काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले आज विश्वासको मत लिने भएका छन्। प्रधानमन्त्री देउवाले आज अपराह्न ४ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिन लागेका हुन्।
सर्वोच्च अदालतले २८ असारमा पुनर्स्थापना गरेको प्रतिनिधि सभाको पहिलो बैठक आज बस्दै छ।
देउवा निकट स्रोतले विश्वासको मत लिनका लागि कार्यव्यवस्था परामर्श समितिमा कानुम मन्त्रालयले पत्र पठाउने तयारी गरेको जनाएको छ। ‘प्रधानमन्त्रीजी आजै विश्वासको मत लिने निर्णयमा पुग्नुभएको छ। त्यही अनुसार तयारी अघि बढेको छ’, स्रोतले भन्यो।
यस्तै कांग्रेस सांसद् मीन बिश्वकर्माले संसदीय दलको बैठक र प्रतिनिधि सभा बैठकमा सबै सांसदलाई अनिवार्य उपस्थित हुन कांग्रेसले ह्विप जारी गरिएको जानकारी दिए।
संविधानको धारा ७६ (५) अनुसार नियुक्त प्रधानमन्त्रीले नियुक्तिको ३० दिनभित्र प्रतिनिधि सभामा विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। सोही प्रावधान अनुरुप देउवाले आज विश्वासको मत लिने स्रोतले बताएको छ।