टोकियो — विश्व खेलकुदकै महाकुम्भको रुपमा चर्चित ओलम्पिक गेम्सको ३२ औं संस्करणको उद्घाटन समारोह टोकियोस्थित ओलम्पिक रंगशालामा नेपाली समयअनुसार पौने ५ बजे सुरु भएको छ । आतिसबाजी र जापानी संस्कृति प्रदर्शनसँगै प्रविधिको प्रयोगबाट समारोहलाई भव्य बनाइएको छ ।
जापानको राष्ट्रिय गानसँगै सुरु भएको उद्घाटन समारोहमा जापानी सांस्कृतिक झाँकी र ओलम्पिकमा आवद्ध खेलसम्बन्धी कला प्रदर्शन गरेका छन् । ६८ हजार दर्शक क्षमताको रंगशालामा कोरोनाभाइरसको महामारीको कारण उद्घाटन समारोहमा करिब एक हजार भीआईपीको मात्रै उपस्थिति रहेको छ । यो ओलम्पिकमा २०४ देश र शरणार्थी टिमका ११ हजार बढी खेलाडी सहभागी छन् । सहभागी देशका खेलाडी र अफिसियलहरूको मार्चपास सुरु भइसकेको छ । इकान्तिपुर