बाँके\ तत्कालीन नेकपामा नेताहरू अन्तर्विरोध बढ्दै जाँदा प्रचण्ड र माधव नेपाललाई फकाउन केपी ओलीले भन्ने गरेका थिए, ‘म कुनै पनि कक्षा दोहोर्याएर पढ्दिनँ । कक्षा दोहोर्याउने मान्छे होइन ।’
उनको आशय थियो पुनः पार्टी अध्यक्ष र प्रधानमन्त्रीको दाबी नगर्ने भएकाले पूर्ण कार्यकाल काम गर्न पाइयोस् । उनले चाँडो महाधिवेशन गरेर पार्टी अध्यक्ष बन्न पनि प्रचण्ड र माधव नेपाललाई भन्ने गरेका थिए ।
प्रचण्ड–नेपालले ओलीको कुरामा विश्वास गरेनन् । ओलीको कार्यशैलीमाथि निरन्तर प्रश्न उठाइरहे । विवाद उत्कर्षमा पुग्दा ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्रीमध्ये एक छाड्नुपर्ने माग विस्तारै दुवै पद छाड्नुपर्नेतिर गयो ।
पार्टीको आन्तरिक टकराव व्यवस्थापन गर्न नसकेका ओलीले अन्ततः संसद् विघटनको सिफारिश गरिदिए । त्यसले नेकपाभित्रको विवाद झन् उत्कर्षमा पुग्यो ।
नेकपा र एमाले पनि विभाजन भएपछि अहिले एमालेको दशौं राष्ट्रिय महाधिवेशन मंसिर १०–१२ मा चितवनमा आयोजना गरेको छ । उक्त महाधिवेशनबाट ओली पुनः कक्षा दोहोर्याउने तयारीमा छन् ।
उनले पार्टी अध्यक्षको रूपमा कक्षा दोहोर्याउने औपचारिक संकेत एमालेको पहिलो विधान महाधिवेशनमार्फत गरेका थिए । त्यसबेला उनले एमालेलाई मधु–कैटभले पनि हल्लाउन नसक्ने पार्टी बनाएर जिम्मा लगाउने अभिव्यक्ति दिएका थिए ।
अहिले उनै ओलीले देशका विभिन्न भागमा पुगेर आगामी निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने र सरकार बनाउने बताउने गरेका छन् ।
ओलीको अध्यक्षमा दोहोरिने चाहना सम्बोधन गर्नकै लागि एमालेको विधान महाधिवेशनबाट ओलीलाई अनुकूल हुनेगरी वैधानिक व्यवस्था गरिएको छ ।
त्यसअघि एमालेको विधानमा ७० वर्षे उमेर हदको स्पष्ट व्याख्या थिएन । प्रथम विधान महाधिवेशनले ७० वर्ष उमेर पूरा नहुँदासम्म पदाधिकारीमा उम्मेदवार बन्न पाउने र पदाधिकारीमा रहँदा नै ७० वर्ष उमेर पुगे पनि पूरै कार्यकाल काम गर्न पाइने व्याख्यासहितको व्यवस्था गरेको छ ।
एमाले अध्यक्ष ओली अगामी फागुनमा ७० वर्ष पुग्छन् । आफ्नो उमेर पुग्नुअघि नै ओलीले एमालेको राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न लागेका छन् ।
२०७१ मा असारमा एमालेले नवौं महाधिवेशन सम्पन्न गरेको थियो । एमाले–माओवादी केन्द्र एकता भएर बनेको नेकपाको दुई वर्ष अवधिलाई शून्य समय मान्दा आगामी असारसम्ममा एमालेको महाधिवेशन गर्ने समय थियो ।
विधानले व्यवस्था गरेको उमेर हद नकट्दै महाधिवेशन गरेर ओली पुनः अध्यक्षमा दोहोरिन लागेका छन् । केपी ओली अध्यक्षमा दोहोरिँदा एमालेका ६ जना नेताहरू नेतृत्वको अवसरबाट वञ्चित हुने भएका छन् ।
एमालेका महासचिव ईश्वर पोखरेलले भदौ १४ गते कृष्णअष्टमीको दिन केही पत्रकारहरू भेला पारेर एमालेको अध्यक्षका लागि आफू योग्य रहेको बताएका थिए ।
उनले आफूप्रति केपी ओलीको धारणा बुझ्नका लागि सञ्चारमाध्यममार्फत दाबी प्रस्तुत गरेका थिए । तर, उनको दाबीमा ओलीको सकारात्मक संकेत नदेखेपछि पोखेरल आफैँ ब्याक भए ।
एमालेको विधान महाधिवेशनले पाँच उपाध्यक्षमध्ये एक वरिष्ठ उपाध्यक्ष हुने व्यवस्था गर्यो । अहिले उनै पोखरेल वरिष्ठ उपाध्यक्षको पद आफ्नै लागि तय गरिएको दाबी गर्न थालेका छन् ।
एमालेको अध्यक्षमा केपी ओली दोहोरिने भएपछि ११ औं महाधिवेशनसम्म पुग्दा पोखरेल उमेरका कारण नेतृत्वबाट वञ्चित हुनेछन् । एमालेको विधानअनुसार हरेक पाँच वर्षमा राष्ट्रिय महाधिवेशन हुन्छ । त्यसो हुँदा एघारौं महाधिवेशन २०८३ सालमा गर्नुपर्छ ।
