नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पछिल्ला अभिव्यक्तिमा एक किसिमको वितृष्णा र छटपटाहट सुनिन थालेको छ । माओवादी केन्द्रले आयोजना गरेको कार्यक्रम होस् वा अन्य सार्वजनिक समारोह जहासुँकै प्रचण्ड निराशावादी अभिव्यक्ति दिन
थालेका छन् ।
विभिन्न सन्दर्भमा प्रचण्डले आफू एक्लिने डर भएको, चुनाव लड्न पैसा नभएको, पार्टी विघटन गर्दा पनि फरक नपर्ने जस्ता उत्साहहीन अभिव्यक्ति दिन थालेका छन् । पार्टी संगठन सुदृढीकरणमा ध्यान दिन छाडेर उनी विभिन्न पार्टीसँग एकताको प्रस्ताव गर्दै हिँडेका छन् ।
राष्ट्रिय राजनीतिमा माओवादी केन्द्र संघीय सरकारमा महत्त्वपूर्ण हिस्सासहित सहभागी छ । लुम्बिनी र सुदुरपश्चिम प्रदेशमा माओवादी केन्द्रको नेतृत्वमा सरकार छ । तर, प्रचण्डको अभिव्यक्तिमा पार्टीको भविष्यको चिन्ता झल्किने गरेको छ । उनको अभिव्यक्ति नजिकिएको निर्वाचनका कारण पिरोलिएको र आत्तिएको जस्तो देखिन्छ ।
गत भदौ २७ मा वामपन्थी लेखक परशुराम तामाङको पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रचण्डले केही वर्षपछि आफू पनि एक्लिने हो कि भन्ने डर लाग्ने गरेको बताएका थिए ।
उनले भनेका थिए, ‘माओले लास्टमा मलाई श्रीमतीको पनि विश्वास छैन भन्नुभयो । ४ जनाको पनि समूह नहिँड न भनेकै हो माओले । कहिलेकाहीँ १–२ वर्षपछि म पनि एक्लो पो हुने हो कि र माओले भनेजस्तो एक्लो छु, भन्नुपर्ने हो कि ? त्यस्तो चित्र दिमागमा आउँछ ।’
त्यो अभिव्यक्ति दिएको केही दिनपछि असोज ४ मा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रममा माओवादी अध्यक्षले आफूहरूलाई ‘खाओवादी’ भन्न थालेको बताउँदै माओवादीहरूलाई व्यवहार हेरेर अन्य पार्टीसँग छुट्याउन गाह्रो पर्न थालेको बताएका थिए ।
एमाले र माओवादी उस्तै नभएको तर, जनताले फरक छुट्याउन अप्ठ्यारो पर्ने अवस्थामा रहेको उनले बताएका थिए । प्रचण्डले भनेका थिए, ‘यही स्थिति रह्यो भने त यो पार्टी नरहे पनि के हुन्छ ? जनतालाई जालझेल, ठगठाग गरेर पार्टी बनाउनु भन्दा त पार्टी नहुनु राम्रो हुन्छ ।’
प्रचण्डको निराशायुक्त अभिव्यक्तिको श्रृङ्खला यतिमा रोकिएन । असोज १४ मा अनेरास्ववियू (क्रान्तिकारी)को सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले निर्वाचन प्रणालीप्रति असन्तुष्टि राखेर चुनाव लड्न पैसा नभएको बताएका थिए ।
अनेरास्ववियुको सम्मेलनमा प्रचण्डले भनेका थिए, ‘पूँजीपतिहरू मात्रै चुनाव लड्न सक्ने जनताका प्रतिनिधि चुनाव लड्न नसक्ने यो प्रणाली बदल्नुपर्छ । लाखौं जनतालाई सडकमा ल्याएर भए पनि यो निर्वाचन प्रणाली खारेज गराएर पूर्ण समानुपातिक प्रणालीको व्यवस्था गर्नुपर्छ ।’
त्यतिमात्रै होइन, चुनावमा हुने खर्च सम्झेर सबैको हालत खराब भएको उनले बताएका थिए । ‘हामी सबैको हालत खराब भइसक्यो । अध्यक्षको त झन् सातै जाने भइसक्यो । सबैले अध्यक्षबाट पैसा माग्ने हुन्, अध्यक्षलाई दिने चाहिँ हरायो । हेडक्वार्टरमा लानुपर्छ भन्ने छैन, माग्नुपर्छ भन्ने छ,’ प्रचण्डले भनेका थिए ।
चुनावमा हुने खर्चको विवरण देखाउँदै उनले भने, ‘अब त गाउँपालिकामा चुनाव लड्नका लागि पनि ४०–५० लाख चाहिने अवस्था भइसक्यो । प्रदेशमा लड्न त २–४ करोड चाहिने, केन्द्रमा चुनाव लड्न ५–१० करोडभन्दा बढी चाहिने भएपछि हामी चुनाव लड्न सक्छौं ? लड्ने नै हो भने दलाल पूँजीपतिकोमा जाने र लौ न अलिकति सहयोग चाहियो भन्नुपर्यो । दलाल पूँजीपतिसँग मागेर २–४ पैसा बाँडेर पनि चुनाव जित्छौं त अब ?’
