बाँके\ गत असोज १७ गते बिहान सल्यानको बाघचौर नगरपालिका– २ गौरीकी रामकली खत्रीको हत्या भयो । हत्यापछि प्रहरीले अनुसन्धान शुरू गर्यो, तर हत्यारा पत्ता लगाउन कठिन भयो ।
त्यसपछि प्रहरीले कर्णाली प्रदेश प्रहरी कार्यालय केनाइन शाखामा खटेको जर्मन सेफर्ड जातको ‘जम्बो’ नामको कुकुरलाई अपराध अनुसन्धानमा खटायो ।
प्रहरीले घटनास्थलमा हत्या गर्न प्रयोग गरिएको इँट्टाको टुक्रा र लोहोरो फेला पारेको थियो । त्यसैका आधारमा प्रहरीले हत्याराको खोजी गर्न ‘जम्बो’लाई खटायो ।
उसले घटनामा भएका प्रमाणहरूलाई सुँघेर अघि बढ्दै जाँदा घटनास्थलभन्दा २ किलोमिटर पर सडक खन्ने जेसीभीमा गएर रोकियो । उसको संकेत हत्यारा जेसीभीका चालक वा सहचालक भएको हुन सक्ने थियो । प्रहरीले त्यसैका आधारमा दुवै जनालाई पक्राउ गरेर अनुसन्धान गर्दा हत्यारा उनीहरू नै भएको प्रमाणित भयो ।
२०७७ मंसिर २७ गते कपिलवस्तुको शिवराज नगरपालिका–५ घर भएका मकबुल मियाको घरमा कोठा लिएर बस्ने ५९ वर्षीया सुशीला खड्काको हत्या भयो । प्रहरीले प्राविधिक र भौतिक अनुसन्धान गर्दा पनि हत्यारा पत्ता लगाउन कठिन भएको थियो । त्यसपछि अनुसन्धानमा ‘जम्बो’लाई खटाइयो ।
उसले घटनास्थलमा भएका सबुत प्रमाणहरूलाई सुँघेपछि मृतकको भतिजो पर्ने २३ वर्षको तोरणबहादुर खड्कालाई संकेत गर्यो ।
ती व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान गर्दा हत्यारा पुष्टि भयो ।
यी त प्रतिनिधि घटना मात्र हुन् । वर्षैभरी यस किसिमका सफल अनुसन्धान गरेर जम्बो वर्षकै उत्कृष्ट कुकुर ठहरिएको छ ।
अपराध अनुसन्धानमा अब्बल भएको र त्यसमा छिटो सहयोग गर्न सक्ने भएकाले उत्कृष्ट घोषित गरिएको नेपाल केनाइन महाशाखाकी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) देउती गुरुङले बताइन् ।
‘उसको काम गर्ने क्षमता अब्बल छ । उसले छिट्टो काम गर्नसक्छ र सुँघ्न सक्ने क्षमता पनि धेरै भएकाले पर्फमेन्स राम्रो दिनसक्छ,’ एसएसपी गुरुङले लोकान्तरसँग भनिन्, ‘यसपालि उसले हत्याका अपराधमा अपराध पत्ता लगाउनका सहयोग गरेकाले उत्कृष्ट भएको हो ।’
यसका साथै अघिल्लो तिहारपछि अहिलेसम्ममा प्रदेश १ मा कार्यरत ‘लैला’ नामको कुकुरले सुनसरी बराहक्षेत्र नगरपालिका–१ कटहरे बस्ने १२ वर्षीया मीना राईलाई बीयरको बोत्तल प्रयोग गरी भएको हत्याका अभियुक्त पत्ता लगाएको थियो ।
गण्डकी प्रदेशमा जर्मन सेफर्ड जातको ‘कुशल’ नामको कुकुरले लमजुङ सुन्दर बजार नगरपालिका– ४ चारघरेका ध्रुव भुजेलकी श्रीमती धनमाया भुजेलको हत्यारा पत्ता लगाउन सहयोग गरेको एसएसपी गुरुङले बताइन् ।
