नेपाली सेनाको भक्तपुरको भैरव बहान गुल्मको चौरमा कालो रङको कुकुर खेलिरहेको थियो। क्यामरा निकालेर फोटो खिच्न थालेपछि बस्यो, लाग्यो तस्बिरका लागि पोज दिँदै थियो। तर उक्त कुकुर आफ्नै सुरमा थियो। उक्त कुकरको नाम थियो माइकल।
१२ वर्ष लागेको माइकल अनुशासित भएर बसेको रहेछ। मिक्की र ताराको बच्चा माइकल हेर्दा आकर्षक छ। सेनाको भैरव बहान गुल्ममै माइकल जन्मिएको हो। २०६६ साल पुस १३ गते जन्मिएको माइकल क्यानाडियन लेब्राडोर ब्रिड जातको हो। माइकलको तौल ३५ किलो छ।
माइकल सामान्य कुकुरमात्रै होइन। देशको सुरक्षाका लागि खटिँदै आएको सिपाहीसरह हो। माइकल सेनाको मिसनमा लिबियासम्म पुगेको छ। संयुक्त राष्ट्रसंघले तोकेको आधारभूत योग्यतामा अब्बल सावित भएपछि २०७४ साल असोज १७ गते माइकल नेपालबाट लिबिया मिसनमा गएको थियो। त्यहाँ नेपाली सेनाको सुरक्षा सहयोगी बनेको थियो। लिबियामा माइकल खोज तथा उद्धारमा खटिएको थियो।
तीनवर्षे लिबिया मिसनमा सकाएर २०७७ साल कात्तिक १५ गते माइकल नेपाल फर्किएको थियो। माइकलले अहिले हतियार तथा विस्फोटक पदार्थ खोजी कार्यमा सहयोग खटिँदै आएको छ। माइकल काममा जति अब्बल छ त्यति नै अनुशासित पनि रहेको गुल्मले जनाएको छ। गुल्मका अनुसार लिबिया मिसनमा जाँदा माइकलले मासिक ४९७.८६ अमेरिकी डलर भत्ता पाएको थियो।
इमानदार रक्षकका रुपमा लिइने कुकुरको राम्रो उदाहारण बनेको छ माइकल। नेपाली सेनामा माइकलसँगै अन्य कुकुर पनि छन्। जसले देशका साथै विभिन्न मिसनमा गएर विभिन्न देशको सुरक्षाका लागि पनि योगदान दिँदै आएका छन्।
लाइबेरिया र लिबिया मिसनमा पुग्छन् नेपाली सेनाका कुकुर
नेपाली सेनाको भक्तपुरमा रहेको भैरव बहान गुल्मबाट लाइबेरिया र लिबिया मिसनका लागि कुकुरहरु लैजाने गरिएको छ। नेपाली सेना धेरै देशमा मिसनमा गए पनि कुकुरहरु भने ती दुई देशमा मात्रै लैजाने गरेको गुल्मका गुल्मपति सेनानी प्रशुराम थापाले जानकारी दिए।
लाइबेरियामा तैनाथ नेपाली शान्ति सैनिकले पहिलो पटक २०५९ सालमा सान र गामिनी नामका दुई कुकुर लगेको थियो। लाइबेरिया मिसनमा कुकुरको प्रयोगबाट हातहतियार र विस्फोटक पदार्थ पत्ता लगाउने कार्यमा उत्कृष्ट नतिजा हात पारेपछि नेपाली सेनाले लिबियामा पनि कुकुर परिचालन गर्न थालेको उनले बताए। लाइबेरिया र लिबियामा खटिएको शान्ति सैनिकको सहयोगका लागि नेपालबाट हालसम्म १३ कुकुर परिचालन भइसकेको छ।
लिबियामा शान्ति स्थापनार्थ अहिले रेक्स, किलो, बुजो र टोनी नामका कुकुर खटिएकको सेनानी थापाले जानकारी दिए। लाइबेरिया र लिबियामा हातहतियार र विस्फोटक पदार्थको खोजी सँगसँगै खोज तथा उद्धार र कार्य क्षेत्रको सुरक्षामा कुकुर परिचालन गरिने उनको भनाइ छ।
शान्ति सेनामा सुरक्षा गार्ड र गस्तीमा खटिने एक जोडी कुकुरले प्रतिमहिना ८९०.०४ अमेरिकी डलर र खोज तथा उद्धारमा खटिने एक जोडी कुकुरलाई प्रतिमहिना ९९५.७२ अमेरिकी डलर भत्ता दिइन्छ। सो रकम नेपाली सेनाको कल्याणकारी कोषमा जम्मा गरिँदै आएको छ।
भैरव बहान गुल्ममा रहेका कुकुरको स्याहारका लागि दैनिक प्रतिकुकुर ३७३ रुपैयाँ खर्च लाग्ने गरेको सेनानी थापाले बताए। ‘मिसनमा पठाउँदा स्वास्थ्यदेखि अन्य कार्यका लागि पनि खर्च हुन्छ’, उनले भने, ‘अहिलेसम्म मिसनमा गएको कुकुरले अब्बल काम गरिरहेको छ।’
कुकुरको उमेर र काम गर्ने क्षमताका आधारमा शान्ति मिसनमा पठाउने गरिएको थापाले जानकारी दिए।