४ असार २०८२, बुधबार

एकीकृत समाजवादी र जसपाले पाए चार–चार मन्त्रालय, २१ गते शपथ
  • न्युज मानसराेवर

काठमाडौँ। सत्ता गठबन्धनका सहयात्री दलहरु नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले चार–चार मन्त्रालय पाउने गरी मन्त्रालयको भागबण्डा टुंगो लागेको छ ।जनता समाजवादी पार्टीमा महासचिव बेदुराम भुसालका अनुसार उक्त पार्टीले संस्कृति पर्यटन तथा नागरिक उड्डयन, सहरी विकास, कानून तथा संसदीय मामिला र श्रम तथा रोजगार मन्त्रालय पाउने भएको छ । भुसालका अनुसार एकीकृत समाजवादीले एक राज्यमन्त्री पनि पाउने भएको छ । तर, कुन मन्त्रालयको राज्यमन्त्री भन्ने टुंगो लाग्न बाँकी रहेको छ ।

एकीकृत समाजवादीबाट मन्त्री बन्ने व्यक्तिको नाम लगभग टुंगो लागिसकेको छ । सांसद विरोध खतिवडाको नेतृत्वमा एकीकृत समाजवादी सरकारमा सहभागी हुनेछ भने रामकुमारी झाँक्री, मेटमणी चौधरी र प्रेम आले मन्त्री बन्ने लगभग पक्का रहेको एकीकृत समाजवादीका नेताहरुले बताएका छन् ।

त्यसैगरी, जनता समाजवादी पार्टीले यातायात तथा भौतिक पूर्वाधार, वन तथा वातावरण, कृषि र सामान्य प्रशासन मन्त्रालय पाउने भएको उक्त पार्टीका नेता तथा सांसद महेन्द्र राय यादवले बताए ।
उक्त पार्टीले बुधबार बैठक बसेर मन्त्री हुने व्यक्तिको नाम टुंगो लगाउने यादवले बताए ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष चार नेताको बैठकले मोटामोटी रुपमा मन्त्रालयको बाँडफाँड गरेको हो । प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव बसेर मन्त्रालयको बाँडफाड गरेका थिए ।

  • १९ आश्विन २०७८, मंगलवार प्रकाशित

  • Nabintech