अहिले पोखरेल ६८ वर्षका भए । एमालेको विधानअनुसार उनी ११औं महाधिवेशनमा कुनै पनि कार्यकारी पदमा उम्मेदवार बन्न समेत पाउँदैनन् ।
एमालेको शीर्ष तहमा अध्यक्ष ओलीपछि उमेरका हिसाबले सबैभन्दा जेठा नेता हुन्, सुवास नेम्वाङ । धेरैजसो समय राजकीय जिम्मेवारीमा रहेका र त्यतै रमाइरहेका नेम्वाङको उमेर ६९ वर्षको छ । उनी पनि ११ औं महाधिवेशनमा उमेरकै कारण पदाधिकारीको उम्मेदवार समेत बन्न पाउँदैनन् ।
आगामी महाधिवेशनपछि एमालेको शीर्ष तहबाट बाहिरिनुपर्ने भएपछि नेम्वाङ दशौं महाधिवेशनबाटै पार्टीमा ओलीपछिको जिम्मेवारी लिन लबिङ गरिरहेका छन् । चितवनमा हुने महाधिवेशनबाट पार्टीको वरिष्ठ उपाध्यक्ष बन्ने नेम्वाङको आकांक्षा छ ।
एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य ६८ वर्षकी भइन् । उनी पनि यही महाधिवेशनसम्म मात्रै पार्टीको पदाधिकारीमा उम्मेदवार बन्न पाउँछिन् ।
अर्का उपाध्यक्ष युवराज ज्ञवाली पनि चितवन महाधिवेशनसम्म मात्रै पदाधिकारी तहमा उम्मेदवार हुन पाउँछन् ।
एमालेका अर्का उपाध्यक्ष भीम रावल अहिले ६५ वर्षका भए । एमाले संस्थापनसँग सधैँ विधि र पद्धतिको विषय उठाएर संघर्ष गरिरहेका रावल एमालेमा नेतृत्वको आकांक्षी हुन् । एमाले विभाजन नहुँदा उनी माधव नेपाल खेमामा थिए ।
केही समयअघि गृहजिल्ला अछाम पुगेर उनले आफ्ना कार्यकर्तासँग एमाले अध्यक्षको उम्मेदवार बन्ने बारेमा चर्चा गरेका थिए । तर, उनले अहिलेसम्म प्रस्ट रूपमा अध्यक्षको उम्मेदवार बन्ने दाबी गर्न सकेका छैनन् ।
उनी अध्यक्षको उम्मेदवार बने पनि यसपटकको महाधिवेशनमा जित्ने सम्भावना कम देखिन्छ । ११ औं महाधिवेशनमा उनलाई उमेरले धोका दिन्छ ।
नेकपा माओवादी केन्द्रबाट एमालेमा आएका नेता रामबहादुर थापा अहिले ६६ वर्षका भए । ११ औं महाधिवेशनमा उनी पनि पदाधिकारी तहमा उम्मेदवार हुनबाट वञ्चित हुन्छन् ।
यस पटकको महाधिवेशनलाई हेर्दा ११ औं महाधिवेशन २०८३ को मंसिरमा हुनुपर्छ । तर, रावल २०८३ को असारमै ७० वर्ष उमेर पार गर्छन् । त्यसो हुँदा उनी एमालेको नेतृत्व गर्ने अवसरबाट वञ्चित हुने अवस्था छ ।
तर आगामी विधान महाधिवेशनबाट उमेर हदको व्यवस्था नै परिवर्तन भएको खण्डमा भने यो हिसाबकिताब अर्थ नरहन सक्छ ।
एमाले एघारौं महाधिवेशनमा पुग्दा नेताहरू विष्णु पौडेल (६२), घनश्याम भुसाल (६०), सुरेन्द्र पाण्डे (६३), शंकर पोखरेल (५९) पृथ्वी सुब्बा गुरूङ (६४), प्रदीप ज्ञवाली (५९), गोकर्ण विष्ट (५६), योगेश भट्टराई (५५) लगायतका नेताहरू एमाले हाइ–कमाण्डका दाबेदार हुन सक्छन् ।
माओवादी केन्द्रबाट एमालेमा आएका नेता लेखराज भट्ट ६१ वर्षका भए । उनी पनि ११ औं महाधिवेशनमा पदाधिकारीको उम्मेदवार बन्न पाउँछन् ।
एमालेको ११ औं महाधिवेशनमा पार्टीको नेतृत्व दाबी गर्न सक्ने अर्को पात्र हुन्, वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी । राष्ट्रपति रहँदा पनि एमालेको आन्तरिक राजनीतिमा उनी उत्तिकै चासोपूर्वक सहभागी भइरहेकी छिन् ।
राष्ट्रपतिको कार्यकाल सकिएपछि उनी पार्टी राजनीतिमा आउन सक्ने आंकलन एमालेका नेताहरू गर्छन् । अहिले भण्डारीको उमेर ६० वर्षको भयो ।
एमाले विधानले व्यवस्था गरेको उमेर हदअनुसार ११ औं महाधिवेशनबाट एक कार्यकाल उनले पार्टीको नेतृत्व गर्ने अवसर लिन सक्ने आंकलन एमालेभित्रै छ ।