२३ बैशाख २०८२, मंगलवार

वडा, नगर र जिल्ला अधिवेशनको संकेत– कांग्रेसको आसन्न महाधिवेशनमा कसको पल्ला भारी ?
  • न्युज मानसराेवर

काठमाडौँ। १४ औं महाधिवेशनको चटारोमा रहेको नेपाली कांग्रेसमा जिल्ला सभापति चयन हुन थालेका छन् ।

पहिलो चरणमा सबै हिमाली जिल्लामा अधिवेशन गरेर सभापति चयन गर्ने भनिए पनि १० बाहेक अरू जिल्लामा अधिवेशन सम्पन्न हुन सकेको छैन । अन्य ३ वटा जिल्लामा अधिवेशन प्रक्रियामै छ ।

अधिवेशन भएका नौ जिल्लाको नतिजा हेर्दा कांग्रेसमा संस्थापनइतर समूह अगाडि देखिएको छ ।

संस्थापन इतरमा समूहबाट संखुवासभामा दीपक खड्का, रूकुम पूर्वमा केशरमान रोक्का, कालिकोटमा अम्मबहादुर शाही र मुस्ताङमा रोमी गौचन थकाली कांग्रेसको जिल्ला सभापति चयन भएका छन् ।

पछिल्लोपटक गोरखामा नन्दप्रसाद न्यौपाने सभापति चुनिएका छन् । उनी पनि संस्थापनइतर समूहबाट छन् । न्यौपाने विशेष गरी नेता गगन थापा निकट रहेको कांग्रेस स्रोतले बतायो ।

त्यसैगरी, देउवा पक्षबाट ताप्लेजुङमा गजेन्द्र तुम्याहाङ, मनाङमा शंकर गुरूङ र हुम्लामा मोहनविक्रम सिंह सभापति निर्वाचित भएका छन् ।

रामेछापमा पूर्णबहादुर तामाङ (कान्छाराम) सभापति चयन भएका छन् । कान्छाराम सभापतिको उम्मेदवारीमा दाबी गरेका विमलेन्द्र निधि निकट मानिन्छन् ।

यी ९ जिल्लामा सभापति निर्वाचन हुनेबाहेक कांग्रेसले ६४ जिल्लामा नगर र पालिका तहको अधिवेशन सम्पन्न गरेको छ ।

१३ जिल्लामा अझै क्रियाशील सदस्यता विवादको विषय समाधान हुन नसक्दा स्थानीय तहको अधिवेशनको मिति टुंगो लागेको छैन ।

स्थानीय तहमा वडा, पालिका र नगर कमिटीमा भएको अधिवेशनले कांग्रेसको क्षेत्रीय र जिल्ला प्रतिनिधिको हिसाबकिताब आंकलन गर्न सकिन्छ ।

कांग्रेसको विधानमा वडा अधिवेशनबाट क्रियाशील सदस्यले मतदान गरी प्रदेशसभा क्षेत्रको अधिवेशनका लागि प्रतिनिधि छान्ने व्यवस्था गरिएको छ ।

त्यसैगरी प्रदेशसभा क्षेत्रबाट छानिएका प्रतिनिधिले प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशनमा भाग लिनेछन् । प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा हुने अधिवेशनले नै केन्द्रीय महाधिवेशनका लागि प्रतिनिधि छान्ने छ, र तिनै प्रतिनिधिले सभापति लगायत केन्द्रीय कार्यसमितिका उम्मेदवारलाई मतदान गरी नेतृत्व चयन गर्ने विधि कांग्रेसको विधानले अवलम्बन गरेको छ ।

कांग्रेसको प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशन सकिएर महाधिवेशन प्रतिनिधि छनौट हुँदा कांग्रेसमा कसको पक्षमा कति प्रतिनिधि आए भन्ने नजिकको आंकलन गर्न सकिने कांग्रेसका नेताहरू बताउँछन् ।

कांग्रेसमा अहिले मुख्य गरी दुई समूह देखिएको छ । सभापति शेरबहादुर देउवाले नेतृत्व गरेको संस्थापन पक्ष र अर्को देउवालाई जसरी पनि सभापतिबाट बिदा गर्ने योजनामा रहेको संस्थापनइतर पक्ष । यो समूहमा अहिले वरिष्ठ नेता रामचन्द्र पौडेलले नेतृत्व गरेका छन् । तर संस्थापन इतर समूहमा पनि सभापतिका आकांक्षी धेरै भएकाले आगामी महाधिवेशनमा को उम्मेदवार बन्ने भन्ने अझै टुंगो लागेको छैन ।

