२१ बैशाख २०८२, आईतवार

तलबभत्ता र सुविधामा लोभ नगर्ने यी लोकप्रिय एमालेका जनप्रतिनिधि
  • न्युज मानसराेवर

बाँके \स्थानीय तहका जनप्रतिनिधि कतै काम गरेर, कतै काम नगरेर त कतै बोलेर चर्चा आउने गर्छन् । कतिपय जनप्रतिनिधि आर्थिक अनियमिततामा पनि जोडिन्छन् ।

मोरङ जिल्लाको विराटनगर महानगरपालिकाको ११ नम्बर वडाका वडाध्यक्ष तिर्थेन्द्र न्यौपाने भने उदाहरणीय बनेका छन् । उनको कार्यशैली र स्वभाव धेरै जनप्रतिनिधिका लागि प्रेरणाको स्रोत बनेको छ ।

विक्रम संवत् २०१७ सालमा संखुवासभाको चैनपुरमा जन्मेका न्यौपाने २०३५ सालमा एसएलसी पास गरेर विराटनगरमा बसाइ सरे । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसबाट उच्च शिक्षा हासिल गरेका न्यौपानेको संगत कांग्रेसका नेतासँग थियो ।

‘कांग्रेसका विद्यार्थी नेताहरूसँग लामो समय संगत गरे पनि म विद्यार्थी राजनीतिमा होमिएको थिएन,’ उनी भन्छन्, ‘अखिलका विद्यार्थी नेताहरूले घरमा नै आएर हाम्रो कमिटीमा बसौ भनेर कन्भिन्स गरेपछि संगठित भएर विद्यार्थी राजनीति शुरू गरेको थिएँ ।’

न्यौपानेले अगाडि भने, ‘मेरो घर भएको ठाउँ त्यतिबेला एकान्त थियो । कम्युनिस्टको राजनीति गर्ने ठाउँ पनि एकान्तमै चाहिँदो रहेछ । म संगठित भएपछि नेताहरूले मेरो घर प्रयोग गर्नुभयो । मेरो घरलाई अहिलेका राष्ट्रपति विद्यादेवी भण्डारीदेखि अशोक राईसम्मले प्रयोग गरे ।’

एमालेका संस्थापक नेता मदन भण्डारी, अशोक राई, विद्यादेवी भण्डारी लगायत नेताहरू विराटनगर आउँदा उनकै घरमा बस्ने गर्थे । ‘घर एकान्तमा भएकाले कसैले पत्ता लगाउन सक्दैन्थे, मदन र अशोक चाहिँ कहिलेकाहीँ आउनुहुन्थ्यो । विद्या भण्डारी धेरैपटक बस्नुभएको छ । मेरो उहाँसँग राम्रो चिनजान भए पनि म पदको फाइदा उठाउन भने गइनँ,’ उनले भने, ‘अहिलेसम्म पार्टीको कुनै जिम्मेवारीमा बसेको पनि छैन ।’

४ वर्षअघि भएको स्थानीय तहको चुनावमा एमालेले ११ नम्बर वडामा जित्छ भन्ने आकलन समेत नगरेको बेला वडा कांग्रेसको किल्लाका रूपमा चिनिन्थ्यो । ‘चुनावमा उठ्ने रहर थिएन, पार्टीका साथीहरू आएर तपाईं हुँदा केही भोट बढ्छ, नजिते पनि एमाले हो, चुनावमा सहभागी हुनुपर्छ भनेपछि चुनावी मैदानमा होमिएँ । नभन्दै मेरै पक्षमा रिजल्ट आयो,’ उनले भने ।

अनपेक्षित जीत भएपछि उनी चिन्तित भए । ‘२० वर्षसम्म कर्मचारीले चलाएको देश नयाँ जनप्रतिनिधि कसरी अगाडि बढ्ने भनेर चिन्ता भयो,’ उनले भने, ‘अरू जितेको खुशीयालीमा रमाउन थाले तर मलाई थप चिन्ता भयो ।’

जितिसकेपछि उनले हिम्मत जुटाए । जनताको माग र चाहनाअनुसार काम गर्ने निधो गर्दै उनी अगाडि बढे । २ वटा कोठाको घरमा वडाध्यक्ष न्यौपानेले झण्डै ३ वर्ष वडा कार्यालय चलाए ।

