काठमाडौँ\नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आसन्न १४औं महाधिवेशनमा संस्थापनइतर समूहबाट डा. शेखर कोइराला सभापतिको उम्मेदवार हुने संकेत गरेका छन् ।
शेखरले आफूलाई कन्भिन्स गर्ने र अरूलाई पनि कन्भिन्स गर्नुपर्ने शशांकको भनाइ छ ।
सोमवार सर्लाहीको हरिवनमा कांग्रेसका अगुवा कार्यकर्तालाई गरेको सम्बोधनमा महामन्त्री कोइरालाले १४ औं महाधिवेशनमा शेखरलाई समर्थन गर्ने संकेत गरेका हुन् ।
महामन्त्री कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेल एकपटक सभापतिमा लडिसकेको र अर्का आकांक्षी प्रकाशमान सिंहलाई काठमाडौंबाहिर कसैले नचिन्ने टिप्पणी समेत गरे ।
रामचन्द्रजी त एकपटक लडिसक्नुभएको छ, सिटौलाजी पनि हामीसँग आउनुपर्छ, सिटौलाजीसँग धेरै मान्छेको आशा छ । उहाँले हामीसँग सामेल गरेर एउटै उम्मेदवार बनाए शेरबहादुरजी हार्नुहुन्छ,’ कोइरालाले भने, ‘प्रकाशमान सिंहजी, भन्दा नराम्रो लाग्छ, तर सत्य हो, उहाँ काठमाडौंमै घेरिएर बस्नुभएको छ । बाहिर टेक्नेबित्तिकै चिन्दैनन् मानिसले,’ शशांकले भने ।
पछिल्लो समय प्रकाशमान, शशांक र विमलेन्द्र निधिबीच पटक–पटक छलफल समेत भएको थियो । बीपी, गणेशमान र महेन्द्रनारायण निधिका सुपुत्रहरूबीचको यो छलफलटलाई अर्थपूर्ण रूपमा हेर्ने गरिएको थियो ।
तर, आगामी महाधिवेशनमा कोइराला परिवार एक भएर अघि बढ्ने सम्भावना बढेको छ । सभापतिमा उठ्न शेखरले अरूलाई पनि कन्भिन्स गर्नुपर्ने शशांकले बताए ।
‘शेखर दा पनि लागिरहनुभएको छ । उहाँ र हामी मिलेर जानुपर्छ भन्ने तपाईंहरूको भावनालाई कदर गर्छु, सम्मान गर्छु,’ शशांकले भने, ‘काठमाडौं जानेबित्तिकै कुरा गर्छु, उहाँलाई सभापति हुन मन छ भने अरूलाई पनि कन्भिन्स गर्नुपर्यो । मलाई त गरिहाल्नुहुन्छ, उहाँले ।’
शशांकले यसो भन्दा कांग्रेस कार्यकर्ताले ताली बजाएका थिए ।
शशांकको यो भनाइलाई निकै महत्त्वका साथ हेरिएको छ । कोइराला परिवारकी अर्की सदस्य सुजाता कोइरालाले पनि कोइराला परिवारबाट एक जनाले मात्र उम्मेदवारी दिनुपर्ने लबिइङ गरिरहेकी छन् ।
कांग्रेसको महाधिवेशन मंसिर २४ देखि काठमाडौंमा हुँदैछ ।
महामन्त्री कोइरालाले महाधिवेशनपछि नेपाली कांग्रेस अत्यन्त बलियो भएर जाने बताए । ‘हरेक ठाउँमा उत्साह छ, दशौं हजारको संख्यामा मैले पार्टी प्रवेश गराएको छु,’ उनले भने ।