काठमाडौँ\प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतको गेटमा धर्ना शुरू गरेको छ ।
प्रधानन्यायाधीश जबरालाई अदालत प्रवेशमा रोक लगाउन भन्दै कानून व्यवसायीहरू धर्नामा बसेका हुन् । अदालत नखुल्दै शुक्रवार बिहान १० बजे नै बारको आह्वानमा कानून व्यवसायीहरू अदालतको गेटमा धर्नामा बसेका हुन् ।
बारका महासचिव लीलामणि पौडेलले धर्ना १२ बजेसम्म चल्ने जानकारी दिए । उनले बारको आन्दोलन प्रभावित गर्न प्रधानन्यायाधीश जबराले भिजलान्ते प्रयोग गरिएको सूचना पाएको भन्दै त्यसो नगर्न चेतावनी दिए । बारको धर्ना चलिरहेको समयमा बारको विरोध र चोलेन्द्रको पक्षमा नाराबाजी भएको थियो ।
नाराबाजी गर्ने ४ महिलासहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बारको विरोधका कारण सर्वोच्च अदालत बाहिर रामसाहपथको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ ।