उनले त्यो भाषणमा चुनावी प्रसंग त उठाए नै त्यो भन्दा निराशावादी रूपमा संसद् विघटन र नेकपा विभाजनपछि झण्डै आत्महत्या गर्ने अवस्थामा पुगेको समेत भन्न भ्याए ।
माओवादी केन्द्रकै नेता कार्यकर्ता र सञ्चारमाध्यममा प्रचण्डले निराशावादी कुरा गर्न थालेको टिप्पणी भएपछि उनले प्रस्टीकरण दिँदै पार्टी बलियो बनाउनका लागि आफूले त्यस्तो बताएको भनेका थिए ।
गत साता चितवन पुगेका प्रचण्डले विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै आगामी संसदीय निर्वाचन आफ्नो अन्तिम हुन सक्ने चितवनबाटै अन्तिम निर्वाचन लड्ने बताएका थिए ।
त्यसपछि चितवनमा आयोजित कार्यक्रममा उनले भाषण गरे, ‘चार वर्षअघि मलाई प्रधानमन्त्री बनाउन देउवा आउनुभएको थियो । अहिले चार वर्षपछि मैले गठबन्धन बनाएर देउवालाई प्रधानमन्त्री बनाएँ । यसमा चितवनका कांग्रेस खुशी हुनुपर्ने हो, मैलै धन्यवाद पाउनुपर्ने हो । तर, चितवनका कांग्रेस त प्रचण्ड र रेणुलाई लखेट्न खोजिरहेका छन् ।’
चितवन कांग्रेसले आगामी निर्वाचनमा कुनै हालतमा माओवादी केन्द्रसँग गठबन्धन नगर्ने बताएको छ । त्यसैको जवाफमा दाहालले चितवनबाट कांग्रेसले आफूहरूलाई लखेट्न खोजेको बताएका थिए ।
पछिल्लो समय प्रचण्डले आगामी निर्वाचनमा माओवादी केन्द्र एक्लै प्रतिस्पर्धा गर्ने कुरै गर्दैनन् । उनका भाषणहरूमा संघीय सरकारमा सत्तारूढ गठबन्धनलाई चुनावसम्म कायम राख्ने र निर्वाचनमा पनि गठबन्धनमै रहेर सहभागी हुने बताउने गरेका छन् ।
सत्तारूढ पाँच दलीय गठबन्धनलाई लामो समयसम्म टिकाउनका लागि प्रचण्डले यस्ता कुरा गरेका हुन् भन्ने तर्क त हुनसक्छ, तर माओवादी केन्द्रको कमजोर संगठनलाई इंगित गर्छ ।
सशस्त्र क्रान्तिको नेतृत्व गरेर आएका प्रचण्डको केही वर्ष अघिसम्म फराकिलो राजनीतिक आयाम थियो । राजनीतिमा प्रचण्डले नभनी पात पनि हल्लिँदैन भन्ने कथ्य स्थापित थियो । प्रभावशाली राजनीतिक ओझ थियो । त्यो ओझ स्खलित हुँदै गएको प्रचण्ड आफैँले महशुस गर्न थालेको उनका अभिव्यक्तिबाट प्रस्ट हुन्छ ।
प्रचण्डले दशकौंदेखि पार्टी हाइ–कमाण्डको नेतृत्व गर्दै आएका छन् । तर, उनले कहिल्यै भरपर्दो दोस्रो तहको निर्माणमा ध्यान दिएका छैनन् । उनीसँगै सर्वश्व माया मारेर सशस्त्र संघर्षमा होमिएका उनका अति निकट सहयोद्धा उनीसँग टाढिएका छन् । डा. बाबुराम भट्टराई, मोहन वैद्य, नेत्रविक्रम चन्दले प्रचण्डसँग छुट्टिएर फरक–फरक पार्टी गठन गरेका छन् ।
त्यसैगरी, रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साहजस्ता नेता जो प्रचण्डको दायाँबायाँ रहेर साथ दिएका थिए, उनीहरू अहिले माओवादी केन्द्र छाडेर एमालेमा समाहित भएका छन् ।
