बुटवल\सौर्य एयरलाइन्सले सोमबारबाट रूपन्देहीको भैरहवा–विराटनगर–भैरहवा सिधा उडान शुरू गरेको छ ।
निजी क्षेत्रको हवाई सेवा प्रदायक सौर्य एयरलाइन्सले सोमबारदेखि लुम्बिनी प्रदेश र प्रदेश १ लाई जोड्ने गरी दैनिक उडान गरेको हो ।
आठ वर्षदेखि सेवा दिँदै आएको एयरलाइन्सले ५० सिट क्षमताको जेट विमानबाट दुई औद्योगिक क्षेत्रलाई जोड्न दैनिक उडान गर्न लागेको सौर्य एयरलाइन्स भैरहवाका स्टेशन म्यानेजर जितेन्द्र यादवले बताए ।
सौर्यले ६ हजारमा दैनिक भैरहवाबाट दिउँसो ३ बजेर ४५ मिनेटमा विराटनगर उड्ने र विराटनगरबाट साँझ ५ बजेर १० मिनेटमा भैरहवा फर्कनेछ । कम्पनीले अहिले विराटनगर, भद्रपुर, भैरहवा र धनगढीमा दैनिक उडान गरिरहेको छ ।
चाडै नै नेपालगञ्ज र राजविराजको उडान पनि थाल्ने कम्पनीले जनाएको छ ।
हालसम्म कुनै पनि एयरलाइन्सले विराटनगरबाट भैरहवाको सिधा उडान गरेको थिएनन् । एयरलाइन्सले हाल ९ वटा स्थानमा उडान गर्दै आएको छ ।
भैरहवा–विराटनगर थपिएसँगै अब सौर्यले दैनिक उडान संख्या १० पुगेको छ । तीन वटा जेट विमानबाट सेवा दिँदै आएको एयरलाइन्सले अरु भन्दा सहुलियत, सुरक्षित र अनटाइम उडान गर्ने दाबी गरेको छ । जहाजलाई गन्तव्यमा पुग्न ५३ मिनेट लाग्ने एयरलाइन्सले जानकारी दिएको छ ।