२२ बैशाख २०८२, सोमबार

नेताहरूको चुनावी स्टन्ट : चुनावको मिति तय नहुँदै विपक्षीलाई खुइल्याउने प्रतिस्पर्धा !

चुनावी स्टन्ट

  • न्युज मानसराेवर

काठमाडौँ\ प्रतिनिधि सभाले आफ्नो कार्यकाल पूरा गर्ने हो भने यसको चुनाव आउन अझै एक वर्ष बाँकी छ । नेपालको संविधानअनुसार, संघीय र प्रादेशिक संसदको कार्यकाल पाँच वर्षको हुन्छ । त्यसअनुसार, २०७८ को मंसिर १० सम्म संसद्को कार्यकाल छ ।

२०७४ मंसिर १० र २१ मा गरेर दुई चरणमा प्रदेश र संघीय संसदको निर्वाचन भएको थियो । यसको अर्थ प्रदेश र संघीय संसदको चुनाव आउन अझै पूरापूर एक वर्षभन्दा बढी समय बाँकी छ ।

स्थानीय तहको निर्वाचन तीन चरणमा सम्पन्न भएको थियो । पहिलो चरणको निर्वाचन २०७४ बैशाख ३१ मा भएको थियो । संविधानको धारा २२५ मा गाउँसभा र नगरसभाको कार्यकाल निर्वाचन भएको मितिले पाँच वर्षको हुने र कार्यकाल समाप्त भएको ६ महिनाभित्र अर्को गाउँसभा र नगरसभाको निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्था गरेको छ ।

संविधानको यो व्यवस्था अनुसार, पहिलो चरणमा भएको निर्वाचनलाई आधार मान्दा अझै ६ महिना बाँकी छ । संविधानमा गरिएको व्यवस्थाअनुसार कार्यकाल सकिएको छ महिना अर्थात् २०७८ कात्तिक महिनाभित्र स्थानीय तहको निर्वाचन गर्दा हुन्छ । यसो भयो भने स्थानीय तहको चुनाव आउन अझै एक वर्ष लाग्न सक्छ ।

तर, राजनीतिक दलका शीर्ष नेताहरू भने चुनावी शैलीको भाषणमा प्रतिस्पर्धा गर्न थालेका छन् । उनीहरूको भाषण सुन्दा लाग्छ– तत्काल चुनावी प्रतिस्पर्धा हुँदैछ । तर मुलुकमा तत्कालै चुनाव हुने कुनै लक्षण देखिएको छैन ।

चुनावी शैलीको भाषणमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सबैभन्दा अगाडि छन् । संसद्मा सबैभन्दा ठूलो दल भएर पनि प्रतिपक्षको कुर्सीमा बस्न बाध्य भएका ओलीले सकेसम्म चाँडो निर्वाचन चाहेको बताइरहेका छन् ।

दुईपटक संसद् विघटन गरेका ओलीलाई अदालतले प्रधानमन्त्रीको कुर्सीबाट ओराल्दिएको थियो । साउन २९ मा बालुवाटारबाट बालकोट फर्किएसँगै ओलीले चुनावकेन्द्रित भाषणलाई प्राथमिकता दिएका छन् । उनले आगामी निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने र जस्केलाबाट नभई मूलबाटो बाटै सरकारको नेतृत्व गर्ने भनेर सत्तारूढ गठबन्धनलाई हाँक दिइरहेका छन् ।

तीनवटै तहमा ठूलो दल भए पनि एमालेको नेतृत्व राजनीतिक व्यवस्थापनमा चुक्दा एमाले अहिले प्रतिपक्ष भूमिकामा धकेलिएको छ । अहिले सबै प्रदेश र केन्द्रमा अल्पमतमा रहेका दलहरूले गठबन्धनले सरकारको नेतृत्व गरिरहेको छ । यसबाट पिरोलिएका ओलीले चाँडोभन्दा चाँडो निर्वाचन चाहेको सन्देश दिइरहेका छन् ।

उनका केही चुनावी शैलीका भाषण हेरौं: 

चितवनमा एमालेको दशौं महाधिवेशनस्थल अवलोकन गर्न गएका ओली चुनावी शैलीका गतिविधि गरेर काठमाडौं फर्किए । कात्तिक १५ मा भरतपुर महानगरको अधिवेशनलाई सम्बोधन गर्दै ओलीले आगामी निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने र सत्तारूढ गठबन्धनलाई चुनावमा धोवीले लुगा पछारेजस्तै पछार्ने अभिव्यक्ति दिए ।

उनले अहिले एमाले सरकार फेर्ने बाटोमा नलागेको उल्लेख गर्दै भनेका थिए, ‘हामी यो सरकार फेरबदलतिर छैनौँ। चुनावबाट कहिलेसम्म भाग्लान् ? स्थानीय तहको चुनाव त चैतमा घोषणा भयो । स्थानीय तहको चुनावमा यिनीहरूलाई धोबीले लुगा पछारेझैँ पछार्नुपर्छ ।’ तर, ओलीले दाबी गरेजस्तो चैतमा स्थानीय तहको चुनाव घोषणा भएको छैन । निर्वाचन आयोगले चैतमा चुनाव गर्न प्रधानमन्त्री समक्ष प्रस्ताव गरेको मात्रै हो ।

