६ बैशाख २०८२, शनिबार

मातृ मृत्यु मध्ये १३.१ प्रतिशत किशोरी
  • न्युज मानसराेवर

बाँके\ बालविवाह, किशोरी अवस्थामा आमा बन्दा किशोरीहरुले विभिन्न खालका समस्या मात्रै झेल्ने गरेका छैनन् ज्यानै सम्म जोखिममा पर्ने गरेको छ । नेपाल जनसांख्याकी तथा स्वास्थ्य सर्वेक्षण सन् २०१६ का अनुसार, बिवाहको औसत उमेर पुरुषको हकमा २१.७ बर्ष र महिलाको हकमा १७.९ बर्ष रहेको छ ।

तथ्यांक अनुसार, नेपालमा १७ प्रतिशत किशोरी आमा बनिसकेका हुन्छन् वा गर्भवति हुन्छन् । जसका कारण उनीहरुको ज्यानै जाने जोखिम रहने गरेको भेरी अस्पताल नेपालगन्जका नर्सिङ्ग प्रशासक दुर्गालक्ष्मी श्रेष्ठ बताउँछिन् । ‘सानै उमेरमा विवाह गर्ने, विवाह लगत्तै आमा बन्दा किशोरीहरुको ज्यान जोखिममा पर्ने गरेको हो’, उनले भनिन्, ‘कलिलो उमेरमा आमा बनेकाहरुमा पछिसम्म पनि स्वास्थ्य समस्या रहन सक्दछ ।’ नेपालमा मातृ मृत्युदर मध्ये १३.१ प्रतिशत मृत्यु २० बर्ष मूनिका किशोरीको हुने तथ्यांक रहेको छ ।

बी ग्रुपले प्लान नेपालको सहयोग र खजुरा गाउँपालिकाको सहकार्यमा मंगलबार बाँकेको खजुरा गाउँपालिकामा आयोजना गरेको मिडियाका लागि एसआरएचआर ओरिएन्टेसन कार्यक्रममा बोल्दै नर्सिङ्ग प्रशासक श्रेष्ठले गर्भनिरोधका साधनको प्रयोगबारे जानकार नहुँदा तथा त्यसप्रतिको भ्रमका कारण पनि किशोरी अवस्थामा आमा बन्ने गरेको पाइने बताइन् ।

पछिल्लो तथ्यांक अनुसार, गर्भनिरोधका साधनको उपयोग ४३ प्रतिशत भएपनि प्रयोगकर्ता किशोर/किशोरी प्रतिशत १४.५ मात्रै रहेको नर्सिङ्ग प्रशासक श्रेष्ठले बताइन् । ‘असुरक्षित गर्भपतनले पनि किशोरी जोखिममा छन्’, उनले भनिन्, ‘नेपालगन्ज १५ देखि १९ बर्षको किशोरी मध्ये ४०.९ प्रतिशतलाई मात्र सुरक्षित गर्भपतन सेवा दिने ठाउँको बारेमा जानकारी छ ।’

१२ हप्ता भन्दा बढीको गर्भ, सूचिकृत नभएको चिकित्सक वा स्वास्थ्यकर्मी र सुचिकृत नभएको स्वास्थ्य संस्थामा गर्भपतन गराउँदा पनि गर्भपतन असुरक्षित गर्भपतन भएको नर्सिङ अधिकृत श्रेष्ठले बताइन् । उनले भनिन्, ‘चिकित्सक नै होस् तर सुचिकृत भएको छैन भने असुरक्षित गर्भपतन मानिन्छ ।’ उनले गर्भपतन गराउने स्वास्थ्य संस्था पनि सुचिकृत हुनुपर्ने बताइन् ।

किशोर/किशोरीहरु कुलतमा फस्ने समस्या रहेको नर्सिङ्ग प्रशासक श्रेष्ठले बताइन् । ३०.४ प्रतिशत किशोर/किशोरीले मदिरा सेवन गरेको पाइएको छ । किशोर/किशोरी कुल जनसंख्याको ५ भागको १ भागले चुरोट र सुर्ति सेवनको कुलतमा फसेको देखिन्छ ।

नर्सिङ्ग प्रशासक श्रेष्ठले भविष्यका कर्णधार किशोर÷किशोरीको भविष्य राम्रो बनाउनका लागि यौन तथा प्रजनन अधिकारहरु बारे सचेतना आवश्यक रहेको बताइन् । ‘स्वास्थ्य संस्थाहरु पनि किशोर÷किशोरी मैत्री बनाइनुपर्दछ, स्वास्थ्यकर्मी पनि किशोर, किशोरी मैत्री हुनुपर्दछ’, उनले भनिन् ।

नर्सिङ्ग प्रशासक श्रेष्ठले तीन तहका सरकार, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, अभिभावक र समाजले किशोर, किशोरीलाई सही बाटो देखाउनु पर्ने धारणा राखेकी थिइन् ।

कार्यक्रममा बोल्दै नेतृत्व र निर्णय परियोजनाका संयोजक सुर्य नेपालीले परियोजना अन्तर्गत खजुरा गाउँपालिकाको ४ र ५ नं. वडामा १० देखि १५ र १६ देखि २४ उमेर समूहका किशोर, किशोरीहरुको चार वटा समूह बनाएर बालबालिकाका सवाल र अधिकार, यौन प्रजनन स्वास्थ्य लगायतका बारेमा निरन्तर अभिमूखिकरण गर्दै आएको जानकारी दिएका थिए ।

कार्यक्रमका सहभागीहरुले किशोर, किशोरीको भविष्य बिग्रन नदिन यौन तथा प्रजनन स्वास्थ्य अधिकारको प्रभावकारी कार्यान्वयनमा लाग्नु पर्ने बताएका थिए ।

  • १८ कार्तिक २०७८, बिहीबार प्रकाशित

  • Nabintech