्यवस्थापन समितिका नेताहरूले अधिवेशन आयोजना हुने स्थलको अवलोकन गरेका छन् ।
एमाले अध्यक्ष ओली आज गोदावरीस्थित कार्यक्रम आयोजनास्थल पुगेर तयारीको बारेमा एमाले कार्यालय सचिव शेरबहादुर तामाङ र महाधिवेशन आयोजक कमिटीका सदस्य एवं मिडिया संयोजक खीमलाल भट्टराईलगायतसँग जानकारी लिएका थिए ।
मुख्य हलमा सबैलाई छैन सिट
गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रको मुख्य हलमा तीन हजार कुर्सी राखिएका छन् । तर, महाधिवेशनमा ६ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने भएपछि मुख्य हल प्रवेश गर्नुभन्दा अगाडिको खुल्ला ठाउँ र दायाँ बायाँ रहेको सहायक हलमा पनि विधान महाधिवेशन प्रतिनिधिलाई राख्न लागिएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
तीन सहायक हलमा एक–एक हजार र मुख्य हलमा तीन हजार जना प्रतिनिधि राखेर अधिवेशन आयोजना गर्न लागिएको छ । सहायक हलहरूमा राखिने प्रतिनिधिहरूले ठूला डिजिटल स्क्रिनमा मुख्य हल र स्टेजलाई लाइभ हेर्न पाउने व्यवस्था गरिएको मिडिया संयोजक भट्टराईले बताए ।
तीन दिन आयोजना हुने महाधिवेशनमा रोटेसनको आधारमा सहायक हल र मुख्य हलमा प्रतिनिधिलाई राखिने उनले बताए । विधान महाधिवेशन आयोजक समितिले कुन प्रतिनिधिलाई कहाँ राख्ने भन्ने योजना बनाएको छ ।
‘महाधिवेशनमा आएका प्रतिनिधिलाई मुख्य हलमा बस्नै नदिएर पठाउन मिल्दैन । त्यसैले रोटेसनको आधारमा मुख्य हल र सहायक हलमा बस्ने व्यवस्था मिलाएका छौं,’ भट्टराईले भने ।
त्यसबाहेक एमालेका शीर्ष नेताहरूको बैठक र आराम गर्नका लागि पनि छुट्टै कक्षको व्यवस्था गरिएको छ ।
अधिवेशनस्थललाई झकिझकाउ बनाउने काम तीव्र रूपमा अघि बढेको छ । हल प्रवेश गर्ने मुख्य गेटमा विधान महाधिवेशनको लोगोसहित स्वागतद्वार बनाउन लागिएको छ ।
सनराइज सम्मेलन केन्द्रलाई पोस्टर, ब्यानर, एमालेको चुनाव चिह्न र पार्टीको झण्डा प्रयोग गरेर सिँगार्ने काम भइरहेको तामाङले जानकारी दिए ।
सातदोबाटोबाट गाडीको व्यवस्था, सात हजार जनालाई खाना
देशभरबाट विधान महाधिवेशनमा सहभागी हुन आएका प्रतिनिधिलाई ललितपुरको सातदोबाटोबाट गोदावरीसम्म पुग्नका लागि २० देखि २५ वटा पर्यटक बसको व्यवस्था एमालेले गरेको छ ।
महाधिवेशनको तीनै दिन बिहान ७ बजेबाट ९ बजेसम्म प्रतिनिधिलाई सातदोबाटोबाट गोदावरी लैजाने र बेलुका ५ बजेपछि पुनः सातदोबाटोसम्म फिर्ता ल्याउने व्यवस्था मिलाएको तामाङले बताए ।
महाधिवेशनस्थलमा पुग्ने प्रतिनिधिमध्ये करीब १५ सय जनाले निजी सवारी प्रयोग गर्ने र अरूलाई बसमा ल्याउने, लैजाने व्यवस्था गर्नुपर्ने अनुमान गरिएको तामाङले बताए ।
