७ बैशाख २०८२, आईतवार

सांसदलाई ‘ब्याड न्युज’– खारेज भयो दशैं भत्ता
  • न्युज मानसराेवर

काठमाडौँ। चौतर्फी आलोचना र सरोकारवालाको खबरदारीपछि संघीय संसद् सचिवालयले यसपटक देखि सांसदलाई दशैं भत्ता बाँड्ने प्रचलन अन्त्य गरेको छ ।

संसद् सचिवालयले मंगलवार दशैं भत्ताविनै असोज महिनाको तलब सांसदको खातामा पठाएको छ ।

संघीय संसद् सचिवालयका प्रमुख लेखा नियन्त्रक वसन्त सिग्देलले यसपटक सांसदलाई दशैं भत्ता नपठाइएको लोकान्तरलाई जानकारी दिए । ‘माननीय सदस्य र पीएको असोज महिनाको तलब आज खातामा पठाएका छौं, तर दशैं भत्ता राखिएको छैन,’ सिग्देलले लोकान्तरसँग भने । मन्त्रिपरिषद्बाट निर्णय पनि नभएको र अर्थ मन्त्रालयबाट बजेट पनि नआएकाले असोज महिनाको तलब मात्र सांसदको खातामा पठाएको उनले जानकारी दिए ।

संसद् सचिवालयले असोज महिनाको तलबबापत सांसदलाई समग्रमा २ करोड ९८ लाख ४६ हजार र सांसदका पीएलाई १ करोड ४३ लाख ७४ हजार निकासा गरेको छ । बैठक भत्ता र यातायात खर्चबाहेक सांसदहरूले मासिक ६६ हजार ७० रुपैयाँ पाउँछन् ।

मन्त्रिपरिषद्को निर्णयका आधारमा पछिल्लो दुई वर्ष मन्त्री बनेका बाहेक प्रतिनिधि सभा र राष्ट्रिय सभाका ३१० सांसद र तीनका पीएलाई दशैं भत्ता वितरण गरिएको थियो । २०७६ भदौ ३१ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयका आधारमा सांसदलाई पहिलोपटक दशैं भत्ता बाँडिएको थियो । केन्द्रको सिको गर्दै प्रदेश सभाले पनि सांसदहरूलाई दशैं भत्ता बाँड्न शुरू गरेको थियो ।

मन्त्रिपरिषद्को ‘गोप्य’ पत्रका आधारमा सांसदलाई २०७६ सालदेखि दशैं भत्ता बाँडिएको समाचार लोकान्तरले पहिलोपटक २०७६ असोज १३ गते खुलासा गरेको थियो । लोकान्तर

  • १९ आश्विन २०७८, मंगलवार प्रकाशित

  • Nabintech