बाँके बैजनाथ , माघी नजिकिएसँगै थारु समुदायमा यसको तयारी सुरु भएको छ।
माघी थारू समुदायको सबैभन्दा ठूलो पर्व हो। पर्वको तयारीका लागि खाद्यान्नको जोहो गर्ने, दुना टपरी बनाउने, जंगल गई दाउरा संलन गर्ने, तोरीको तेल पेल्ने, घर लिपपोत तथा घरआँगन सरसफाइलगायतका कार्यहरू धमाधम भइरहेको बैजनाथ गाउँपािलका वडा न ५ का वडा प्रतििनिध स्थानीयवासी नारायण थारूले बताए।
‘माघीमा विशेष गरी बंगुरको मासु, माछा, घोंगी, गंगटोलगायत खानाका पकवानहरू खाने चलन रहिआएकाले दाजुभाइहरू त्यसको खोजीमा जुटेका छन्’, उनले भने।
विशेषरी समुदायमा पुरुषहरू माघीका लागि मासुको जोहो गर्न व्यस्त छन् भने महिलाहरूलाई घर लिपपोत गर्न, दुना टपरी बनाउनका साथै जाँड, ढिक्री, रोटीलगायत तयार गर्न भ्याइनभ्याइ छ।
थारु समुदायले यो पर्वलाई नयाँ वर्षको रूपमा मान्ने भएकाले आफ्ना परिवारका लागि नयाँ–नयाँ लुगाकपडा किन्न स्थानीयवासी गाउँबाट टाढाटाढाका सहरबजार जान थालेका छन्।
रोजगारीका लागि बाहिरिएकाहरू पर्व मनाउनका लागि घर फर्कन थालेका छन्।
माघीमा पाहुना धेरै जम्मा हुने भएकाले उनीहरूको स्वागतका लागि थरीथरीका स्थानीय खानाका पकवान पकाउन स्थानयवासी व्यस्त देखिन्छन्।
पुस अन्तिम दिनबाट सुरु भई माघ २ गतेसम्म उल्लासपूर्वक मनाइने माघी पर्वमा पुसलाई बिदाइ गर्दै माघ १ अर्थात् नयाँ वर्षलाई स्वागत गर्नका लागि रातभर नाचगान गरेर जाग्राम बस्ने चलन रहेको थारू अगुवा बताउँछन्।
थारू समुदायको मुख्य पर्व भएकाले तामझामका साथ मनाउने तयारी भइरहेको बैजनाथ गाउँपालिका वडा न ७ का अध्यक्ष सिताराम थारूले बताए।
‘माघे सङ्क्रान्तिका दिन विशेषगरी थारु समुदायमा बिहानै उठेर नजिकैको नदी तलाउमा गई नुवाइधुवाइ गरी आफूभन्दा ठूलाबाट आशीर्वाद लिने गरिन्छ,’ उनले भने, ‘आशीर्वाद लिइसकेपछि घरमा अलग्गै छुट्याएर राखिएको चामल, नुन, तेल र बेसारलगायतका खाद्यान्न छुने र छुट्याइएका ती चिजहरू घरका छोरीबेटीलाई दिने परम्परा रहिआएको छ।’
पश्चिम नेपालको तराईका थारु समुदायको सबैभन्दा ठूलो पर्वका रूपमा मनाइने यो पर्वमा विशेषगरी अनदी चामलको भातरोटी, ढिक्री, बरिया, घोंगी, सुँगुरको मासु, माछा, गंगटोलगायतका स्थानीय खानाका पकवान खाने चलन छ।
त्यस्तै माघी मनाउन हरेक वर्ष गाउँगाउँमा मेला तथा महोत्सवको आयोजना गर्ने गरेको भए पनि यस वर्ष भने कोरोनाको सङक्रमणका कारण खासै मेला महोत्सवको तयारी खासै गरिएको देखिँदैन।