बुटवल\ नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनलाई मध्यनजर गर्दै बुटवल–नारायणगढ सडक हुँदै गुड्ने ठूला सवारीसाधनमा रोक लगाइएको छ ।दाउन्ने सडकको अवस्थाका कारण मालबाहक ट्रक, टिपर र अन्य खाली ट्रकलाई पूर्ण रुपमा रोक लगाइएको हो ।
निर्माणाधीन यो सडक अहिले खाल्डाखुल्डी बेहाल छ । दाउन्नेमा हुने जामलाई मध्यनजर गर्दै पूर्वी र पश्चिम नवलपरासी जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको बुधवार अबेर नवलपुरमा सम्पन्न बैठकले बिहीवार साँझ ६ बजेदेखि शुक्रवार राति १२ बजेसम्मका लागि ठूला सवारीसाधनको आवागमनमा रोक लगाइएको हो ।
दाउन्ने सडकको जामलाई लक्षित गर्दै सवारीसाधनमा रोक लगाइएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताए । साँघुरो र उकालो/ओरालो सडक रहेको दाउन्नेमा मालबाहक सवारीसाधनका कारण दिनहुँ जाम हुने गरेको छ । महाधिवेशनमा आउने सवारीसाधनको संख्या बढी हुने र त्यसको सहजताका लागि सवारीसाधनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी मिश्रले बताए ।