सत्ता राजनीतिमा आएपछि प्रचण्ड केही विचौलिया र पारिवारिक घेरामा सीमित भए, समग्र पार्टीको मियो बन्न सकेनन् । सोही कारण उनी क्रमशः एक्लिँदै गए । पछिल्लो समयमा उनले त्यसको महशुस गरेकैले माओजस्तै एक्लिने अवस्थामा पुगेका अभिव्यक्ति दिएका हुन सक्छन् ।
संगठन सुदृढीकरण छाडेर गठबन्धन र एकताको कुरा
निकट विगतका प्रचण्डका अभिव्यक्तिले यस्तो बताउँछ– निर्वाचनबाट राजनीतिक भविष्य नफर्कने निष्कर्षमा प्रचण्ड छन् । कमजोर पार्टी संगठन र महंगो निर्वाचन प्रणालीका कारण चुनाव जितेर फेरि सरकारमा आउने कल्पनामा बादल लागेको उनले देखेका छन् ।
केही महिनाअघि प्रचण्डले स्थायी कमिटी बैठकमा ३१ लाख पार्टी सदस्य बनाउने महत्त्वाकांक्षी योजना ल्याएका थिए । संगठन सुदृढीकरण गर्ने र पुसमा राष्ट्रिय सम्मेलन गर्ने गरी वडादेखि केन्द्रसम्मको भेला गर्ने कार्यतालिका माओवादी केन्द्रले तय गरेको छ ।
अहिले प्रचण्डको ध्यान पार्टीका गतिविधिमा केन्द्रित हुनुपर्ने हो तर, उनी चुनावी गठबन्धन र पार्टी एकताको विषयका वकालत गर्दै देश घुमिरहेका छन् ।
पार्टीका आन्तरिक बैठक र भेलामा त उनले आगामी निर्वाचनमा माओवादी पहिलो पार्टी हुने दाबी गर्ने गरेका छन् । तर, त्यसका लागि संगठन बलियो हुनुपर्यो । जनतामा एजेण्डा स्थापित हुनुपर्यो । त्यसतर्फ भने प्रचण्डको ध्यान छैन ।
बरू सत्ता गठबन्धनलाई चुनावसम्म जारी राख्ने र सकेदेखि केही राजनीतिक दलसँग एकता गरेर चुनावमा जाने योजनामा उनी देखिन्छन् ।
त्यसैले त उनी कहिले मोहन वैद्य र विप्लव नेतृत्वको पार्टीलाई माओवादी केन्द्रमा ल्याउन लागेको अभिव्यक्ति दिन्छन् त कहिले जनता समाजवादी पार्टीसँग एकताको प्रस्ताव गर्छन् ।
गत शनिबार सर्लाही पुगेर प्रचण्डले जनता समाजवादी पाटीसँग एकताको प्रस्ताव गरेका छन् । उनले भनेका थिए, ‘ क्षेत्रीय पार्टीबाट मधेशी जनताको पनि मुक्ति हुन्न । पहाडिया जनताको पनि मुक्ति हुन्न । महासागर बनाऔं । गहिरिएर हेरौं । अलग–अलग पार्टी बनाउनै पर्दैन ।’
जसपाका नेता उपेन्द्र र महिन्द्र राय यादवले आफूलाई राम्रोसँग चिन्ने भन्दै प्रचण्डले पार्टी एकता गरे चाहिने सम्मान र अधिकार दिने भनेर फकाउने प्रयास गरेका थिए ।
उनले भनेका थिए, ‘सबैलाई हार्दिकतापूर्वक भन्छु, गठबन्धन त हामीले गरेकै छौं । अब एउटै पार्टी बनाऔं । सवाल सिद्धियो । तपाईंहरूलाई चाहिने सम्मान, चाहिने अधिकार दिन हामी कन्जुस्याइँ गर्ने छैनौं, तपाईंहरू ढिला नगर्नुस् । हामी सबै पार्टी एकता गरौं ।’
राजनीतिक र चुनावी हार छोप्ने रणनीति
प्रचण्डका पछिल्ला अभिव्यक्ति आगामी निर्वाचनमा हुने हार र राजनीतिक पराजय ढाक्नका लागि अहिलेदेखि अपनाएको उपायको रूपमा राजनीतिक विश्लेषक श्याम श्रेष्ठ अर्थ्याउँछन् ।
चुनाव नजित्ने निश्चित भएपछि त्यसबेलाको हारलाई ढाक्न प्रचण्डले अहिल्यैबाट योजना बनाउन थालेका उनले बताए ।