विराटनगर महानगरपालिकाको दोस्रो कार्यपालिका बैठकले वडाध्यक्षलाई कार्यालय सञ्चालनका लागि २ लाख रुपैयाँका दरले दिने निर्णय गर्‍यो । उनले पनि त्यो बैठकमा सहमति जनाएर हिँडेका थिए । वडा व्यवस्थापनमा लगिएको पैसा अध्यक्षहरूले फर्निचरका सामग्रीहरू किने । खरिद गर्दा कमिसन आउने भनेर केही वडा अध्यक्षहरूले भनेपछि पैसा नलिएको न्यौपानेले बताए ।

‘प्रमुख प्रशासकीय अधिकृतलाई मात्रै कतै हल्ला नगरिदिनुहोस्, म पैसा लग्दैन भने । भनौं भने सस्तो लोकप्रियता भन्छन् भनेर कसैलाई भनिनँ,’ उनले भने ।

केही समयपछि महानगरपालिकाले वडाध्यक्षहरूलाई मोटरसाइकल दिने निर्णय गर्‍यो । कार्यपालिकाको निर्णयमा उनी पनि सहभागी भए । सहभागी भए पनि उनले विराध जनाएनन् । ‘अरू साथीहरूलाई आवश्यकता होला भनेर मैले विराध जनाइनँ,’ उनी भन्छन्, ‘मेरा लागि भनेर मोटरसाइकल खरिद नगर्नुहोस् भनेर प्रमुख प्रशासकीय अधिकृतलाई भनें । पछि खरिद गरेर मेरो नाममा दुरुपयोग पो भयो कि भनेर खोजी पनि गरे ।’

वडाध्यक्ष न्यौपानेले अगाडि भने, ‘निर्वाचित भएर वडामा आएपछि जनप्रतिनिधि र कर्मचारीको पहिलो बैठक बस्यो । मैले शुरूमै भनिदिए – सरकारले तोकेकोभन्दा १ रुपैयाँ बढी कमाउँछु भन्ने कसैले नसोचौं, म पनि सोच्दिनँ ।’

वडाका कर्मचारीलाई सही प्रणालीमा ल्याउन ६ महिनासम्म निकै ठूलो मेहनत गर्नुपरेको उनी बताउँछन् । ‘मैले मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृतलाई नै राखेर मेरो वडामा यस्ता खालका कर्मचारी पठाइदिनुहोस् भनेर पनि भनें । आफैं पनि को कस्ता कर्मचारी छन् भनेर खोज्न लागिपरें, अहिले मैले भनेजस्तै कर्मचारी पाएको छु,’ उनले भने ।

वडामा हालसम्म एउटा काम पनि कोटेसनबाट नभएको उनले बताए । ‘वडामा हुने काम टेन्डर वा सिधै उपभोक्ता समितिबाट हुने गरेका छन्,’ उनले भने, ‘उपभोक्ता समितिबाट बनाउँदा पनि सबैलाई सहभागी गराएर आफ्नालाई नभई सहभागीले रोजेकालाई बनाएर काम गर्ने गरेको छु । आफ्नै पार्टीका साथीहरू रिसाउँछन्, हामीलाई पनि काम दिन पर्‍यो भन्छन्, मैले उहाँहरूलाई कार्यालयको नियम पूरा गरेर आउनुहोस्, मसँग भन्नु नै पर्दैन भनेको छु ।’

वडाध्यक्ष न्यौपानेको मनमा पोलिराख्ने एउटा विषय रहेछ । उनले सुनाए, ‘महानगरपालिकामा जनप्रतिनिधिको सेवासुविधा थोरै भयो भन्ने भएपछि कार्यपालिकाको निर्णयबाट सेवासुविधा बढाएका थियौं । एक जना सचेत नागरिकले त्यो अवैधानिक छ भनेर अदालतमा जाहेरी दिनुभएको थियो । अदालतले पनि कार्यान्वयन नगर्नू भनेर फैसला गर्‍यो । मैले प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतलाई भेटेर अब खाएको पैसा के गर्ने भनेर सोधे । उहाँहरूले अब नखाने, खाएको सक्किगयो भन्नुभयो । पछि महालेखाको प्रतिवेदनले त्यो तिर्नू भन्यो । कोहीसँग सल्लाह नै नगरी मेयर सा’पले बुझाइ हाल्नुभएछ । त्यो थाहा पाएपछि गएर मैले पनि बुझाएँ । त्यो मेरा लागि पीडाको विषय बनेको छ ।’

