बाँके\ महाधिवेशनमा जुटेको नेपाली काँग्रेसको प्रदेश अधिवेशन बिहीबारदेखि सुरु हुँदैछ । बिहीबार सात वटै प्रदेशमा प्रादेशिक अधिवेशन हुने तय भएको निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए।
उनका अनुसार आज मतदाता नामावली प्रकाशन हुनेछ भने शुक्रबार मनोनयन दर्ताको कार्यतालिका तय भएको छ यस्तै शनिबार निर्वाचन हुने उनको भनाइ छ ।
कांग्रेसको प्रदेश अधिवेशन प्रदेश १ को विराटनगरमा हुनेछ । यस्तै २ को जनकपुरधाममा, बागमतीको हेटौंडामा, गण्डकीको पोखरामा, लुम्बिनीको बुटवलमा, कर्णालीको सुर्खेतमा र सुदूरपश्चिमको धनगढीमा हुनेछ । त्यसका लागि यसअघि नै केन्द्रीय नेताहरुलाई जिम्मेवारी प्रदान गरिसकेको छ ।
अधिवेशनको उद्घाटनका लागि काँग्रेस सभापति शेरबहादुर देउवा बागमती प्रदेशको हेटौँडा पुग्ने कार्यक्रम रहेको छ । साथै उनबाट सम्बोधन हुने कार्यक्रम रहेको छ । बागमती प्रदेशको अधिवेशनको सम्पूर्ण तयारी भइसकेको सो अधिवेशनका संयोजक प्रदीप कोइरालाले जानकारी दिए । सो कार्यक्रम हेटौँडामा रहेको वनविज्ञान अध्ययन संस्थानको कम्पाउण्डमा बिहान ११ बजे हुने बताइएको छ । यस्तै देउवाले सातै प्रदेशको अधिवेशनलाई भर्जुअल माध्यमबाट सम्बोधन गर्ने पनि बताइएको छ ।