संस्थापन समूहमा सभापति देउवाकै पक्षमा रहेका नेताहरू विमलेन्द्र निधि र गोपालमान श्रेष्ठले पनि सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । निधिले त औपचारिक रूपमा कार्यालय नै स्थापना गरेर प्रचार अभियान थालेका छन् ।

सभापतिका आकांक्षी जति धेरै भए पनि त्यो पहिलो चरणको निर्वाचनसम्म मात्रै हो । कांग्रेसको विधानले सभापतिमा निर्वाचित हुनको लागि कुल प्रतिनिधिमध्ये ५० प्रतिशत मत ल्याउनुपर्ने व्यवस्था गरेको छ ।

पहिलो निर्वाचनमै कुनै उम्मेदवारले ५० प्रतिशत मत ल्याउने सम्भावना ज्यादै न्यून रहेको कांग्रेस संस्थापन पक्षका एक नेताले बताए ।

दोस्रो चरणमा जाँदा दुई जना मात्रै उम्मेदवार हुन्छन् । त्यसबेला जसले बढी मत ल्याउँछ, सोही उम्मेदवार नै कांग्रेसको सभापतिमा निर्वाचित हुन्छ ।

स्थानीय तहमा कसको पल्लाभारी ? 

स्थानीय तहमा भएको अधिवेशनले कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधि कुन पक्षको कति आउलान् भन्ने प्रारम्भिक आंकलन गर्न सकिन्छ ।

कांग्रेसमा संस्थापन इतर समूहका एक नेता भन्छन्, ‘स्थानीय तहको अधिवेशनले महाधिवेशन प्रतिनिधिको नतिजाको संकेत गर्छ र प्रारम्भिक संकेत एकदमै सकरात्मक छ ।’

स्थानीय तहको अधिवेशनको नतिजा हेर्दा संस्थापन इतर समूहको ५५ देखि ६० प्रतिशत नतिजा रहेको उनले बताए । ‘हाम्रो पक्षमा ५५ देखि ६० प्रतिशत संस्थापन इतरको नतिजा आएको देखिन्छ । यसलाई अपव्याख्या गर्ने सम्भावना पनि छ । सर्वसम्मतिमा आएकालाई कुनैपनि पक्षले हाम्रो भन्ने दाबी गर्न सक्छ । त्यसो हुँदा पनि दुवै पक्षको बराबरीजस्तो देखिन्छ’, ती केन्द्रीय सदस्यले भने ।

संस्थापनइतर समूहमा नै रहेका केन्द्रीय सदस्य गुरूराज घिमिरे पनि सर्वसम्मत भएको ठाउँको मत कता जान्छ, अहिले नै भन्न सकिने अवस्था नरहेको बताउँछन् ।

‘कतिपय जिल्लामा सर्वसम्मत भएको छ । सर्वसम्मत भएको ठाउँको मत कता जान्छ भन्न सकिने अवस्था छैन । तर जहाँ निर्वाचन भएको छ, त्यहाँको नतिजा उत्साहप्रद नै छ’, घिमिरेले भने । निर्वाचन क्षेत्रको अधिवेशन भएपछि पार्टी नेतृत्वको पक्षमा आउने मतको मोटामोटी नतिजा आउने घिमिरेले बताए ।

पछिल्लोपटक काठमाडौं महानगरपालिकामा पनि संस्थापन इतर पक्षले जीत हात पारेको छ । विशेषगरी प्रकाशमान सिंह र गगन थापाले रुचाएका नीलकाजी शाक्य निर्वाचित भएका छन् ।

यता सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षको दाबी भने आफ्नै छ ।

स्थानीय तहमा संस्थापन पक्षको नतिजा पनि उत्साहप्रद रहेको उक्त समूहका नेताहरू बताउँछन् । संस्थापन पक्षका एक नेताले स्थानीय तहदेखि नेतृत्व चयनसम्मको मत हिसाब यसरी लगाए–

जनताबाट भोट गर्ने हो भने अहिले शेरबहादुर देउवालाई १० देखि १५ प्रतिशत मत आउँछ । साधारण सदस्यले भोट हाल्ने हो भने २० प्रतिशत मत आउँछ । क्रियाशील सदस्यले भोट हाल्ने हो भने ३० प्रतिशत आउँछ । प्रतिनिधिले भोट हाल्ने हो भने ३५ प्रतिशत आउँछ । तर, महाधिवेशन प्रतिनिधिले भोट हाल्दा अहिले पनि ५० प्रतिशत पुग्ने सहज अवस्था देखिन्छ । 

स्थानीय तहको अधिवेशनमा अहिले ४८ प्रतिशत भोट देउवाको पक्षमा रहेको तथ्यांक आफूहरूले संकलन गरेको ती नेताले बताए ।

