कपिलवस्तु\ रूखमा बचेरा हुर्काएर स्वर्गचरीले लिएर गएपछि लुम्बिनीस्थित बुद्ध गार्डेन होटलका म्यानेजर सुनिल चौधरीलाई नियास्रो लागेको छ । ‘महिना दिन ओथारो बसे । बचेरा–माउका गतिविधि हेरेर निकै आनन्दित भयौं । एक्कासि उडेर जाँदा नियास्रो लागेको छ,’ उनले भने ।
अन्य ग्रीष्मकालीन आगन्तुक चरा पनि बच्चा कोरलेर हुर्काएसँगै फर्किएका छन् । हिउँदमा उत्तरबाट नेपाल आएका चरा उतै फर्केपछि गृष्ममा दक्षिणबाट चरा आउने गर्छन् । अहिले रानीचरी, कुक्कु, कोइली, चित्रक पिट्टा, गाँजले पिट्टा र सुन्तले चाँचरले बचेरा हुर्काएर फर्केका छन् । त्यस्तै सुनचरी, राजचरी र लालचुच्चे ठेउवाले बचेरा उडाएर लिएर गए । बचेरा कोरल्ने राम्रो वातावरण र मौसम नेपालमा पाइने हुँदा चरा यहाँ हजारौं माइलको दूरी छिचोल्दै आइपुग्छन् । ४/५ दिनदेखि साता बढी समय लगाएर ती चरा उड्दै नेपाल आउँछन् ।
अनुकूल मौसम र खानाको खोजीमा बसाइँसराइ गर्ने क्रममा ऋतु परिवर्तनसँगै नेपाल आएका थिए । यहाँका चितवन, बर्दिया, शुक्लाफाँटा, पर्सा र बाँके राष्ट्रिय निकुञ्जमा चरा बच्चा कोरल्न आएका थिए । त्यस्तै कोसी टप्पु, शिवपुरी जंगल र अन्नपूर्ण संरक्षण क्षेत्रमा पनि बच्चा कोरल्न चरा आएका थिए । करिब ६० प्रजातिका आगन्तुक चरामध्ये अधिकांशले यहीं गुँड लगाई बचरा हुर्काएर फर्कन्छन् ।
जेठ पहिलो सातासम्म सबै चराले गुँड लगाइसक्छन्,’ चराविद् डीबी चौधरीले भने, ‘साउन तेस्रो सातासम्म बचेरा हुर्काइसक्छन् ।’ बच्चा हुर्काउन सानाले कम र ठूलाले बढी समय लिने वन्यजन्तु विशेषज्ञ प्राध्यापक करनबहादुर शाहले बताए । गृष्ममा विदेशमा अहिले दिन र रात बराबरी हुने तर नेपालमा अहिले रातभन्दा दिन लामो हुने भएकाले बढी समय चर्न पाउने हुँदा चरा यतातिर आउने गरेको उनले बताए । ‘चराले बच्चा कोरल्न ठाउँ यहाँ रोजीरोजी पाउँछन्,’ उनले भने, ‘बाहिरतिर असुरक्षा, भय र त्रास बढी हुन्छ । त्यही भएर उनीहरूको रोजाइ नेपाल हुने गरेको छ ।’
चरा आएर सबैभन्दा पहिले ठाउँसँग परिचित हुन्छन् । गुँड लगाउने ठाउँ, वातावरण र खानेकुरालगायतका कुरा हेरेर बच्चा हुर्काउन ठाउँ रोज्छन् । चराले यहाँ रूख, नदी खोलाका किनार र खेतबारीमा गुँड लगाउँछन् । वसन्त ऋतुसँगै भारत, श्रीलंका, दक्षिण–पूर्वी एसियाका थाइल्यान्ड, म्यान्मार र मलेसियालगायतका ठाउँबाट चरा यहाँ आइपुगेका हुन् । बच्चा हुर्काएर फेरि जहाँबाट आएका हुन्, उतै फर्किएका छन् । चैतको अन्त्य र वैशाखबाट आउन सुरु गर्ने चरा कात्तिक अन्त्यतिर फर्किन थाल्छन् । ‘यस वर्ष निषेधाज्ञाले चराले उन्मुक्त वातावरण पाए,’ चराविद् डा. तुल्सी सुवेदीले भने, ‘यसले घर–आँगनबाटै चराको चिरविराहट र आनीबानीहेर्न पाउँदा उल्लास र उमंग मिलेको छ ।’