काठमाडौँ — नेकपा (एमाले)को १० औं राष्ट्रिय महाधिवेशन उद्घाटनपछि सिधै नेतृत्व छनोटको प्रक्रिया सुरु हुने भएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा भएको केन्द्रीय कमिटी बैठकले चितवनको नारायणी किनारामा महाधिवेशनको उद्घाटन गर्ने र पर्यटकीय नगरी सौराहामा निर्वाचन प्रक्रिया गर्ने निर्णय गरेको छ ।
उद्घाटनपछि सिधै निर्वाचन प्रक्रियामा लैजाने गरी केन्द्रीय कमिटीले निर्णय गरेको छ’, केन्द्रीय सदस्य ठाकुर गैरेले भने, ‘महाधिवेशनको नारायणकी किनारामा उद्घाटन र सौराहामा निर्वाचनको कार्यक्रम हुने छ ।’ बैठकले उद्घाटनमा अहिलेसम्मकै सबैभन्दा ठूलो आमसभा गर्ने निर्णय गरेको गैरेले बताए ।
यसअघि चितवनको कमिटीले नारायणी किनारामा महाधिवेशनको उद्घाटन र सौराहामा बन्द सत्र गर्न सिफारिस गरेको थियो । बैठकले महाधिवेशनको सहभागी हुने प्रतिनिधिको संख्या पनि निश्चित गरेको छ । बिहीबार भएको स्थायी कमिटीको बैठकले १५ सय ३६ जना प्रतिनिधि हुने गरी मापदण्ड तयार पारेको थियो तर शुक्रबारको बैठकमा केन्द्रीय सदस्यहरुले भूगोलबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिहरुको संख्या बढाउनु पर्ने माग गरेपछि संख्या बढाउन निर्णय गरेको हो । बैठकले नेतृत्व छनौटका लागि हुने महाधिवेशनका लागि १९ सय ९९ प्रतिनिधि बनाउने निर्णय गरेको छ ।
एमालेको नयाँ नेतृत्व चयनका लागि विद्युतीय मतदान मेसिनको प्रयोग गर्ने निर्णय केन्द्रीय कमिटी बैठकले गरेको छ ।