२४ बैशाख २०८२, बुधबार

संसदको हिउँदे अधिवेशनको मुख्य कार्यसूची एमसीसी !
  • न्युज मानसराेवर

काठमाडौँ\ राष्ट्रपति विद्यादेवी भण्डारीले मंसिर २८ गतेदेखि शुरू हुने गरी संघीय संसदको हिउँदे अधिवेशन आह्वान गरेकी छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले बिहीवार संसदको अधिवेशन आह्वान गरेकी हुन् ।

सरकारको सिफारिसमा राष्ट्रपतिबाट ६ अध्यादेश जारी गरेको भोलिपल्ट संसदको अधिवेशन आह्वान गरिएको हो । यसअघि साउन ३० गते पुनःस्थापित प्रतिनिधि सभाको पहिलो अधिवेशन अन्त्य गरेर सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएको थियो ।

कात्तिक १२ गते प्रतिनिधि सभाको अधिवेशन अन्त्य गरेर सरकारले त्यसको १ महिनापछि अधिवेशन आह्वान गर्न सिफारिस गरेको छ । मंसिर २८ गते शुरू हुने अधिवेशनको मुख्य कार्यसूची अमेरिकी आर्थिक सहयोग कार्यक्रम एमसीसी अनुमोदन हुने रहेको सत्तारुढ दलनिटक स्रोतले लोकान्तरसँग भन्यो ।

एमसीसीबारे सत्तारुढ दलहरूबीच विवाद छ । नेपाली कांग्रेस र जनता समाजवादी पार्टी एमसीसी अनुमोदनको पक्षमा छन् भने नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा एमसीसी अनुमोदन गर्न नहुने पक्षमा छन् ।

सत्तारुढ दलभित्रै मतभेद रहेको भन्दै नेकपा एमाले एमसीसीबारे अनिर्णित छ।यद्यपि एमाले अध्यक्षमा पराजित भीम रावललगायत केही सांसदले एमसीसीको विरोध गर्दै आएका छन् । दलहरूबीचको मतभेदकै कारण एमसीसी लामो समयदेखि प्रतिनिधि सभामा विचाराधीन
छ ।

संयुक्त राष्ट्रसंघको महासभाका दौरान र हालै मात्र नेपाल भ्रमणमा आएका अमेरिकी सहायक मन्त्रीको नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले संसदबाट एमसीसी अनुमोदन गर्ने प्रतिबद्धता जनाएका थिए ।

मंसिर ३ गते अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटमा एमसीसी अनुमोदनका लागि डिसेम्बर १४ अर्थात् मंसिर २८ गतेसम्मको समय दिएका थिए । संयोगले संसदको अधिवेशन सोही दिन प्रारम्भ हुँदैछ ।

‘मंसिर दोस्रो साताबाट संसदको हिउँदे (विधेयक अधिवेशन) बोलाउने परम्परा नै हो, यो सदनको मुख्य कार्यसूची एमसीसी हुने प्रबल सम्भावना छ,’ सत्तारुढ दलका एक नेताले भने । बुधवार अध्यादेश जारी गरेर बिहीवार प्रतिनिधि सभाको अधिवेशन बोलाउनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । नेकपा एमाले र नेपाली कांग्रेसको महाधिवेशनका कारण संसदको अधिवेशन ढिलो गरी शुरू हुन लागेको हो ।

माधव नेपाललगायत १४ सांसदलाई पदमुक्त गर्न गरिएको सिफारिस कार्यान्वयन नगरेको भन्दै एमालेले यसअघि प्रतिनिधि सभाको सिंगो अधिवेशन अवरुद्ध गरेको थियो । भदौ २६ गतेदेखि शुरू भएको प्रतिनिधि सभाको अधिवेशन कात्तिक १२ गते अन्त्य गरिएको थियो ।

  • १६ मंसिर २०७८, बिहीबार प्रकाशित

  • Nabintech