नेपालको प्रमुख खाद्यान्न बाली धान स्याहार्ने बेलामा परेको वर्षाका कारण यस वर्ष नेपालका अधिकांश जिल्लामा धान बालीमा नोक्सान पुगेको छ । तराईका जिल्लामा कतिपय ठाउँमा काटेर खेतमा सुकाएको धान पानीले भिजेर उम्रिन थालेको छ भने नकाटेको धान पनि ढलेको छ । मनसुन सकिएपछि परेको वर्षाले पहाडी जिल्लामा पनि धान बालीमा क्षति पुगेको छ ।
कात्तिक महिनामा आएको बाढी पहिरोका कारण सयजना भन्दा बढीको ज्यान गइसकेको छ । बाढी पहिरोले सुदूरपश्चिम र पूर्वी नेपाललाई बढी प्रभावित बनाएको छ । बाढी पहिरो प्रभावित क्षेत्रको निरीक्षणका लागि प्रधानमन्त्री शेरबहादुर देउवा सुदूरपश्चिमका जिल्लाको भ्रमणमा निस्केका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले पनि बाढी पहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै राहतको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् ।
नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी)मा झण्डै १५ प्रतिशतको योगदान रहने धानबालीमा भएको नोक्सानीले देशको आर्थिक वृद्धिदरमा प्रत्यक्ष असर गर्ने देखिन्छ ।
धान बेचेर वर्षभरिको खर्च धान्ने, बालबच्चा पढाउने किसान यसबाट धेरै मर्कामा परेका छन् । भिजेका धानका बाला देखाउँदै किसानहरू खेतको आलीमा बसेर रोएका दृष्यले चाडबाडको समयलाई खल्लो बनाएको छ । आगामी वर्षको खाद्यान्न आपूर्तिदेखि धानको बिउ नै अभाव हुनेसम्मको अवस्था सिर्जना भएको छ ।
यस्ता प्राकृतिक प्रकोप रोक्न सकिन्न, तर क्षति कम गर्न सकिन्छ । यसपटक यति ठूलो पानी पर्छ भनेर सरकारी निकायले किसानलाई समयमै सूचित गरेको भए किसानहरूले ठूलो क्षति बेहोर्नुपर्ने थिएन । मौसम पूर्वानुमान महाशाखाले वर्षा हुँदैछ भनेर सचेत गराए पनि किसानले त्यो जानकारी पाएनन् । मौसम पूर्वानुमानबारे किसानलाई सुसूचित गराउने मामिलामा सरकारी संयन्त्र नराम्ररी चुकेका छन् ।
यो समयमा ठूलो पानी पर्छ भनेको भए किसानहरूले या पहिलै धान काटेर थन्क्याउँथे, अथवा धान काट्ने समय पछि सार्थे । समयमै जानकारी पाएको भए शायद खेतमा पानीले भिजेर धान उम्रिने अवस्था आउने थिएन ।
जल तथा मौसम विज्ञान विभागलाई केही व्यक्तिको आकर्षक जागिर खाने थलोमा सीमित नगरी जनतालाई मौसम पूर्वानुमानबारे जानकारी गराउने सशक्त र चुस्त संयन्त्र बनाउन जरुरी छ । जलवायु परिवर्तनको असर तथा विकासका नाममा भइरहेका पर्यावरण मासेर गरिएका विनाशका कारण पनि कात्तिक महिनामा आएको पानीले बाढी आउने र डुबान ल्याउने अवस्था सिर्जना भएको छ ।
भविष्यमा गर्नुपर्ने काम धेरै छन्, तत्कालका लागि सरकारले धानबालीमा क्षति बेहोरेका किसानका लागि राहत घोषणा गर्न जरुरी छ । किसानलाई राहात, क्षतिपूर्ति र आगामी वर्षका लागि बिउको सुनिश्चितता आजको आवश्यकता हो । सरकारबाट आश्वासन पाउने तर क्षतिपूर्ति नपाउने विगतको बिर्सनलायक अवस्था यसपटक नदोहोरियोस् ।