२७ बैशाख २०८२, शनिबार

गृहमन्त्रीको ‘रजगज’ तोडेर कांग्रेस लुम्बिनीको सभापतिमा उदाएका रोल्पाली पुन
  • न्युज मानसराेवर

बुटवल\ नेपाली कांग्रेस लुम्बिनी प्रदेशको सभापतिमा अम्मरसिंह पुन मगरले बाजी मारेका छन् । रोल्पाली पुन राष्ट्रिय छवि बनाउँदै कांग्रेस लुम्बिनीको पहिलो सभापतिका रूपमा उदाएका हुन् ।

केन्द्रीय राजनीतिबाट प्रदेशमा झरेका रुपन्देहीका भरतकुमार शाह पुनसँग पराजित भए । अब लुम्बिनी प्रदेशमा कांग्रेसको राजनीति पुनले हाँक्नेछन् ।

राज्यशक्तिको प्रयोग गरेर प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणले अगाडि सारेका शाहको विकट ग्रामीण जिल्ला रोल्पामा सशस्त्र द्वन्द्वकालमा माओवादीसँग पौँठेजोरी खेलेर कांग्रेसको राजनीति गरेका पुनसँग केही चलेन ।

गृहमन्त्रीको रजगजलाई भत्काउन पुन सफल भए । रुपन्देहीबाट लगातार तीनपटक निर्वाचन जितेका राजनीतिक खेलाडी शाहलाई जिताउन गृहमन्त्री खाँण रूपन्देहीमै केही दिनदेखि अड्डा जमाएर बसेका थिए ।

पुन समूहको उत्साहजनक नतिजाले गृहमन्त्री खाँण र उनको समूहले ठूलो धक्का महशुस गरेको छ । जनतासँग लोकप्रिय नेता पुन लुम्बिनीका कांग्रेसका आशा लाग्ने नेतामा पर्ने कांग्रेस युवा नेताहरू बताउँछन् ।

संस्थापनइतरका पुन कांग्रेसको कोइराला परिवारनिकट नेता हुन् । मुलुकमा संघीयता कायम भएको ४ वर्षपछि पहिलोपटक प्रदेश संरचनामा गएको कांग्रेसको प्रदेश सभापतिको कुर्सी ५१ वर्षीय पुनका लागि सुरक्षित भएको छ ।

उनी शुरूदेखि नै संस्थापनइतर पक्षबाट प्रदेश सभापतिका साझा उम्मेदवार थिए । उनी जातीय संकीर्णतामा कहिल्यै लागेनन् । जातभन्दा राष्ट्रलाई अगाडि राखेर राजनीति गरेकाले कांग्रेसमा मात्र नभई बाहिर पनि लोकप्रिय छन् । उनको जीतले कांग्रेसमा नयाँ बहस सिर्जना गरेको छ ।

निर्वाचित भएपछि लोकान्तरसँग संक्षिप्त कुराकानी गर्दै पुनले भने, ‘कांग्रेसलाई केन्द्रविन्दुमा राखेर मैले काम गर्छु । निर्वाचनमा गएपछि समूहगत उम्मेदवारी स्वाभाविक जस्तै हो । मैले कसैलाई काखा कसैलाई पाखा गर्दिनँ । अबको मेरो ध्यान कांग्रेसलाई लुम्बिनीमा बलियो बनाउँदै संघारमै आउन लागेको स्थानीय, प्रदेश र संघीय निर्वाचनमा कांग्रेसलाई सबै क्षेत्रमा जिताउने गरी पार्टी संगठनलाई बलियो बनाउँदै अगाडि बढ्छ ।’

लुम्बिनीमा कांग्रेसलाई बलियो बनाउने आफ्नो ध्येय रहेको उनले बताए ।

को हुन सभापति पुन ?

