बटुवल\ लुम्बिनी प्रदेश सभाले तत्कालीन कृषि, वन तथा वातावरण समितिका सभापति विजयबहादुर यादवले प्रयोग गरेको लु१झ ४४२ नम्बरको गाडी मर्मतमा झण्डै ५ लाख खर्च भएको छ ।
बजार मूल्यभन्दा बढीमा खरिद गरिएको यादव चढ्ने गाडी मर्मतमा आर्थिक वर्ष २०७७/०७८ मा मात्रै ४ लाख ७८ हजार १५० रूपैयाँ खर्च भएको छ । २ वर्ष अगाडि खरिद गरिएको नयाँ ‘लग्जरियस’ टाटा स्टोर्म जीप मर्मतमा अचाक्ली खर्च उठेपछि प्रदेश सभाका कर्मचारी आश्चर्यमा छन् ।
आर्थिक वर्ष २०७६/७७ मा पनि यादव चढ्ने गाडी मर्मतमा ३ लाख ८ हजार ९३६ रूपैयाँ खर्च भएको थियो । ‘अटोमेकानिकल’ व्यवसायीका अनुसार नयाँ गाडी मर्मत गर्न १ वर्षमा ५०/६० हजार रूपैयाँ पर्याप्त हो । जसपाका नेता यादव अहिले पदमुक्त छन् ।
प्रदेश सभाकै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका प्रमुख सचेतक भूमिश्वर ढकाल चढ्ने लु१झ ४५६ नम्बरको गाडी मर्मतमा पनि २ लाख ८६ हजार ३०४ रुपैयाँ खर्च देखाइएको छ । गत आव २०७८/०७७ मा पनि ढकाल चढ्ने सफारी स्टोर्म जीप मर्मतमा ७ लाख ८२ हजार रुपैयाँ खर्च भएको थियो । गत वर्ष ढकालको घरमै राखिएको गाडीमा अज्ञात समूहले विस्फोट गरेको थियो ।
सार्वजनिक लेखा समितिका सभापति डिल्लीबहादुर चौधरी (हाल मन्त्री) डिल्लीबहादुर चौधरी चढ्ने लु१झ ४४१ नम्बरको गाडी मर्मतमा पनि २ लाख ८० हजार ९७९ रुपैयाँ खर्च उठेको छ । सचिवालयका एक कर्मचारी भन्छन्, ‘अस्वाभाविक मर्मतको बिल थेगी नसक्नु भयो । हाम्रो रोक्ने प्रयासले भेट्दैन ।’
प्रदेशसभा सचिवालयका सूचना अधिकारी दिनेश अधिकारीले आर्थिक वर्ष २०७७/७८ मा मात्रै सभामुख, उपसभामुख, विपक्षी दलका नेता, संसदीय समितिका सभापति र सचिव चढ्ने १९ वटा ४ पाङग्रे गाडी मर्मतमा प्रदेश सभाले ३३ लाख ६१ हजार ५९७ रुपैयाँ खर्चिएको जानकारी दिए । अस्वाभाविक बिलमा प्रदेश सभाले पनि मनपरी खर्च गरेको छ ।
कसको गाडी मर्मतमा कति खर्च ?
प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्तीले प्रयोग गर्ने बा१झ ९७२९ नम्बरको गाडी मर्मतमा १ लाख ९४ हजार ३२ रुपैयाँ खर्च भएको छ । घर्तीले नै प्रयोग गर्ने अर्को नयाँ प्र३–०१—००२ झ ५२४४ नम्बरको गाडी मर्मत गर्दा ६४ हजार ७०१ रुपैयाँ खर्च भएको छ ।
कोरोना कहरकै बीच १ करोड रुपैयाँ खर्चिएर सभामुख घर्तीका लागि गाडी गत वर्ष भित्र्याइएको थियो ।
उपसभामुख कृष्णी थारू चढ्ने लु१झ ४४४ नम्बरको गाडी मर्मतमा ४२ हजार ९७८ रुपैयाँ, कांग्रेस संसदीय दलका नेता वीरेन्द्रकुमार कानोडिया चढ्ने लु१झ ४४७ नम्बरको गाडी मर्मतमा ९९ हजार ७५१ रुपैयाँ खर्च भएको छ ।
कांग्रेसकै प्रमुख सचेतक फकरुद्धिन खान चढ्ने लु१झ ४४३ नम्बरको गाडी मर्मतमा १ लाख २८ हजार ५३४ रुपैयाँ, प्रदेश मामिला तथा कानून समितिका सभापति दामाकुमारी शर्मा चढ्ने लु१झ ४४० नम्बरको गाडी मर्मतमा २ लाख ६० हजार ३२४ रुपैयाँ खर्च भएको छ ।
सामाजिक विकास समितिका सभापति दृगनारायण पाण्डे (हाल राष्ट्रियसभा सदस्य) चढ्ने लु१झ ४४५ नम्बरको गाडी मर्मतमा १ लाख ७० हजार ५६६ रुपैयाँ, अर्थ, उद्योग, पर्यटन समितिका सभापति दधिराम न्यौपाने चढ्ने लु१झ ४४९ नम्बरको गाडी मर्मतमा १ लाख ५६ हजार ८०१ रुपैयाँ, भौतिक पूर्वाधार विकास समितिका सभापति आशा स्वर्णकार चढ्ने लु१झ ४४६ नम्बरको गाडी मर्मतमा १ लाख ४१ हजार २२ रुपैयाँ खर्च भएको छ ।