बिहान ९ बजेबाट ११ बजेसम्म सम्मेलन केन्द्रको दायाँतर्फ खानाको व्यवस्था गर्न लागिएको छ । दुई घण्टामा ७ हजार जना मानिसलाई खाना खुवाउने गरी व्यवस्थापन गर्न लागिएको तामाङले बताए ।
महाधिवेशनमा सहभागी भएका प्रतिनिधि, सवारी चालक र सुरक्षाकर्मीलाई खाना खुवाउने कार्यक्रम रहेको उनले बताए । महाधिवेशनमा सहभागी भएका प्रतिनिधिलाई दिउँसो ३ बजे प्याकेटमा खाजाको व्यवस्था गरिएको उनले बताए ।
छुट्टै मिडिया सेन्टर
एमालेको विधान महाधिवेशनको समाचार संकलन र सम्प्रेषणका लागि जाने सञ्चारकर्मीका लागि प्रविधियुक्त मिडिया सेन्टरको व्यवस्था गरिएको भट्टराईले बताए । ‘सम्मेलन केन्द्रबाटै लाइभ गर्न सक्ने गरी उच्च गतिको इन्टरनेट सुविधासहितको मिडिया सेन्टरको व्यवस्था गरेका छौँ,’ मिडिया संयोजक भट्टराईले भने ।
सम्मेलन केन्द्रको मुख्य हलको माथिपट्टि दायाँतर्फ मिडिया सेन्टर बनाइएको छ । मिडिया सेन्टरमा बसेर काम गर्न सक्ने गरी व्यवस्थापन गरिएको उनले बताए । त्यसबाहेक मिडिया ब्रिफिङको लागि छुट्टै ठाउँ बनाइएको छ । त्यहाँ महाधिवेशनमा छलफल भएका विषयमा नेताहरूले मिडियालाई ब्रिफिङ गर्छन् ।
काठमाडौंका सात ठाउँबाट भिडियो प्रसारण
एमालेको विधान महाधिवेशनका काठमाडौं उपत्यकाको सात ठाउँबाट अधिवेशनको भिडियो प्रसारण गर्ने तयारी गरिएको मिडिया संयोजक खीमलाल भट्टराईले बताए । त्यसका लागि ठूला डिजिटल बोर्डको प्रयोग गर्न लागिएको छ ।
काठमाडौंको कालीमाटी, थापाथली, दरबारमार्ग, कमलपोखरी, चाबहिल, चुच्चेपाटी र तीनकुनेमा रहेको डिजिटल बोर्ड एमालेले भाडामा लिएको छ । ती डिजिटल बोर्डमा बिहान दुई घण्टा र बेलुका तीन घण्टा भिडियो प्रसारण गरिने भट्टराईले बताए ।
ती भिडियोमा महाधिवेशनका गतिविधि समेटिने र सम्मेलन केन्द्रमा नपुगेका कार्यकर्तालाई जानकारी गराउन उपयोगी हुने भएकोले भिडियो प्रसारण गर्न लागिएको उनले बताए । ती डिजिटल बोर्डमा अडियोबाहेकको दृश्य मात्रै प्रसारण हुनेछ ।
आवासको जिम्मेवारी प्रदेश कमिटीलाई
विधान अधिवेशनमा सहभागी हुन देशभरबाट आउने प्रतिनिधिलाई बसोबासको व्यवस्थापन गर्ने जिम्मेवारी प्रदेश कमिटीलाई दिइएको भट्टराईले जानकारी दिए ।
‘कति मानिस होटलमा बस्नुपर्छ भन्ने तथ्यांक तयारी हुने अवस्थामा छ । काठमाडौंमा उनीहरूको बसोबासको व्यवस्था प्रदेश कमिटीले काठमाडौंमा रहेका सम्बन्धित सम्पर्क मञ्चसँगको समन्वयमा व्यवस्थापन गर्नेछन्,’ भट्टराईले भने ।
गोदावरी क्षेत्रमा रहेका होटल, सातदोबाटो, सुन्धारा, बागबजार क्षेत्रमा होटलमा प्रतिनिधिलाई बस्ने व्यवस्था मिलाउन लागिएको उनीहरूले बताएका छन् ।
गोदावरी क्षेत्रको होटलमा करीब ५–६ सय बेड मात्रै भएकाले धेरैजसो प्रतिनिधि काठमाडौंकै होटलमा आउनु पर्ने अवस्था रहेको उनीहरूले बताएका छन् ।
मास्क र स्यानिटाइजर अनिवार्य
