कोरोनाले काम बन्द भएपछि पाँच जनाको परिवारलाई खान, लाउन समस्या पर्यो । गाउँकै चिनजानकै दिदी नाता पर्नेले भारतमा काम पाइन्छ भनिन् । चार महिनाअघि बुबाआमाको सहमतिमै ती किशोरीलाई दिदीले लगिन् ।
उत्तर प्रदेशको उन्नाउ सहरको एक मासु कम्पनीमा आठ हजार भारतीय रुपैयाँ मासिक पारिश्रमिक पाउने मौखिक सर्तमा उनले काम गर्न थालिन् । काटेको मासु प्याकिङ गर्ने काम गर्दैगर्दा उनी बिरामी परिन् । थला परेपछि घर र बुबाआमाको सम्झनाले सतायो । तर कम्पनीले छुट्टी दिएन । ‘परिवारमा कमाउने कोही थिएनन्, त्यसैले काम नगरी सुख भएन । काम गर्दागर्दै बिरामी परेर थला परें,’ शान्ति पुनःस्थापना गृह बाँकेले भारतको उन्नाउबाट उद्धार गरेपछि शुक्रबार नेपालगन्ज आइपुगेकी ती किशोरीले भनिन्, ‘बिरामी पर्दा पनि काम गर्नै पर्थ्यो, आराम गर्न पाइँदैनथ्यो ।’ उनी सन्चो भएको जस्तो देखिँदैनथ्यो । ‘दुई दिन काम गरेको पाँच सय भारु पाउँथ्यौं । दिनभरि काम गरेर राति १२ बजे बल्ल सुत्न पाइन्थ्यो,’ उनले भनिन् ।
कैलालीकी ती किशोरीको जस्तै अवस्था बर्दिया राजापुरकी १७ वर्षीयाको पनि छ । उनी गाउँकै विद्यालयमा कक्षा ५ मा पढ्दै थिइन् । कोरोना महामारी बढेसँगै विद्यालय बन्द भयो, पढाइ छुट्यो । उनका बुबाआमाले समेत काम पाएनन् । सबैको भोकै मर्ने अवस्था देखेपछि उनले भारत जाने निर्णय गरिन् र गाउँकै दिदी नाता पर्नेसँग भारत पुगिन् । घरकी एक्ली छोरी, उनी राम्रोसँग नेपाली बोल्नसमेत जाँन्दिनन् । ‘दिनभरि उभिएर मासु प्याकिङ गर्दा घुँडा धेरै दुख्थ्यो,’ उनले भनिन्, ‘सुरुसुरुमा त काम गर्न नसक्दा मालिकको धेरै गाली खानु पर्यो ।’ थकान अझै उनको अनुहारमा देखिन्छ ।
यसैगरी भारत पुगेकी कैलालीकी १८ वर्षीया अर्की किशोरीको भोगाइ भने फरक छ । कोरोना महामारी सुरु भएसँगै कामविहीन भएर बस्नुपर्दा उनी दिक्क थिइन् । त्यसमाथि बुबाले पनि नराम्रो व्यवहार गर्न थाले । एक दिन बुबाले ‘काम केही छैन, बसी बसी खाएकी छे’ भन्दै हात छोडेपछि उनले भारत जाने निधो गरिन् । उनको ८ जनाको परिवार छ । ‘कमाउने बुबा रक्सीमा रमाउँथे । आमालाई पिट्थे । मलाई नि घरमा बसेर खान्छेस् भनेर गाली गर्नु हुन्थ्यो,’ १८ वर्षीया ती किशोरीले भनिन्, ‘आमालाई घर चलाउन मद्दत होला भनेर घरको सल्लाहले कमाउन गएकी हुँ ।’
उनी कक्षा १० मा पढ्दै थिइन् । गत पुस ६ गते गाउँकै दिदीसँग भारतको रुपैडिया बजार घुम्न जाने भन्दै उनी उन्नाउ पुगेकी थिइन् । त्यहाँ उनले कम्पनीमा काम गरेर मासिक सात हजार पाउँथिन् । ‘यसरी लुकेर भारत जान हुँदैन भन्ने थाहा पनि भएन,’ उद्धारपछि नेपालगन्ज आउन सफल भएकी उनले भनिन्, ‘काम नगरी त सुख छैन । अब गाउँमै केही काम खोज्नुपर्ला ।’
कक्षा १० मा पढ्दै गरेकी कैलालीकी १८ वर्षीया अर्की किशोरी आफ्नै काकीसँग भारत पुगेकी थिइन् । ६ महिनाअघि भारत पुगेकी उनले कमाएर हालसम्म ८ हजार रुपैयाँ घर पठाएको बताइन् । ‘काम त कति गरें गरें, थकाइ मार्न आधा घण्टा शौचालयमा बस्थें,’ उनले भनिन्, ‘काम गर्दा घुँडा दुखेर झर्लाझैं हुन्थ्यो । भारत जाने रहर थिएन, बाध्यताले पुगियो ।’ लकडाउनले पढाइ छुटेपछि उनी भारत पुगेकी थिइन् । ‘लकडाउनपछि पढाइ भएन । घरमा खाली बसेकी थिएँ, त्यसैले घरलाई केही सहयोग पुग्ला भनेर भारत गएकी हुँ,’ उनले भनिन् ।
शान्ति पुनःस्थापना गृह बाँकेले भारतको उन्नाउबाट शुक्रबार चारै किशोरीलाई उद्धार गरेको हो । दुई जना किशोरीका अभिभावकले उद्धारका लागि आग्रह गरेपछि उनीहरूको उद्धार गरिएको क्षेत्रीय संयोजक भूमिराज भट्टराईले बताए । ‘ती नानीहरूको बस्ने ठाउँमा मान्छे बस्ने अवस्था थिएन । एउटा कोठामा २० जना किशोरीलाई राखिएको थियो,’ उनले भने । बाल श्रम शोषण पनि बेचबिखनको परिभाषामा समेटिएकाले मानव बेचबिखनको मुद्दा उक्त घटनामा आकर्षित हुने उनको तर्क छ । कोरोना महामारीका कारण अहिले पनि नेपाल–भारत नाका पूर्णरूपमा खुला भइसकेको छैन । तर अनेकौं बहाना बनाएर नाका पार गर्नेहरू उत्तिकै छन् । संस्थाले चैतयता मात्र जोखिम यात्रामा रहेका ६३ जना महिला तथा बालिकाको उद्धार गरेको जनाएको छ । इकान्तिपुर बाट साभार