बाँके\ नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनका लागि ११ जिल्लाबाट प्रतिनिधिको विवरण आउन बाँकी रहेको छ । कात्तिक २७ गते देशभर एकसाथ प्रतिनिधि चयनको प्रक्रिया अगाडि बढे पनि केही प्राविधिक कारणले केन्द्रमा विवरण आउन बाँकी रहेको एमालेले जनाएको छ ।
एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार कैलाली, कञ्चनपुर, बाजुरा, ताप्लेजुङ, पाँचथर, सुनसरी, सप्तरी, सिराहा, महोत्तरी, रौतहट र धनुषाबाट निर्वाचित भएका प्रतिनिधिको विवरण प्राप्त हुने प्रक्रियामा छ ।
महाधिवेशनका लागि सबै जिल्ला, विभाग र जनसंगठनमा प्रतिनिधि छनोट सम्पन्न भइसकेको बताउँदै उनले छिट्टै विवरण प्राप्त हुने जानकारी दिए । एमालेले कात्तिक ३० गतेसम्म प्रतिनिधिको विवरण पठाउन निर्देशन दिएको थियो । एमालेमा एक निर्वाचन क्षेत्रबाट एक महिला, एक दलितसहित पाँच र जनसंगठनबाट पाँच जनाका दरले प्रतिनिधि छनोट गरिएको छ ।
चितवनमा हुने महाधिवेशनमा देशैभरिबाट १ हजार ९ सय ९९ प्रतिनिधि सहभागी हुने भएका छन् । महाधिवेशनले १५ केन्द्रीय पदाधिकारीसहित २ सय २५ केन्द्रीय कमिटी सदस्य र लेखा आयोग तथा अनुशासन आयोगमा १५÷१५ जना निर्वाचित गर्नेछ । नेपाल समाचारपत्रमा खबर छ