एमालेको विधान महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिले अनिवार्य रूपमा मास्क लगाउनुपर्ने र साथमा स्यानिटाइजर बोक्नुपर्ने नियम बनाइएको छ ।
थर्मल गनले ज्वरो नापेर मात्रै प्रतिनिधिलाई महाधिवेशन हलमा प्रवेश गराइने भट्टराईले बताए । रूघाखोकी लागेका र ज्वरो आएका प्रतिनिधिलाई महाधिवेशनस्थलमा नआउन एमालेले भनेको छ ।
२०० जना स्वयंसेवक
एमालेको विधान महाधिवेशन व्यवस्थापनको लागि २०० जना स्वयंसेवक परिचालन गर्न लागिएको छ ।
त्यसका लागि, अनेरास्ववियु, युवा संघ, खेलकुद महासंघ लगायतका कार्यकर्तालाई परिचालन गर्न लागिएको एमाले कार्यालय सचिव तामाङले बताए ।
स्वयंसेवकले सातदोबाटोमा प्रतिनिधिलाई गाडी चढाउने, महाधिवेशनस्थलको भीडभाड व्यवस्थापन गर्ने, खाना खुवाउने, पार्किङ व्यवस्थापन गर्नेलगायतको काम गर्ने आयोजक समितिले बताएको छ ।
बाटो र पार्किङको समस्या
एमालेको विधान अधिवेशन आयोजनास्थल पुग्न बाटोका कारण ठूलो समस्या भोग्नुपर्ने देखिएको छ । ललितपुरको हात्तीवनदेखि गोदावरीसम्म बाटो मर्मत हुन लागेको हुँदा सवारी आवागमनमा समस्या हुने देखिएको छ ।
महाधिवेशनस्थलसम्म जानका लागि एउटै समयमा एक हजार भन्दा बढी साना सवारीसाधन प्रयोग हुने भएकाले उक्त क्षेत्रको ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुने देखिन्छ ।
सानो बाटो, त्यसमा पनि बाटो विस्तारका लागि दायाँबायाँ खनिएको हुँदा बाटो हिलाम्मे छ । बाटोको दायाँबायाँ निर्माण सामग्री थुपारिएको छ । त्यसले गर्दा सवारी सजिलै आवागमनमा समस्या हुने देखिएको छ । तर, तीन दिनसम्म बिहान ९ बजेदेखि ११ बजेसम्म र साँझ ५ बजेपछिको सवारी आवागमन व्यवस्थापनको लागि ट्राफिक प्रहरीसँग समन्वय भएको महाधिवेशन आयोजक समितिका सदस्य भट्टराईले जानकारी दिए ।
त्यसबाहेक सम्मेलन केन्द्रमै पनि सवारी पार्किङको समस्या हुने अवस्था छ । मुख्य सम्मेलन केन्द्रभित्र पार्किङका लागि थोरै ठाउँ रहेको र बाहिरको खुल्ला ठाउँमा पनि हिलो माटो थुपारिएको कारण पार्किङमा समस्या हुने देखिएको छ ।
तीन दस्तावेजमा छलफल
एमालेको विधान महाधिवेशनमा मुख्य गरी तीनवटा दस्तावेजमा छलफल गरी निष्कर्षमा पुग्ने एमाले सचिव एवं प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले पेश गर्ने राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको सांगठनिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले पेश गर्ने विधान संशोधन प्रस्तावमा छलफल गरेर एमालेको विधान महाधिवेशन सम्पन्न हुनेछ ।
विधान महाधिवेशनले एमालेको संगठनलाई थप मजबुद बनाउने र आगामी पाँच वर्षको लागि स्पष्ट दिशानिर्देश गर्ने अपेक्षा गरिएको ज्ञवालीले बताए ।