२३ बैशाख २०८२, मंगलवार

विश्वकप छनोट : नेपाली महिला टोलीको पहिलो जित
  • न्युज मानसराेवर

बाँके\ आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपाली महिला क्रिकेट टोलीले पहिलो जित निकालेको छ । दुबईको आईसीसी क्रिकेट एकेडेमीमा मंगलबार भुटानलाई ८ विकेटले पराजित गर्दै नेपालले पहिलो जित निकालेको हो ।

भुटानले दिएको ६२ रनको लक्ष्य नेपालले ८ ओभर ३ बलमा मात्र २ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा इन्दु बर्माले अविजित १८ रन जोडिन ।

सिता राना मगरले १७ तथा कप्तान रुबिना क्षेत्रीले १० रन जोडिन । कविता जोशी ८ रनमा अविजित रहिन् । भुटानकी टासी छेकीले एक विकेट लिईन् । यस अघि पहिले ब्याटिङ गरेको भुटानले २० ओभरमा ६ विकेट गुमाएर ६१ रन बनाएको थियो ।

भुटानका लागि नगावाङ छोदेनले १३, सोनाम पाल्डोनले ११ तथा कप्तान एसेय छोदेनले ९ रन जोडिन् ।

नेपालका लागि सिता राना मगरले सर्वाधिक ३ विकेट हात पारिन् । सिताले चार ओभर बलिङ गर्दै १० रन खर्चेकी थिइन् । करुणा भण्डारीले एक विकेट लिइन् ।

यस जितसँगै नेपालले २ खेलमा २ अंक जोडेको छ । सोमबार भएको पहिलो खेलमा नेपाल हङकङसँग ६ विकेटले पराजित भएको थियो ।

भुटानको यो पहिलो हार हो । भुटानले २ खेलमा २ अंक जोडेको छ । पहिलो खेलमा भुटानले कुवेतलाई ४० रनले हराएको थियो ।

छनोटमा ६ टिम सहभागी छन् । छनोटको विजेता टिमले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन् । छनोट अन्तर्गत नै नेपालले तेस्रो खेल कुवेतविरुद्ध बिहीबार प्रतिस्पर्धा गर्नेछ । नेपालले आफ्नो चौथो खेल मलेसियासँग शुक्रबार तथा पाँचौ खेल आगामी आइतबार युएईविरुद्ध खेल्ने तालिका रहेको छ ।

  • ७ मंसिर २०७८, मंगलवार प्रकाशित

  • Nabintech