तुफान नामको कुकुरले पनि अनुसन्धानमा आफूलाई अब्बल सावित गरेको छ ।
‘यो वर्ष तुफान नामको कुकुरले पनि ४ वटा हत्याको सफल अनुसन्धान गरेको छ भने ‘जंगे’ नामको कुकुरले पनि हत्यारा पत्ता लगाउन सहयोग गरेको छ,’ एसएसपी गुरुङले लोकान्तरसँग भनिन् ।
उनका अनुसार प्रहरीसँग देशभरमा ४ वटा विधामा तालिम प्राप्त ८७ वटा कुकुर छन् । हातहतियार तथा विष्फोटक पदार्थ खोजी एवं पहिचानमा ३६ वटा, लागूऔषध खोजी एवं पहिचानमा २६ वटा, खोजी तथा उद्दारमा ८ वटा कुकुर परिचालित छन् । अन्य केही तालिमरत छन् ।
एसएसपी गुरुङका अनुसार प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायत, भीभीआईपीहरूको सुरक्षा, लागूऔषध नियन्त्रण, अपराध अनुसन्धानमा कुकुरहरू खटाउँदै आएको छ ।
प्रहरीले ल्याब्रोडोर, बेल्जियन सेफर्ड, जर्मन सेफर्ड, क्रोकर स्पानियल, डच सेफर्ड र गोल्डेन रिट्रिभर जातका कुकुरहरूलाई तालिम दिएर अनुसन्धानमा खटाउँदै आएको छ ।
सीमा वारपार हुने लागूऔषध नियन्त्रण गर्नका लागि पर्साको वीरगञ्ज नाकामा पनि यो वर्षदेखि कुकुरहरू खटाउन शुरू गरेको केनाइनकी प्रमुख गुरुङले लोकान्तरलाई बताइन् ।
भविष्यमा प्रहरीलाई कुकुरहरूको धेरै आवश्यकता पर्छ ।
विशेष गरेर उपत्यकाका नाकाहरू र विदेशी सीमा नाका नाकाहरूमा लागूऔषध, सुन तस्करी लगायतको अनुसन्धान गर्नका लागि कुकुर आवश्यकता पर्ने एसएसपी गुरुङले बताइन् ।
‘थानकोट लगायत नाकाहरूमा हुने अपराध र लागूऔषध ओसारपसार नियन्त्रण गर्नका लागि कुकुर आवश्यकता पर्छ, त्यसको लागि पनि तालिमप्राप्त कुकुरहरूको संख्या बढाउनु पर्ने देखिन्छ,’ एसएसपी गुरुङले लोकान्तरसँग भनिन्,’ भविष्यमा कुकुरको संख्या बढाउँदै लैजाने योजनामा छौं ।’
एउटा कुकुरलाई स्याहार गर्न एक प्रहरी, विदेशबाट ल्याइन्छ खाना
नेपाल प्रहरीमा भएका कुकुरलाई पाल्नका लागि प्रति कुकुर एक प्रहरी चौबीसै घण्टा खटिने गरेका छन् । त्यसका अलावा सफाइ कर्मचारी, डाक्टर तथा खाना खुवाउने व्यक्तिहरू पनि कुकुरका लागि खटिन्छन् ।
प्रहरीमा भएका कुकुरहरूलाई विदेशबाट खाना ल्याउनुपर्ने भएकाले कति खर्च लाग्छ भन्न नसकिने गुरुङले बताइन् ।
‘तालिमप्राप्त कुकुर अलि सेन्सेटिभ हुन्छन्, उनीहरूको स्वास्थ्यको पनि त्यत्तिकै ख्याल गर्नु पर्ने हुन्छ । हामीले विदेशबाट ल्याएको खाना मात्रै खुवाउने गरेका छौं,’ एसएसपी गुरुङले भनिन्, ‘उनीहरूलाई आरामको पनि आवश्यकता पर्छ, जसका लागि पालैपालो अनुसन्धानमा खटाएका हुन्छौं । उपत्यकामा त २४ घण्टा जस्तो अनुसन्धानमा खटिनुपर्ने हुन्छ ।’
तस्वीरहरू : विश्वास खनाल / लोकान्तर