बाँके। बाँकेको डुडुवा गाउँपालिका–१ कधैपुरवाका रामदिन बोधीले दुई वर्षीया छोरी सजनाका नाममा बैंक खाता खोलिदिएका छन् । अहिले उनको खातामा गाउँपालिकाले १० हजार रुपैयाँ जम्मा गरिदिएको छ । अबको २० वर्षपछि १ लाखको प्रिमियम उनले बुझ्नेछन् । सजनाजस्तै डुडुवा गाउँपालिकाका धेरै नानीहरू अब बैंक खातावाला भएका छन् । गाउँपालिकाले कन्या मुद्धति खाता योजना ल्याएसँगै यहाँका बालिका बैंक खातावाल भएका हुन् ।
निजी कारखानाका कामदार सजनाका पिता रामदिनले सुरुमा आफैंले केही रकम जम्मा गरेर खाता खोलिदिएका हुन् । त्यसपछि गाउँपालिकाले १० हजार थपिदियो । रामदिनकी सानी छोरी भर्खर दुई महिनाकी भइन् । उनको पनि एक वर्ष पुगेपछि खाता खोलिदिने योजना उनले सुनाए । ‘पहिलो पटक ५ हजार रुपैयाँ जम्मा गरेको थिएँ । अब त खाता खोल्नेले त्यो रकम पनि जम्मा गर्नुपर्दैन । पालिका आफैंले रकम जम्मा गरेर खाता खोलिदिन सुरु गरेको छ,’ उनले भने, ‘पछि छोरीहरूको पढाइ अघि बढाउन यो रकम सहयोगी हुने निश्चित छ ।’ खाता खुलेसँगै छोरीको पढाइ अनि विवाहबारे चिन्ता टरेको उनले सुनाए ।
डुडुवा रामनगर उचुवाकी सुनिता गोडियालाई पनि कान्छी छोरीको बैंक खाता खोलिएपछि मन ढुक्क भएको छ । तीन छोरीमध्ये कान्छी लक्ष्मीको मात्र बैंकमा खाता छ । अरू छोरीको पालामा गाउँपालिकामा कन्या मुद्दती खाता योजना आएकै थिएन । लक्ष्मी बल्ल तीन वर्षकी हुँदै छन् । ‘हामी मजदुरी गर्नेले पैसा बुझाउन कहाँ सक्थ्यौं ?,’ गोडियाले भनिन्, ‘अहिले पालिकाले बैंक खाता खोलेर पैसा जम्मा गरिदिँदा धेरै खुसी लागेको छ ।’ स्थानीय सरकारले ल्याएको कन्या मुद्दती खाता योजनाले छोरीको सुरक्षा र शिक्षा दुवैमा सहयोग पुग्ने डुडुवाका धेरै महिलालाई विश्वास छ । गाउँपालिकाले विपन्नका छोरीको पढाइलाई सहयोग पुग्ने गरी रकम जम्मा गर्ने बानी बसाइदिएको डुडुवा–१, खडैचाकी रमारानी धोबीले बताइन् ।
डुडुवामा १ सय ७२ छोरीको खाता खोलिसकिएको छ । उनीहरू सबै दुई वर्षमुनिका हुन् । अभिभावकको रोहबरमा स्थानीय सरकारले सबै छोरीको खाता खोलिदिने र नगद पनि जम्मा गरिदिने व्यवस्था गरेको छ । ‘कन्या मुद्दती खाता योजना छोरीहरूको शिक्षा र सुरक्षालाई ध्यान दिई ल्याएका हौं,’ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले भने, ‘खासमा छोरीहरूको साक्षरता दर बढाउने र बालविवाह न्यूनीकरण गर्ने उद्देश्य हो । त्यसका साथै अभिभावकको क्षति कम गर्न ५ लाखको दुर्घटना बिमा पनि गराएका छौं ।’
२०७७ साउनपछि जन्मेका सबै छोरीको बैंक खाता खोलिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले बताए । डुडुवा गाउँपालिका शिक्षा अनि चेतनाको दृष्टिले पिछडिएको क्षेत्र मानिन्छ । छोरीलाई पढाउन त्यति चासो छैन । अधिकांश बालिका घरको सानोतिनो काम र गोठालामा बिताउँछन् । छोरीको पढाइलाई निरन्तता दिने र उमेर नपुगी विवाह गर्ने चलन हटाउन पनि यो कार्यक्रम लागू गरिएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए ।
‘छोरीहरूको पढाइ पूरा होस् र उमेर नपुगी विवाह नहोस् भन्ने उद्देश्यले यसो गरिएको हो,’ उनले भने, ‘छोरीहरूले हरेक किसिमबाट असुरक्षित महसुस गर्नुपर्ने वातावरण अन्त्य गराउनु हाम्रो उद्देश्य हो ।’ डुडुवाका ६ वटा वडाभित्रका सबै बालिकाका नाममा कन्या मुद्दती खाता योजना लागू गरिएको उनले बताए । इकान्तिपुर