बाँके\नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकेमा निर्विरोध निर्वाचित हुन नसकेका वडामा आज(आइतबार) शान्तिपुर्ण रुपमा मतदान कार्यक्रम सुरु भएको छ । निर्वाचन कार्यक्रम अन्तरगत शनिबार बाँकेका ८१ मध्ये ५२ वटा वडामा निर्विरोध भएको थियो । ती वडामा वडा कार्य समिति, क्षेत्रीय प्रतिनिधीका लागि मतदान सुरु भएको सहायक जिल्ला निर्वाचन अधिकृत(अधिवक्ता) चित्रबहादुर शाहीले जानकारी दिए ।
जिल्ला निर्वाचन परिचालन समितिका संयोजक एवम निर्वाचन अधिकृत (वरिष्ठ अधिवक्ता) रेवती रमण भट्टराईको नेतृत्वमा समितिका सदस्य तथा डिएलए बाँकेका अध्यक्ष (अधिवक्ता) ईश्वरीप्रसाद ज्ञवाली, समितिका सदस्य एवम नेपाल शिक्षक संघ बाँकेका अध्यक्ष बिरेन्द्र यादव, समितिका सदस्य(प्रवक्ता) एवम नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली, निर्वाचन समितिका सदस्य एवम शिक्षक संघका सचिव ऋषिराज शर्मा बिहानैदेखि कोहलपुरका विभिन्न वडा, राप्ती सोनारीको २ र ८ तथा बैजनाथ, नेपालगन्ज लगायत स्थानको अनुगमनमा खटिएका छन ।
यस्तै जिल्ला निर्वाचन परिचालन समितिका सदस्य तथा वरिष्ठ अधिवक्ता भोलासिङ हमालको नेतृत्वमा अधिवक्ताद्वय प्रेम शर्मा, गोपाल गिरी लगायत नरैनापुर गाउँपालिका सहित र राप्ती सोनारी वडा नम्बर ६ को अनुगमनमा खटिएका छन ।
निर्वाचन कार्यक्रम अन्तरगत मतदान शान्तिपुर्ण रुपमा सुरु भइसकेको निर्वाचन अधिकृत भट्टराइले जानकारी दिए । प्राबिधिक रुपमा कुनै समस्या नआए मंसिर १ गते हुने गाउँपालिका/नगरपालिका स्तरीय निर्वाचन कार्यक्रमका लागि कात्तिक ३० नै उम्मेदवारी मनोनयन हुने उनले बताएको नेपाली कांग्रेसको १४ औं महाधिवेशन जिल्ला निर्वाचन परिचालन समितिले आज जारी गरेको प्रेस नोटमा जनाइएको छ ।