१३ मंसिर २०८१, बिहीबार

त्यो दशैं, अनि यो दशैं !
  • गोपी मैनाली

दशैंं बाल्यकालमै रमाइलो । दशैं मात्र कहाँ हो र, सबै चाडबाडहरू बाल्यकालमै रमाइला ।

बाल्यकालमा दशैं रमाइलो हुनुका धेरै करण थिए । सधैँभरि काममा खट्नुपर्ने आमा दशैंमा हामीलाई वरिपरि राखेर मीठामीठा खाना बनाउनुहुन्थ्यो । सधैँभरि बाहिर जाने अनि डुल्ने बुवा फूलपातिदेखि घरमै बस्नुहुन्थ्यो । भाउजूहरू आँपका हाँगामा बाबियोले पोयो बुनेको पिङ्ग हालिदिनुहुन्थ्यो । गाउँभरिका साथीहरू पिङ्गमा झुमिन्थे । हामीहरू पालो पर्खेर पिङ्गमा मच्चिन्थ्यौं ।

स्कूल जान नपर्ने भएपछि दशैंंमा अर्को रमाइलो थपिन्थ्यो । स्कूल बिदा भएपछि गुरुले दिएको पाठ बुझाउनु पर्दैनथ्यो । गृहकार्य बुझाउन नसक्दा, गणित नमिल्दा सिर्कनो खान पर्दैनथ्यो । रोशी खोलामा डुबुल्किएर, चौरमा दौडिएर, मन्दिरका सत्तल र रुखहरूमा खेलेर समय बिताउन पाइन्थ्यो ।

बिदामा भाइ–बैनीसँग खेल्ने, झगडा गर्ने, आमासँग दुःख पोख्ने, बिलौना गर्ने समय दशैंले ल्याउँथ्यो ।

दशैंसँगै जागिरमा भएका दाजुहरू घर आउनुहुन्थ्यो । दाजुहरू आएपछि दशैं झनै आउँथ्यो । दाजुहरू भेट्न पनि दशैं नै आउनुपथ्र्यो । उहाँहरूले बास्ना आउने नयाँ लुगा ल्याएपछि दशैंको महक नै छुट्टै ।

फुल्नफुल्न खोजेका, अलिअलि फुलेका फूलहरू, रुखमा निख्रन लागेका अम्बा, बाला लागेर बास्ना आउन थालेका धान, वर्षाभरिको धमिल्याइपछि संग्लिएको रोशी खोला, अर्थुङ्गे फुलेका धारे र अम्बटेका पाखा सबै नै दशैंका रमाइला थिए । न गर्मी न जाडो, न पूरै हरियो न पूरै पाकेको प्रकृति ।

नेसनल पानासोनिक रेडियोले लगातार मालसिरी गाइरहन्थ्यो । फूलपाति पर्सेपछि दैनिक गर्नुपर्ने बलिपूजा, नैबेद्य, फूल अक्षता, पूजापाठ । हजूरबुबा दुर्गा शप्तसती कण्ठ पाठ गर्नुहुन्थ्यो । ती संस्कृतका श्लोक नबुझेर के भो र ? ध्वनिले नै मन ओजिलो बनाउँथ्यो । लाग्थ्यो, ती श्लोकहरू ज्ञानका सूत्र थिए ।

गाउँभरिका मानिसहरू गफ गर्न पनि हाम्रै घरमा जम्मा हुन्थे । पढाइका कुरा, जागिरका कुरा, राजनीतिका कुरा, शहरका कुरा सुन्न पाइने भएर पनि होला ।

रेडियोले समाचारमा अमेरिकाका रिचर्ड नेक्सन, हेनरी किसिन्जर अनि शोभियत सङ्घका लियोनिद ब्रेज्नेभ र आन्द्र्रा ग्रोमिकोको नाम पटक–पटक बारम्बार भट्ट्याइरहन्थ्यो । ती नामहरूले स्कूलको हाजिरी जवाफ जित्न सहयोग गर्थ्यो । कताकति त्यो शीतयुद्ध दशैंंमा रेडियोले भन्ने रक्तबीज र चण्डमुण्डसँग देवीदेवताको युद्धसँग जोडेर हेर्थें । बाल मन त हो नि ! कहिले के कहिले के कल्पना गर्ने ।

रेडियोले झलकमान गन्धर्बको ‘आमाले सोध्लिन् नि…’ गीत बजाइरहन्थ्यो । मुग्लान गएका सन्तान सम्झेर होला, मानिसहरू भक्कानिन्थे । गीतको दुःखीभावका कारणले होला, आमा पनि रुनुहुन्थ्यो । ‘उकाली ज्यानको .. ज्यानको कान्छी मट्याङ् ट्याङ्’ बज्दा दशैं मजेरीभरि पोखिन्थ्यो । ठूलो दाजु ‘काली पारे दाइ कति राम्रो’ मन पराउनुहुन्थ्यो । सबैका आ–आफ्नै फर्माइस न भए । म भने गीतभन्दा पनि जमघट र मीठामीठा कुरा कान ठाडो पारेर सुन्थें ।

बाटुले, घलान टोल र थिङ्टोलबाट मालपुवा र मार्चमाने कुरा आउँथ्यो । देख्दै मुख रसाउने अम्बा ल्याउँथे । गाउँघरमा वल्लोघर पल्लोघर मीठामसीना कुराहरू बाँडेर खाने संस्कृति । आउनेलाई नखुवाई पठाउनुहुन्न भन्ने आमाको सोच थियो । आउनेहरू सेल र मासु चिउरा खाएर मात्र जान्थे ।

