६ बैशाख २०८१, बिहीबार

मगन्तालाई सूचीकृतका लागि पहल गर्छु : विजय गुप्ता
  • न्युज मानसराेवर

बाँके बैजनाथ । राष्ट्रिय मधेसी आयोगका सदस्य विजय गुप्ताले अल्पसंख्यक रुपमा रहेका मगन्तालाई सूचीकृत गर्न सरकारलाई सिफारिस गर्ने प्रतिवद्धता जनाएका छन् । अन्य अल्पसंख्यक, सीमान्तकृत समुदाय सूचीकृत भए पनि मगन्ता समुदाय अझैँ सूचिकरणमा नपर्नु विडम्बना भएको बताउँदै उनले सूचीकृतका लागि छिट्टै सिफारिस गर्ने आश्वासन दिए ।

आयोगको सदस्य भए बापत राज्यबाट पाएको सेवा, सुविधाले खरिद गरेको सामग्री डुडुवा गाउँपालिका–६, मगन्ता टोलका सर्वसाधारणलाई प्रदान गर्दै उनले राज्यबाट पाउने एक रुपैँया पनि ब्यक्तिगत हितमा खर्च नगर्ने स्पष्ट पारे ।

‘राष्ट्रिय मधेसी आयोगको सदस्य भए बापत पाउने सम्पूर्ण रकम मधेसी जनताको बृहत्तर हितमा खर्च गर्ने छु । यो मेरो पहिलो सुरुवात हो । हरेक महिना पछाडी परेका मधेसी समुदाय र समस्यामा परेका समुदायको आवश्यकता अनुसार सामग्री खरिद गरि प्रदान गरिने छ,’ उनले भने ।

उनले पहिलो महिनाको रकमबाट मगन्ता टोलका एक सय २५ परिवारलाई प्लाष्टिकको एक–एक थान बाल्टी, मग र झुल प्रदान गरेका छन् । उनले आगामी दिनमा पनि थप सहयोग गर्ने प्रतिवद्धता जनाए ।

सामग्री वितरण कार्यक्रममा डुडुवा गाउँपालिका वडा नं. ६ ले आयोगका सदस्य गुप्तालाई सम्मान गर्नुका साथै बधाई दिएको थियो । वडा अध्यक्ष मोहनराम मिश्रको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला विकास समितिका पूर्व सभापति पशुपति दयाल मिश्रले मगन्ता समुदाय शिक्षा, स्वास्थ्य, रोजगार लगायतबाट बञ्चित भएको बताउँदै सूचीकृतका लागि पहल गरिदिन आयोग सदस्य गुप्तासँग आग्रह गरे ।

‘अन्य समुदाय सूचिकरणमा परेर राज्यबाट सेवा सुविधा पाइरहेका छन् । मगन्ता समुदाय सूचिकरणमा नपरेर सेवा सुविधाबाट बञ्चित हुँदा झन–झन गरिव भइरहेका छन्,’ उनले भने ।

  • ११ फाल्गुन २०७७, मंगलवार प्रकाशित

  • Nabintech