त्यसदिन ओलीले भनेका थिए, ‘अब हामी आफ्नै एकल बहुमत ल्याउँछौं । जोडजाड होइन, एकल बहुमत । ५० प्रतिशतभन्दा बढी मत समानुपातिक र ५० प्रतिशतभन्दा बढी सिट प्रत्यक्षमा ल्याउनुपर्छ । त्यसका लागि तयारीमा लाग्नुस् । हामी सफल हुन्छौं ।’

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन नेकपा ध्वस्त पार्न भूमिका खेलेको दाबी गर्दै ओलीले भनेका थिए, ‘जनताले एकपटक धोका पाए । म त धोका पाएर दुई–तीनपटक भोट माग्न आएँ । अब जनता लाटा छैनन् । झण्डै दुईतिहाइ पुगेको कम्युनिस्ट पार्टी ध्वस्त पार्ने को–को हुन् चिन्या छैनन् ? अब जनताले चुनावमा भोट हाल्दा हात उनीहरूतिर जान थाल्यो भने पनि कार्यकर्ताले नै यसो वरतिर सूर्यमा हाल्छन् । अब त्यो जमाना रहेन । अब सूर्यको जमाना आयो ।’

चितवनबाट फर्किएपछि भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले कांग्रेसका नेता गगन थापाको अभिव्यक्तिमा टिप्पणी गरेका थिए ।

थापाले भक्तपुरमै आयोजित कांग्रेसको कार्यक्रममा आगामी चुनावमा एमालेलाई बढार्ने र कहीँ कतै कुना काप्चामा बाँकी रहेमा भ्याकुम लगाएर भए पनि एमाले सक्ने अभिव्यक्ति दिएका थिए ।

कात्तिक १८ मा भक्तपुरमा एक पुस्तक विमोचन कार्यक्रममा ओलीले भने, ‘हिजो हो कि कहिले, एकजना बाबु घुम्दै यतै भक्तपुर आएछन् । भ्याकुम क्लिनर लिएर आएका । अनि, भ्याकुम क्लिनर लगाएर एमाले सिध्याउने रे । बिचरा । सिंगै कांग्रेस कहाँ पुग्यो हेक्का छैन, एमाले भ्याकुम क्लिनरले सिध्याउने सपना तिनीहरूका ।’

कांग्रेस नेताका चुनाव केन्द्रित भाषण

कांग्रेस नेता गगन थापाको भाषण पनि चुनाव केन्द्रित हुन थालेका छन् । कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका थापाले महाधिवेशन भन्दा बढी संघीय संसदको चुनावलाई केन्द्रमा राखेर भाषण गरिरहेका छन् ।

एमाले जस्तै कांग्रेसका पनि धेरैजसो नेताले चुनाव चाहेको देखिन्छ । २०७४ को निर्वाचनमा एमाले–माओवादी गठबन्धनसँग पराजित भएको कांग्रेसका धेरैजसो नेता संसदीय राजनीतिमा छैनन् । त्यसो हुँदा अहिले अरू राजनीतिक दलको दबदबा खस्किएको र यही बेला चुनाव भए अत्याधिक सिट जित्न सकिने कांग्रेस नेताहरूको आंकलन छ ।

थापाले भक्तपुरको गुण्डुमा एमालेलाई लक्षित गरी भनेका थिए, ‘यो पटकको चुनावमा एमालेलाई बढार्ने हो, कुचो लगाएर बढार्ने हो । बढार्दाखेरि कहीँ कतै कुना काप्चामा अड्क्यो भने भ्याकुम लगाएर तानेर निकाल्ने हो ।’

प्रचण्डको ओलीविरोधी चुनावी भाषण 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संसद पूर्ण कार्यकाल चल्ने र सत्तारूढ गठबन्धन चुनावसम्मै जाने बताउँछन् । संसद् पूर्ण कार्यकाल चल्दा चुनाव हुने भनेको २०७८ को मंसिरपछि मात्रै हो । तर, उनका पछिल्ला अभिव्यक्ति भने चुनावबाट डराएजस्तो देखिने गरेको छ ।

भलै, उनले आफ्ना भाषणमा संसद्को प्रतिपक्षी दल एमालेको आलोचना गर्न छाड्दैनन् । प्रचण्डको भाषणमा अरू दलका विषय आउँदैनन् । सरकारमा गठबन्धन भएको र चुनावमा पनि गठबन्धन कायम राख्ने प्रचण्डको योजना देखिन्छ । तसर्थ, उनी गठबन्धनमा रहेका दललाई बिच्क्याउने गरी अभिव्यक्ति दिइरहेका छैनन् ।