जमाना बदलियो । जमाना बदलियो भनौं कि आफैँ बदलिएको हो । मानिस बदलिएपछि न जमाना बदलिने हो । अब दशैंमा आफू रमाउने होइन, बच्चाहरूलाई रमाइलो बनाइदिनपर्ने जिम्मेवारी आयो । शहरीया भै टोपलियो । शहर भनेको त सबै कुरा किन्ने ठाउँ पो रहेछ । गाउँमा जस्तो अम्बा, दही, केरा कसले सित्तैमा दिन्छ र ? आउनेजतिलाई कसले ख्वाओस् । स्वागतको काम कतिञ्जेल हो चियाले गर्दैछ ।

घटस्थापनादेखि स्कूल बिदा, बच्चाहरू घरै छन् । तर कार्यालयको जिम्मेवारीले दशैं र बच्चाको फर्माइस भन्दा कार्यालयको कामलाई नै महत्त्व दिनुपर्ने । एक दिन त सुव्रतले सोधिहाल्यो, पापाको अफिस बिदा कहिलेबाट हुन्छ ? जिम्मेवारीले पनि चाडबाडलाई बेग्लै बनाउने । एकतिर कार्यालयको जिम्मेवारी, अर्कोतिर परिवारको जिम्मेवारी । धन्न बच्चाको कपडा रेडिमेड नै पाइन्छ । रोशीको जस्तो थानको कपडा किनेर सिलाउन परेको भए बच्चाको दशैं कहाँ आउँथ्यो ?

शुभम्, सुव्रत दुवै बाबुहरू चङ्गा उडाउन जान्दैनन्, तैपनि चङ्गाको हुटहुटी । लट्टाई र चङ्गा ल्याइदिनै पर्ने । पिङ्गलाई चङ्गाले, रमाइलो मेलाले, बास्ना आउने लुगालाई फेन्सी कपडाले विस्थापित गर्‍यो ।

बाबुहरू मालासिरी सुन्न होइन, नेशनल जियोग्राफी र कार्टून नेटवर्कमा आँखा टाँस्छन् । कमलालाई भ्याइनभ्याइ भान्साको काम छ । नहोस् पनि किन, उसलाई पनि दशैं आएको छ । हामी सबै घरै छौं । आमाले हामीहरूलाई मीठोमीठो ख्वाएजस्तै शुभम्, सुव्रत, अरु बच्चा र आउने पाहुनापातलाई मीठो मीठो बनाएर खुवाउने जिम्मेवारी ।

खुशी त सन्तुष्टि हो । काममा पनि सन्तुष्टि, व्यस्ततामा पनि सन्तुष्टि ! त्यसो नहुँदो हो त आमाहरू सँधै दुःखी हुने थिए । तर आमाहरू दुःखमा पनि खुशी हुन्छन् । सन्तानहरूलाई माया गर्न, मीठो खुवाउन पाउँदा आमाहरू खुशी हुन्छन् । कहाँकता छरिएका सन्तानहरूसँग रमाउन पाउँदा खुशी हुन्छन् । हो, दशैं आमाहरूका लागि खुशीको अवसर । आमा भनेकै खुशीको नाम हो, मानवको होस् कि अरु प्राणीको १

बच्चाहरू पनि ठूला भए । हामी दाजु–भाइ, दिदी–बहिनी आ-आफ्नै कर्ममा विभाजित भयौं । अब खुशी पनि विभाजित छ । मनका सम्बन्धहरू भूगोलमा विभाजित छन् । दशैंका केही दिन संगै मन खोलेर रहन पनि के–केले छेक्छ, कहिले भूगोलले छेक्छ, कहिले कोभिडले छेक्छ ।

शहरीया दशैंको रमाइलो औपचारिकतामा सीमित छ । किनमेल केन्द्रहरू बेस्सरी भीडभाडमा छन्, अन्यत्र सुनसान छ । रमाइलो होइन, सुनसान छ शहर । कोलाहलबीच पनि सुनसान छ । मन्दिरहरू जमघट जस्ता देखिए पनि पवित्रता छेकिएको छ । पूजाका थालीहरूभन्दा सेल्फी खिच्ने हातहरूको भीड छ । चङ्गा उड्ने आकाश खालि छ । घरका मजेरी, आँगन, कौशी र बार्दलीहरू पनि पर्वको रौनकमा छैनन् । सडकमा देखिनेहरू शुभकामना र खुशी साट्दैनन्, चटारोमा दौडिएका छन् ।

प्रविधिले पिङ्ग, मालसिरी, पूजापाठहरू लखेटिएका छन् । बच्चाहरू पनि ‘म्याथ’ मा बोल्न थाले । इष्टमित्रहरू पनि मोबाइलमा झुम्मिनै मस्त । बच्चाहरू पनि बाहिर गएपछि टीका पनि भाइबरमा सीमित छ । धन्न भूगोललाई सीमा र समयलाई प्रविधिले खुम्च्याएको छ ।

अब त फुर्सद पनि छ, तर त्यो रोशीखोला र कानपुरको दशैं छैन । दाजु–भाइ, छिमेकी र साथीहरूसँग रमाएको दशैं छैन, लट्टे पिङ्ग र बास्ना आउने लुगाले ल्याएको दशैं छैन । शुभम–सुव्रतलाई खेलाउँदै चङ्गा उडाएको दशैं छैन ।

समयसँगै स्वाद फेरिएको दशै,
औपचारिकतामा जबरजस्त रमाएको दशैं ।

  • २९ आश्विन २०७८, शुक्रबार प्रकाशित

  • Nabintech