‘पैसाकै कारण चुनाव लड्नै नसक्ने पार्टी पनि होइन । माओवादी केन्द्र त धनी पार्टी हो । चुनाव हारेपछि पार्टी सानो भयो त्यसकारण हारियो भन्न मिलेन । त्यसैलाई ढाक्न उनी अहिलेदेखि नै कहिले चुनाव लड्न पैसा छैन भन्छन्, कहिले विभिन्न पार्टीलाई एकताको प्रस्ताव गर्छन्’, श्रेष्ठले भने ।
प्रचण्डले कुनै पार्टीसँग एकता गरेर थोरै भए पनि राजनीतिक वर्चश्व राख्न सकिन्छ भनेर एकताको प्रस्ताव गर्ने गरेको विश्लेषकहरू बताउँछन् ।
‘प्रचण्ड आगामी चुनाव जितिँदैन भन्ने निष्कर्षमा छन् । चुनाव जित्ने आधार बनाउने उनको अनेकौं प्रयत्नमध्येको एक जसपासँग एकीकरणको प्रस्ताव हो’, श्रेष्ठले भने, ‘दुई पार्टीको न सिद्धान्त मिल्छ, न त विचार नै मिल्छ । तर, पनि उनले एकताको प्रस्ताव गरिहाले ।’
जुनसुकै पार्टीसँग एकताको प्रस्ताव गर्दै हिँड्नुको अर्थ पार्टीमा विचार सिद्धान्तको कुनै मतलब नभएको र सैद्धान्तिक, वैचारिक स्खलनको नमूनाको रूपमा बुझ्न सकिने उनले बताए ।
त्यतिमात्रै होइन, श्रेष्ठले प्रचण्डको अभिव्यक्तिमा मानसिक विषाद छाएको झल्को पाउने गरेको बताए । ‘उन (प्रचण्ड) मा मानसिक विषाद छाएको हो कि भन्ने लागेको छ । मनोवैज्ञानिक डिप्रेसनको कारण त्यस्तो अभिव्यक्ति आएको हुनसक्छ । उनले बोलेका कुराकै ठेगान हुन छाडेको छ’, श्रेष्ठले भने ।
अर्का राजनीतिक विश्लेषक पुरञ्जन आचार्य पनि प्रचण्डले संगठन भन्दा गठबन्धनको कुरा बढी गर्नु गठबन्धन कायम राखेर ‘कम्फर्ट जोन’मा रहने रणनीति भएको बताउँछन् ।
‘प्रचण्डले कहिल्यै आफ्नो खुट्टामा उभिने प्रयास गर्नुभएन । कहिले एकताको कुरा गर्नुहुन्छ, कहिले गठबन्धनको कुरा गर्नुहुन्छ । संगठन सुदृढीकरण गरेर स्थापित हुनसक्छु भन्ने आत्मविश्वास गुमाएको जस्तो देखिन्छ’, आचार्यले भने ।
प्रचण्ड ‘राजनीति रूवाबासी’ गरेर हिँड्नुभन्दा संगठन पुनर्जागृत गर्नमा केन्द्रित भएको भए माओवादी केन्द्र बलियो शक्तिको रूपमा रहिरहने आचार्यको विश्लेषण छ ।
‘उहाँ सरकार प्रबद्र्धन गर्न प्रशस्त ध्यान दिनुहुन्छ । त्यत्तिकै समय संगठन सुदृढीकरणमा दिएको भए माओवादी केन्द्र बलियो राजनीतिक केन्द्रको रूपमा स्थापित भइसक्थ्यो’, आचार्यले भने ।
दाहालले विभिन्न भाषणमा सत्तारूढ गठबन्धनको कुरा गर्दै आएको भए पनि आगामी चुनावमा माओवादी र कांग्रेसको गठबन्धन नहुने आचार्य बताउँछन् । ‘छोरीलाई मेयर बनाउन कांग्रेससँग गठबन्धन गर्नुभयो । आफ्नो चुनावी जीत सुनिश्चित गर्न एमालेसँग जानुभयो । उहाँको राजनीतिक स्थिरता छैन । आगामी चुनावमा कांग्रेसले माओवादीसँग तालमेल गर्ने सम्भावना देखिँदैन’, आचार्यले भने, ‘चुनाव आउन अझै डेढ वर्ष बाँकी छ, गठबन्धन र सरकार प्रबर्द्धनमा मात्रै नलागी कम्फर्ट जोनबाट निस्किएर संगठन बनाउन लाग्ने हो भने अवस्थामा सुधार आउन सक्छ ।’ लोकान्तरमा प्रकाशित