हुन त देउवा पक्षमा रहेका प्रभावशाली नेताहरूकै जिल्लामा उनको पक्षमा नतिजा आएन ।प्रदेश–२ को सुनसरी जिल्लाबाट विजयकुमार गच्छदार, ज्ञानेन्द्र बहादुर कार्की, मीन विश्वकर्मा लगायतका नेता छन्।  सुनसरीमा १२ वटा स्थानीय तहमध्ये कुनैमा पनि देउवा पक्षको नेतृत्व नआएको उनकै पक्षका एक केन्द्रीय सदस्यले बताए ।

देउवाको नजिक रहेर काम गरेका र केन्द्रमा प्रभावशाली भनिएका नेताकै जिल्लामा देउवाको पक्षमा नतिजा नआउनु सुखद् संयोग भने नरहेको उनले स्वीकारे ।

तराईका आठ जिल्लाबाट करीब ८ सय जना महाधिवेशन प्रतिनिधि आउँछन् । पहाडमा त्यति नै प्रतिनिधि आउन ३२ जिल्ला हुनुपर्ने उनको भनाइ छ । त्यसो हुँदा तराइमा जिल्लाबाट आउने प्रतिनिधिले पनि कांग्रेसको सभापति निर्वाचनमा निर्णायक भूमिका निर्वाह गर्छन् ।

शेरबहादुर देउवानजिक रहेर काम गरेर र महामन्त्रीको उम्मेदवारी पनि घोषणा गरेका विश्वप्रकाश शर्माको जिल्ला झापाको स्थानीय तहको अधिवेशन पनि उनीहरूको पक्षमा रहेन । त्यहाँको स्थानीय तहमा धेरैजसो नेता कृष्णप्रसाद सिटौला पक्षकाले जितेका छन् ।

‘देउवाको पक्षमा रहेका नेताहरू केन्द्रमा ठूलो कुरा गर्ने तर स्थानीय तहमा शून्य हुने अवस्था देखियो । बाहिर राम्रो प्रचार हुने, तर जिल्लामा कमजोर हुने अवस्था देखियो’, कांग्रेस संस्थापन पक्षकै नेता रामहरि खतिवडाले भने ।

कसरी चुनिन्छ महाधिवेशन प्रतिनिधि ?

कांग्रेसको विधानअनुसार क्रियाशील सदस्य संख्या नै पार्टी नेतृत्व चयनमा निर्णायक हुन्छन् । सोही कारण आफ्नो पक्षको धेरै क्रियाशील सदस्य बनाउन लबिङ हुने कारणले कांग्रेसमा क्रियाशील सदस्यता विवाद देखिएको थियो ।

कांग्रेसका क्रियाशील सदस्य वडा अधिवेशनमा भेला हुन्छन् । वडा अधिवेशनबाट क्रियाशील सदस्यले मतदान गरी प्रदेशसभा क्षेत्रको अधिवेशनका लागि प्रतिनिधि छान्ने व्यवस्था पार्टीको विधानमा छ ।

क्रियाशील सदस्यहरू मध्येबाट नै उम्मेदवार भएर क्षेत्रीय प्रतिनिधि चयन हुन्छन् । यसमा समावेशी प्रणालीलाई अवलम्बन गर्नुपर्ने व्यवस्था छ । वडा सभापति प्रदेश सभा निर्वाचन क्षेत्रीय अधिवेशनका लागि पदेन प्रतिनिधि हुने व्यवस्था छ ।

प्रदेश सभा क्षेत्रबाट छानिएका प्रतिनिधिले प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशनमा भाग लिन्छन् । प्रदेश सभा क्षेत्रबाट प्रतिनिधि छनोट गर्दा खुलाबाट १० जनामध्ये ३ जना महिला अनिवार्य राखिएको छ । ६ जना समानुपातिक आधारमा छनोट हुने व्यवस्था रहेको छ । प्रदेश सभा निर्वाचन क्षेत्रको सभापति पदेन प्रतिनिधि हुने व्यवस्था समेत छ । यसरी प्रदेश सभा निर्वाचन क्षेत्रबाट १७ जनाले प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनमा भाग लिन पाउँछन् ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा हुने अधिवेशनले नै केन्द्रीय महाधिवेशनका लागि प्रतिनिधि छान्छ र तिनै प्रतिनिधिले सभापति लगायत केन्द्रीय कार्यसमितिका उम्मेदवारका लागि मतदान गर्छन् ।

