बाँके\ बगेडी अहिले राजधानीमा निकै लोकप्रिय हुन थालेको छ । विशेष गरेर जाडो भगाउने परिकारको रूपमा परिचित बगेडीले शरीरको तापक्रम बढाउने र चिसो भगाउने गर्दछ ।
बगेडी भगेराकै एक प्रजाति हो, जुन निकै स्वादिष्ट र स्वस्थबद्र्धक मानिन्छ । कालिज, बट्टै, कडकनाथ, टर्की, लौकट, परेवा, मलेवा, ढुकुर, अस्ट्रिच चाखिसकेका राजधानीवासीले पछिल्लो समय बगेडीको स्वाद चाख्न पाउने भएका छन् ।
राजधानीका विशेष रेस्टुराँहरूमा बगेडी परिकार पाउन थालिएको छ ।
भँगेरा एक किसिमको चरो हो । यसले विशेषगरी मानिसको घरका खटप्वाल तथा अन्य त्यस्तै सुरक्षित प्वालमा गुँड बनाई बस्दछ । भूकम्पपछि धेरै जिल्लाहरूमा भँगेरा लोप भएर बसाइसरि तराईतिर झरेका छन् ।
व्यावसायिक रूपमा भँगेराको फार्म शुरू नभए तापनि तराईबाट संकलन गरी राजधानीको भित्रिन्छन् ।
बगेडी कसरी बनाइन्छ ?
बगेडी खास गरेर सुप बनाइ खान उत्तम मानिन्छ । जाडो महिनामा बगेडी धेरैले रुचाउँछन् । तोरीको तेलमा प्याज, गरम मसला, पुराइ भगेराको मासुलाई भुटेर अन्य नेपाली मसला, अदुवा, लसुन हाली भुटीभुटी झोल हालेर तिक्खर सुप बनाइ खान सकिन्छ ।
लोकल कुखुराको मासु जसरी पकाएर थाली सेटमा पनि खान बगेडी उत्तम नै हुन्छ ।
भँगेराको प्रजाति बगेडीको तन्दुरी, रोस्ट, सेकुवा, सादेको, छोइला, करी जसरी खाए तापनि स्वादिष्ट मानिन्छ । बगेडी सहज पाउन मुस्किल हुने हुँदा एक दुर्लभ परिकार मानिन्छ ।
तराईको कटिया जसरी राजधानीमा लोकप्रिय भयो, त्यसरी नै बगेडी पनि दिनानुदिन सबैले मन पराउन थालेका छन् । बगेडी व्यावसायिक रूपमा नियमित पस्कन नसके तापनि जाडो महिनामा यसको चर्चा निकै हुन्छ ।