७ मंसिर २०८१, शुक्रबार

लुम्बिनी घुम्न सस्तो प्याकेज

एक रात र दुई दिनका लागि जोडीको ३ हजार १ सय ९९ रुपैयाँ मात्रै

  • न्युज मानसराेवर

लुम्बिनी — कोरोनाले थलिएको पर्यटन व्यवसाय उकास्न लुम्बिनीका होटल व्यवसायीले सस्तो भ्रमण प्याकेज घोषणा गरेका छन् । एक जनाका लागि २ हजार १ सय ९९ र दुई जनाका लागि ३ हजार १ सय ९९ रुपैयाँमा एक रात र दुई दिनको प्याकेज घोषणा गरिएको छ । असोज १५ गतेदेखि सस्तो प्याकेज लागू हुनेछ ।

पहिलो दिन दिउँसो बसपार्कबाट होटलसम्म पिकअप गरिने र स्वागतपछि साँझ बुद्ध जीवनी झल्कने बुद्धग्राम रोबोटिक थिएटर देखाइनेछ । दोस्रो दिन मायादेवी मन्दिर दर्शन र पूजाआजा र त्यसपछि बेबी बुद्ध, शान्ति द्वीप र आमा क्याफे भ्रमण गराइनेछ । दिउँसो विभिन्न मुलुकका विहार, गुम्बा र चैत्य भ्रमण र न्यु लुम्बिनी भिलेजको भ्रमण समावेश छ । यसपछि होटल आएर पर्यटकलाई बिदाइ गर्ने कार्यक्रम प्याकेजमा समावेश गरिएको छ ।

प्याकेजमा दुई बेड भएको ननएसी कोठा, साँझ/बिहान खाना, बिहान ब्रेकफास्ट, धुप बत्ती, गाइड, बुद्धग्राम रोबोटिक थिएटर टिकट, लन्च, मायादेवी मन्दिर प्रवेश टिकट समावेश छ । ‘सस्तोमा धेरै भेराइटी दिन खोजेका छौं,’ लुम्बिनी होटल संघका अध्यक्ष मिथुनमान श्रेष्ठले भने, ‘यसले लुम्बिनी भ्रमण गर्न चाहनेले लाभ लिन सक्छन् ।’

लुम्बिनीबाट पश्चिम नवलपरासीको रामग्राम, रूपन्देहीको देवदह र भारतका बुद्धस्थल कुशीनगर तथा श्रावस्तीसम्म घुम्न चाहने पर्यटकका लागि पनि छुट्टै प्याकेज बनाइएको उनले बताए । अहिलेलाई चैत १५ गतेसम्म प्याकेज घोषणा गरिएको छ । पछि यसलाई सुधार गरेर अझ राम्रो बनाएर अघि बढ्ने पर्यटन उद्यमी हेमबहादुर विष्टले बताए । कोरोना भाइरस संक्रमणको पहिलो लहरमा लुम्बिनीका होटल करिब ८ महिना र दोस्रो लहरमा साढे ३ महिना बन्द थिए ।

  • १४ आश्विन २०७८, बिहीबार प्रकाशित

  • Nabintech