२२ जेष्ठ २०८२, बुधबार

संक्रमणको जोखिम बन्दै बाँके
  • न्युज मानसराेवर

बाँके।  बाँकेमा कोरोना संक्रमणको जोखिम बढ्दो देखिएको छ । नेपालगन्जस्थित भेरी अस्पतालमा बुधबारसम्म २६ जना संक्रमित उपचारका लागि भर्ना भएका छन् । तीमध्ये बाँकेका १२ र बाहिरी जिल्लाका १३ जना हुन् । संक्रमित तीन जनाको स्वास्थ्य अवस्था गम्भीर रहेकाले भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ ।

कोरोनाको पहिलो र दोस्रो लहरमा हटस्पट बनेको बाँकेमा परीक्षण गरिएकामा संक्रमण दर अहिले पनि २० देखि २२ प्रतिशत छ । यो प्रतिशत विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले तोकेको मापदण्डभन्दा निकै बढी हो । डब्लूएचओले ५ प्रतिशतभन्दा तल संक्रमण दर घट्यो भने सहर बजार खोल्न सकिने मापदण्ड तोकेको छ । यद्यपि, संक्रमण घटेको भन्दै जिल्लामा निषेधाज्ञा हटाइएको छ ।

सरकारले भारतसँग जोडिएको नेपालगन्जलगायतका प्रमुख नाका खोल्ने निर्णय पनि गरिसकेको छ । ‘संक्रमणले स्वास्थ्य अवस्था गम्भीर बनेपछि मात्रै अस्पतालमा उपचारका लागि आउने गरेका छन्,’ भेरी अस्पताल नेपालगन्जका वरिष्ठ फिजिसियन तथा कोरोना स्रोत व्यक्ति डा.संकेत रिसालले भने, ‘अस्पतालमा संक्रमित बिरामीको संख्या घटेको देखिए पनि संक्रमण दर २०/२२ प्रतिशत छ । यो खतरामुक्त अवस्था होइन ।’ हाल भेरी अस्पतालमा मात्रै कोरोना संक्रमितको उपचार गर्ने गरिएको छ ।

जिल्लामा अस्पतालमा भन्दा घरमै बसेर उपचार गर्ने संक्रमितको संख्या बढी छ । नेपालगन्जका १४, कोहलपुरका १४, बैजनाथका २, खजुराका २१, जानकीका १ र राप्ती सोनारीका २ जना संक्रमितले होम आइसोलेसनमा रहेको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र बाँकेले जनाएको छ । मंगलबार मात्रै बाँकेका ९८ जनाको पीसीआर परीक्षण गर्दा १४ जनामा संक्रमण देखिएको थियो । ‘बाँकेमा कोरोना संक्रमण घट्यो भनिएको छ । तर, परीक्षण गर्दा संक्रमित थपिएकै छन्,’ डा. रिसालले भने, ‘परीक्षणको दायरा बढाउने हो भने अझै थपिन सक्छन् । त्यसैले बाँके कोरोना संक्रमणको जोखिममै छ ।’

अझै पनि जिल्लामा संक्रमणको खतरा टरेको छैन । भेरी अस्पतालले तेस्रो भेरियन्ट आउन सक्ने भन्दै तयारी थालेको छ । डा. रिसालले पछिल्लो समय जिल्लामा लापरबाही निकै बढेको बताए ।

  • १४ आश्विन २०७८, बिहीबार प्रकाशित

  • Nabintech