वडाध्यक्ष न्यौपानेले जनप्रतिनिधिबापत पाएको सेवासुविधा समेत घरमा खर्च गर्ने गरेका छैनन् । ‘मेरो सेवासुविधा मासिक २७ हजार हुन्छ तर त्यो मैले अहिलेसम्म पनि घरमा ल्याएर खर्च गरेको छैन । घर परिवारलाई पनि ल्याउदिनँ भनेको छु । वडा कार्यालयमा बस्दा तथा कतै भेटेर वडावासी जनताले म भोकै भए खाने कुरा छैन भनेमा १० किलो चामल मेरो सेवासुविधाबाट उपलब्ध गराउँछु । कोही बिरामी भए भने पनि त्यहीँबाट उपलब्ध गराउँछु । कार्यक्रम भनेर चन्दा माग्न आए पनि त्यहीँबाट दिने गरेको छु । प्रहरी कार्यालयमा रंग लगाउनका लागि ५० हजार रुपैयाँ समेत सेवासुविधाबाट दिएको छु,’ उनले भने, ‘वडाध्यक्षहरूलाई मासिक १५ लिटर पेट्रोल दिन्थ्यो, मैले त्यो तेल ल्याएर प्रहरीलाई १ वर्षसम्म दिएँ ।’ जतासुकैबाट तेल लिएको थाहा पाए पछि आफूले पेट्राल नै नलिएको उनले बताए ।

विदेश भ्रमणमा जाँदा पाइने भत्ता समेत वडाध्यक्ष न्यौपानेले लिएनन् । ‘एउटा एनजीओले कार्यक्रममा विदेशतिर लग्यो । कार्यपालिकाबाट निर्णय गरेर गएँ । त्यसरी जाँदा कार्यालयबाट टीएडीए पनि लिन मिल्दो रहेछ, पछि आउँदा मात्रै थाहा पाएँ । भ्रमण भत्ताबापत १ लाख रुपैयाँ हुँदो रहेछ । कर्मचारी साथीहरूले लैजाँदा हुन्छ भन्दै हुनुहुन्थो, मलाई खाने–बस्ने आयोजकले नै गरेपछि मैले त्यो लिइनँ ।’

उनी वडाभित्रको काममा जानुपर्दा साइकलमा जाने गर्छन् । शारीरिक रूपमा फाइदा हुने भएपछि बिहान वडाभित्रैका काममा साइकलको प्रयोग गर्ने गरेको उनले बताए । कार्यालय र जनताको काम सकिएपछि सिधै घरमा आउने गरेको उनले बताए ।

‘साँझमा साथीभाइसँग बसेर रमझम गरौं भन्ने हुँदैन, मेरो व्यक्तिगत रूपमा खर्च पनि धेरै हुँदैन । खर्च धेरै नभएपछि लोभ पनि गर्नु पर्दैन,’ उनले भने । यतिबेला वडा कार्यालयको भवन समेत बनिसकेको उनले बताए ।

पारिवारिक अक्षय कोष 

न्यौपाने परिवारले अक्षयकोषको स्थापना गरेका छन् । अहिले उनीहरूले स्थापना गरेको अक्षयकोषमा १३ लाख रुपैयाँ पुगेको छ । त्यो अक्षयकोषबाट जनपथ माध्यमिक विद्यालय विराटनगर, रातमाटे आधारभूत विद्यालय संखुवासभा, दीक्षा आधारभूत विद्यालय सुनसरी, सुनसरीकै एक मन्दिरलाई सहयोग गर्ने गरिएको छ ।

बिरामीलाई १०–३० हजार रुपैयाँसम्म दिने तथा खर्च अभावले पढ्न नपाउने परिवारलाई पनि सहयोग गर्ने गरेको वडाध्यक्ष न्यौपानेले जानकारी दिए ।

  • १३ कार्तिक २०७८, शनिबार प्रकाशित

  • Nabintech