२३ बैशाख २०८२, मंगलवार

कांग्रेस कोहलपुर नगर सभापतिमा श्रेष्ठ र शाहको घोषणा
  • न्युज मानसराेवर

कोहलपुर \ नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनका लागि कोहलपुर नगरको सभापति पदमा दुई जनाले उम्मेदवारी दिदै छन । संस्थापन (देउवा पक्ष) बाट नेता राजेन्द्र श्रेष्ठ र संस्थापन इतरबाट बिरेन्द्र शाहले उम्मेदवारी घोषणा गरेका हुन । कार्यकर्ताका नजरमा शाह र श्रेष्ठ दुबै बलिया उम्मेदवार मानिन्छन । उनीहरु दुबैले आफ्नो प्रचार तीब्र पारेका छन् ।

संस्थापन(देउवा)पक्षका नेता श्रेष्ठले यसअघि वर्तमान नगर सभापति बलराम शर्मासँग चुनाव हारेका थिए । पार्टीको राजनीतिमा पनि उनी लामो समयदेखी आवद्ध छन् । पार्टीको १२ औं महाधिवेशनमा नेपाली कांग्रेस बाँकेको जिल्ला कार्यसमिति सदस्य समेत भईसकेका श्रेष्ठ तत्कालिन कोहलपुर गाविस अध्यक्ष पदका लागि पार्टीले टिकट दिएपछि २०५४ सालमा लुटबहादुर रावतसँग चुनाव हारेका थिए ।

उनी कोहलपुर उद्योग ब्यापार संघका पुर्व अध्यक्ष पनि हुन् । ‘२०४२ सालदेखी कोहलपुरमा छु, पार्टीको १३ औं महाधिवेशनमा नगर सभापति पदमा हारेको ब्यक्ति हुँ, पहिले चुनाव हारेर घाईते भएको, अर्को उम्मेदवार भन्दा सिनियर भएका कारण र सबै कार्यकर्तासँग परिचित भएका कारण पनि मैले यसपटक सभापतिमा उम्मेदवारी घोषणा गरेको हुँ,’ श्रेष्ठले भने ।

उनले आफु देउवा पक्षबाट निर्विरोध सभापतिको उम्मेदवार बनिसकेको बताए । पार्टीको जिम्मेवारीमा आईसकेपछि कोहलपुर नगरका सबै वडामा स्थानीय निर्वाचनमा आफ्ना नेता, कार्यकर्तालाई जिताउने, प्रदेश र संघको निर्वाचनमा पनि कोहलपुरबाट धेरै भोट दिलाउने उनले सुनाए । श्रेष्ठ कोहलपुर ११ का क्रियाशिल सदस्य हुन् ।

संस्थापन इतर पक्षका उम्मेदवार शाह नेपाली कांग्रेस निकट नेपाल ट्रेड युनियन कांग्रेसको हाल केन्द्रिय सदस्य हुन् । ट्रेड युनियनको पुर्वजिल्ला अध्यक्ष भईसकेका उनी द्धन्द्ध पीडित पनि हुन् । स्थायी शिक्षक रहेका उनलाई तत्कालिन माओबादीले रुकुममा नेपाली कांग्रेसमा आस्था राखेकै कारण दुःख दिएको थियो । रुकुममा माओबादीले बस्नै नदिएपछि उनी परिवारसहित २०५६ सालमा कोहलपुर झरेका थिए ।

पार्टीको १२ औं महाधिवेशनमा तत्कालिन कोहलपुर गाविस ईकाई कोषाध्यक्ष समेत रहेका उनी यसअघि स्थानीय तहको निर्वाचनमा कोहलपुर नगरपालिका वडा नम्बर १२ मा एमालेका कृष्ण खड्कासँग वडाअध्यक्षमा पराजित भएका थिए । २०६६ देखी २०७२ सालसम्म ज्ञानज्योती माध्यामिक बिद्यालय चप्परगौडीको ब्यवस्थापन समिति अध्यक्ष भएर काम गरेका थिए ।

आफु नगर सभापति भएपछि संगठन सुदृढीकरण गर्नुका साथै आउँदै गरेको तीनै तहको निर्वाचनमा पार्टीलाई कोहलपुरमा पहिलो बनाउने बताए । ‘मैले जात, भुगोल केहीपनि नभनेर पार्टीको काममा सक्रिय भएर लाग्नेछु, म आफैमा द्धन्द्ध पीडित पनि हुँ, कांग्रेस भएकै कारण मैले त्यो बेलामा स्थायी शिक्षकको जागिर गुमाउनु परेको पीडा अहिले पनि छ, त्यसकारण मैले हाम्रो टिमबाट सभापति पदको उम्मेदवारी घोषणा गरेको हुँ,’ शाहले भने । उनी कोहलपुर १२ का क्रियाशिल सदस्य हुन् । दुबैले बुधबार(आज) कोहलपुर नगर सभापतिमा उम्मेदवारी मनोनयन गर्दैछन ।

  • १ मंसिर २०७८, बुधबार प्रकाशित

  • Nabintech