प्रत्येक प्रतिनिधि सभा क्षेत्र बराबर केन्द्रीय महाधिवेशनमा २५ जना प्रतिनिधि छानिने व्यवस्था रहेको छ । तीमध्ये १४ जना खुला प्रतिस्पर्धीबाट आउने छन्, जसमध्ये ४ जना महिला अनिवार्य गरिएको छ ।

१० जना समानुपातिक प्रतिनिधित्वको आधारमा छनोट हुनेछन् । प्रतिनिधि सभा निर्वाचन क्षेत्रको सभापति केन्द्रीय महाधिवेशनका लागि पदेन सदस्य रहने व्यवस्था कांग्रेसको विधानमा छ ।

केन्द्रीय महाधिवेशन प्रतिनिधि बनेको व्यक्ति प्रादेशिक अधिवेशनको पनि प्रतिनिधि हुने प्रावधान रहेको छ । प्रादेशिक अधिवेशनका लागि चयन भएको प्रतिनिधि केन्द्रीय महाधिवेशन प्रतिनिधिको पदमा उम्मेदवार बने प्रदेश प्रतिनिधि स्वतः रद्द हुने व्यवस्था समेत छ ।

केन्द्रीय महाधिवेशन प्रतिनिधि हुनका लागि क्रियाशील सदस्यता प्राप्त गरेको ४ वर्ष हुनुपर्ने प्रावधान छ । प्रदेश अधिवेशनको प्रतिनिधि हुन क्रियाशील सदस्यता प्राप्त गर्नुपर्ने व्यवस्था रहेको छ ।

प्रदेशभित्रका जिल्ला सभापति प्रादेशिक अधिवेशनमा स्वतः प्रतिनिधि बन्न पाउँछन् ।

भातृ तथा शुभेच्छुक संस्थाका प्रमुखहरू प्रादेशिक अधिवेशनमा प्रतिनिधि बने पनि उम्मेदवार हुन नपाउने व्यवस्था कांग्रेसको विधानमा छ ।

विदेशस्थित जनसम्पर्क समितिबाट क्रियाशील सदस्यताको संख्याका आधारमा महाधिवेशन प्रतिनिधि निर्वाचित हुने व्यवस्था छ ।

१०० क्रियाशील सदस्यता रहेको देशबाट जनसम्पर्क समितिको अध्यक्ष मात्रै महाधिवेशन प्रतिनिधि हुने व्यवस्था
छ । ५०० भन्दा बढी क्रियाशील सदस्यता भएका देशबाट अध्यक्षसहित ७ जनाले प्रतिनिधित्व गर्ने पाउछन् ।

२ हजारभन्दा बढी क्रियाशील सदस्य भएको देशबाट १४ जनाले केन्द्रीय महाधिवेशनमा भाग लिन पाउँछन् । क्रियाशील सदस्यता २ हजारभन्दा बढी भएको अवस्थामा १४ जनाभन्दा बढी प्रतिनिधि छान्न पाइदैन ।

क्रियाशील सदस्यबाट पार्टी सभापतिले बढीमा ४० जनालाई केन्द्रीय महाधिवेशन प्रतिनिधि मनोनित गर्न पाउने प्रावधान समेत छ । मनोनित संख्या समावेशी आधारमा हुनुपर्ने व्यवस्था छ ।

भातृ तथा शुभेच्छुक संस्थाले आफ्नो संगठनबाट पनि प्रतिनिधि चयन गर्ने व्यवस्था छ ।

महिला संघ, तरुण दल, नेविसंघ, प्रजातान्त्रिक सेनानी संघ, किसान संघ, दलित संघ, नेपाल तामाङ संघ, नेपाल मगर संघबाट अध्यक्षसहित ५ जनाले महाधिवेशनमा प्रतिनिधि बन्न पाउँछन् ।

नेपाल शिक्षक संघबाट ७ जना प्रतिनिधि हुने व्यवस्था छ । प्रेस युनियनबाट ५ जना र ट्रेड युनियन कांग्रेसबाट ११ जना प्रतिनिधि हुने व्यवस्था रहेको छ ।

पेशागत शुभेच्छुक संस्था प्रत्येकबाट ५ जना प्रतिनिधि केन्द्रीय महाधिवेशनमा सहभागी हुन पाउँछन् । आदिवासी जनजातिसँग सम्बन्धित संगठनले ११/११ जना प्रतिनिधि पठाउन पाउँछन् ।

यसरी कांग्रेसको आगामी महाधिवेशन प्रतिनिधि करीब पाँच हजार हाराहारीमा पुग्ने अनुमान कांग्रेस केन्द्रीय कार्यालयको अनुमान छ ।  लोकान्तर

  • १९ आश्विन २०७८, मंगलवार प्रकाशित

  • Nabintech