उनी रोल्पाको गंगादेव गाउँपालिका वडा नम्बर ७ रोक भन्ने ठाउँमा २०२७ जन्मिएका हुन् । २०४८ सालदेखि कांग्रेसको राजनीतिमा लागेका पुन पार्टीका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री स्व. सुशील कोइरालाको छत्रछायाँमा हुर्किए । कांग्रेस विभाजन हुँदा उनी संस्थापन पक्षमै रहे ।

रोल्पामा माओवादीको शसस्त्र द्वन्द्वकालमा पनि उनले जिल्लामा सक्रिय राजनीति गरे । निर्माण व्यवसायसँगै राजनीति गर्ने पुनका निर्माण सामग्रीहरू माओवादीले जलाइदिनेसम्मको काम गरेपछि पुन रोल्पाबाट विस्थापित भएर कहिले काठमाडौं त, कहिले नेपालगञ्ज बस्न थाले । मुलुकमा शान्ति सम्झौता भएपछि उनी पुनः गृहजिल्ला रोल्पा फर्किएर कांग्रेसको सक्रिय राजनीतिमा होमिए ।

जिल्ला फर्किएपछि उनी २०६७ मा रोल्पा कांग्रेसको पार्टी सभापतिमा लडे पनि तीर्थ घर्तीसँग पराजित हुन पुगे । २०७० मा उनी समानुपातिकबाट संविधान सभा सदस्य भएर सांसद् छिरे ।

संविधान सभा सदस्यसँगै उनलाई सिञ्चाइ राज्यमन्त्री भएर काम गर्ने अवसर पनि पार्टीले दियो । संविधान सभा सदस्य हुँदै गर्दा कांग्रेस विधान मस्यौदा समितिको सदस्यमा रहेर पनि काम गरेको अनुभव पुनसँग छ ।

मानबहादुर खत्रीलाई पराजित गर्दै २०७२ मा रोल्पा कांग्रेस सभापति बने । उनी २०७४ मा संघीय संसद्को निर्वाचन लडे । माओवादी केन्द्रका प्रभावशाली नेता चिरप्रतिद्वन्द्वी वर्षमान पुन ‘अनन्त’सँग चुनाव लडेका पुनले २० हजारभन्दा बढी मत ल्याए पनि जित निकाल्न भने सकेनन् ।

रोल्पामा २० हजार मत ल्याउनु ठूलो कुरा रहेको बताउँछन् कांग्रेस रोल्पाका सचिव शेरबहादुर थापा । ‘उहाँ रोल्पाजस्तो ठाउँमा द्वन्द्वकालमा माओवादीसँग लडेर कांग्रेसको राजनीति गर्नुभएको हो । अब उहाँको राजनीतिक भविष्य उज्ज्वल छ । उहाँ सफल नेता हो । सबैसँग मिलेर काम गर्नुहुन्छ,’ थापाले लोकान्तरसँग भने ।

लुम्बिनी प्रदेश विभाजनविरूद्ध उनी आन्दोलनमा होमिँदै अखण्ड लुम्बिनी प्रदेश आन्दोलनमा पनि सक्रिय रहे । पुनले कांग्रेसलाई गोलबन्द गर्दै आफू अगाडि बढ्ने बताए । पार्टीको नीति कार्यक्रम र विचार बृहत विमर्श गर्न प्रदेश नीति अधिवेशन आयोजना र पार्टी स्कूल आफूले सञ्चालन गर्ने योजना अगाडि बढाउने बताए ।

कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत रोल्पाका वडा, पालिका र क्षेत्रका सबै तहमा पुन निकट नेता कार्यकर्ताहरू सर्वसम्मत रूपमा चुनिएका छन् । जिल्लाका पुनको राम्रो प्रभाव रहेको रोल्पाका पत्रकार कविता उपाध्यायले बताइन् । उपाध्यायले जनतासँग सधैँ निटक रहने पुनको स्वभाव रहेको बताइन् । पुनका प्रतिष्पर्धी शाह रूपन्देहीबाट तीनपटक निर्वाचित सांसद हुन् । शाह अहिले पनि संसद्को सार्वजनिक लेखा समितिका सभापति हुन् ।

सभापतिमा पुनसँगै उनको प्यानलको जीतले लुम्बिनीमा संस्थापनइतर पक्षलाई ठूलो राहत मिलेको छ । गृहमन्त्री बालकृष्ण खाँणलाई भने धक्का लागेको छ । लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये ९ जिल्लाको नेतृत्व पौडेल समूहले हात पारेको छ । देउवा समूहले रूपन्देही र बर्दिया मात्र जितेको छ । बाँकीको निर्वाचन हुन सकेको छैन ।

  • २० मंसिर २०७८, सोमबार प्रकाशित

  • Nabintech