संसदको विशेषाधिकार समितिका सभापति कमलराज श्रेष्ठ चढ्ने लु१झ ४४८ नम्बरको गाडी मर्मतमा २ लाख ११ हजार ४०० रुपैयाँ, जनता समाजवादी पार्टी (जसपा) नेपालका दल नेता सहस्रराम यादव (हाल मन्त्री) चढ्ेको बा२झ १९४८ नम्बरको जीप मर्मतमा १ लाख ७४ हजार ३२८ रुपैयाँ खर्च भएको छ ।
प्रदेश सभाका सचिव दुर्लभकुमार पुन मगरले चढ्ने लु१झ ४६७ नम्बरको गाडी मर्मतमा ३८ हजार ७४० रुपैयाँ, अधिकृत हरिहर पोखरेल चढ्ने लु१झ ४५२ नम्बरको गाडी मर्मतमा १ लाख ८६ हजार रुपैयाँ, तत्कालीन उपसचिव श्याम श्रेष्ठ र बिमला पौडेल चढ्ने बा१झ ६७५७ नम्बरको गाडी मर्मतमा १ लाख ५९ हजार ६७२ रुपैयाँ, कार्यालय प्रयोजनमा प्रयोग गरिएका बा२झ २२८४ नम्बरको गाडी मर्मतमा ९० हजार ६७३ रुपैयाँ र बा१झ ७१९७ नम्बरको गाडी मर्मतमा ९८ हजार ८७५ रुपैयाँ खर्च उठेको छ ।
३ वर्षमा गाडी मर्मतमै करोड खर्च
लुम्बिनी प्रदेशसभा सचिवालयले ३ वर्षमा गाडी मर्मतमै करोड रूपैयाँ खर्च गरेको छ । प्रदेशसभा स्थापना भएयता ९७ लाख ६५ हजार १२० रूपैयाँ खर्च भएको हो । २०७४ माघमा प्रदेशसभा स्थापना भएको थियो । त्यो वर्ष प्रदेश सभासँग खासै गाडी थिएनन् ।
प्रदेश सभाले आर्थिक वर्ष २०७४/०७५ मा ५ वटा गाडी मर्मतमा २ लाख ९९ हजार ९०४ रूपैयाँ खर्चिएको छ । आर्थिक वर्ष २०७५/०७६ मा २३ वटा गाडी मर्मतमा १५ लाख ८६ हजार ६२६ रूपैयाँ खर्चिएको छ भने आर्थिक वर्ष २०७६/०७७ मा ३२ वटा सवारीसाधन मर्मतमा ४५ लाख १६ हजार ९९३ रूपैयाँ र आर्थिक वर्ष २०७७/०७८ मा ३३ लाख ६१ हजार ५९७ रूपैयाँ खर्च गरिएको छ ।
‘टाटाको मर्मम खर्च महंगो छ’
प्रदेश सभाले सचिवालयका गाडी मर्मतका लागि बुटवलका ५ वटा ग्यारेजलाई सूचीकृत गरेको छ । तिनै ग्यारेजमा गाडी मर्मत गरिन्छ । भैरव अटो भिलेज, पोखरेल मोर्टस्, फोर इस्क्वायेर इन्टरनेशलन, अटोभिल्ला र एडभान्स अटोमा गाडी मर्मत गरिन्छ ।
प्रदेश सभाका मेकानिकल सुपरभाइजर सुरजप्रसाद ढकालले प्रदेश सभाले जतिसक्दो सस्तोमै मर्मत गराउन खोजेको बताउँछन् । ‘टाटा स्टोर्म सफारी मर्मत खर्च मंहगो नै छ । यसका पार्टस् पनि महंगो छ । त्यहीँ भएर खर्च बढी देखिएको हो । अस्वाभाविक खर्च चाहीँ होइन,’ ढकालले लोकान्तरसँग भने ।
बजार मूल्यभन्दा ३ लाख ५० हजार बढीमा किनिएका थिए गाडी
प्रदेश सभाले २०७५ मंसिरमा सचिवालयका लागि ११ वटा टाटा स्टोर्म गाडी खरिद गरेको थियो । बजार मूल्य ६८ लाख ५५ हजार रुपैयाँ रहे पनि सचिवालयले ७१ लाख ९४ हजार ९९९ रुपैयाँका दरले खरिद गरेको थियो ।
खरिदमा अनियमितता भएको सार्वजनिक भएपछि प्रदेशको सार्वजनिक लेखा समितिले छानबिन गर्दा प्रतिगाडी ३ लाख ४० हजार रुपैयाँ बढी दिएको ठहर गरेको थियो । अहिले तिनै टाटाका गाडीको मर्मत खर्च अचाक्ली बढी देखिएको हो ।
‘जनताको करबाट उठेको रकमको होली खेल्नबाट रोक्नुपर्छ’
सुशासनविद् खेमराज रेग्मीले मर्मतको नाममा भएको फजुल खर्चमा बन्देज लगाउन सार्वजनिक लेखा समितिले छानबिन गर्न आवश्यक रहेको बताए तर अहिले प्रदेश सभामा सार्वजनिक लेखा समिति छैन । ‘जनताको करबाट जम्मा भएको राज्यकोषको रकम होली खेल्नबाट रोक्नुपर्छ,’ रेग्मीले लोकान्तरसँग भने, ‘नागरिक स्तरमा यस्ता विषयहरू ल्याउनुपर्छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि जाँचबुझ गर्नुपर्छ ।’ यस्ता गतिविधिले प्रदेश सरकार र संघीयताप्रति नै जनताको वितिष्णा पैदा गराउने रेग्मीले बताए । लुम्बिनीमा नयाँ सरकार बनेपछि संसदीय समिति निष्क्रिय बनेका छन् ।लोकान्तर