एमालेले प्रचण्डको निर्वाचन क्षेत्र चितवनमा दशौं राष्ट्रिय महाधिवेशन आयोजना गर्न लागेपछि चितवन पुगेर प्रचण्डले चितवनलाई कुरूक्षेत्र बनाउन खोजिएको अभिव्यक्ति दिएका थिए ।

कात्तिक १२ मा चितवनमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा प्रचण्डले भनेका थिए, ‘चुनाव आउँदैछ र यो चुनाव आउँछ जान्छ भन्ने मात्रै ठानिएको छ भने त्यो सही हैन । यहाँ ठूलो लडाईं हुँदैछ । महाभारत हुँदैछ । महाभारतको कुरूक्षेत्र हुन लागेको चितवनमा कल्ले जित्ने हो ? कौरवले कि पाण्डवले हेर्नुछ ।’

आफूले भनेको कुरूक्षेत्र हिंसाको नभई ठूलो राजनीतिक लडाई हुन लागेको अर्थमा भनेको प्रचण्डले प्रस्ट्याएका थिए । ‘गलत अर्थले नबुझ्नुहोला, हिंसाको कुरूक्षेत्र भनेको होइन, यहाँ ठूलो राजनीतिक लडाइँ हुँदैछ, राजनीतिक लडाइँको कुरूक्षेत्र हुने भनेको हुँ’, प्रचण्डले भनेका थिए । उक्त भाषणमा प्रचण्डले आगामी निर्वाचनबाट ‘ओली प्रवृृत्ति’लाई बढार्नुपर्ने बताएका थिए ।

नेपालको टर्च बाल्ने अभिव्यक्ति

चुनाव केन्द्रीत भाषणमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पनि उत्तिकै अगाडि छन् । उनको प्रहारको केन्द्र पनि एमाले नै हुने गरेको छ । माधव नेपालले एमालेलाई नै फुटाएर एकीकृत समाजवादी गठन गरेका हुन् । एमालेको नेतृत्व प्रतिगामी बाटोमा हिँडेको र गठबन्धनले संविधान र व्यवस्था जोगाएकाले आगामी चुनावपछि एमालेलाई टर्च बालेर खोज्नुपर्ने अवस्था आउने नेपालले बताउने गरेका छन् ।

केही दिनअघि धनगढी पुगेर नेपालले निर्वाचनपछि एमालेलाई टर्च बालेर खोज्नुपर्ने अवस्था आउने अभिव्यक्ति दिएका थिए । त्यसयता उनले  यो अभिव्यक्ति दोहोर्‍याइरहेका छन् ।

नेता नेपालले संसद् पूर्ण कार्यकाल चल्ने र त्यसपछि मात्रै चुनाव हुने बताउने गरेका छन् । गत कात्तिक १८ गते मध्यपुर थिमिमा आफ्नो पार्टीले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै नेपालले अर्ली इलेक्सनको भ्रम नपाल्न भनेका थिए ।

उक्त कार्यक्रममा नेपालले भनेका थिए, ‘कसैले भ्रम नपाले हुन्छ । आजै हुन्छ कि, छिट्टै चुनाव हुन्छ कि, छिट्टै चुनाव हुनेवाला छैन । संघीय संसद्को चुनाव समयमै हुनेछ । त्यसको निम्ति हामी जसरी प्रत्येक काममा सफल हुँदै हिँडेका छौँ । अगाडी बढेका छौँ । त्यसैगरी निर्वाचनको मैदानमा पनि विभिन्न ठाउँको आंकलन हामीले गरिरहेका छौँ । हामी जित्नेछौँ । बाँकी हामीसँग इर्ष्या गर्नेहरूको हालत खत्तम हुनेछ ।’

नेकपा (एस)का अध्यक्ष नेपालले हरेक भाषणमा एमाले अध्यक्ष ओलीको आलोचना गर्न छुटाउँदैनन् । त्यसदिन उनले भने, ‘दुईतिहाइ बहुमत ? प्रदेशमा बनेको वामपन्थी सरकार केपी ओलीले सबै सिध्याइदिए । कस्तो मान्छेलाई नवौं महाधिवेशनमा हाम्रा साथीहरूले भोट दिएछन् ?’

नेपालले ओलीसँगै एमाले पनि सकिने बताउने गरेका छन् । कात्तिक ११ मा सर्लाहीको लालबन्दीमा पुष्पलाल स्मृति पार्कको उद्घाटन पछि नेपालले भनेका थिए, ‘ओली प्रवृत्तिलाई घुँडा टेकाएर नयाँ पार्टी बनाएका हौं । आगामी निर्वाचनपछि ओलीसँगै एमाले पनि सकिनेछ । एमालेलाई टर्च बालेर खोज्नुपर्ने अवस्था आउँछ ।’

  • २२ कार्तिक २०७८, सोमबार प्रकाशित

  • Nabintech