कतिपयलाई अतिरञ्जित लाग्न सक्ला। कसैमाथिको आक्रोश पोख्न यसरी प्रस्तुत भएको आरोप पनि लाग्न सक्ला। नेपाली कांग्रेसको वर्तमान केन्द्रीय समितिसँग पूर्वाग्रही भएर शीर्षक चयन गरिएको हो भन्ने पनि कतिपयले सोच्लान्। कांग्रेसका पदाधिकारीहरुलाई दोषी देखाउन खोजिएको हो भन्ने पनि त्यत्तिकै भेटिएलान्। अझ यो अरु कसैलाई आरोप लगाएको होइन, पार्टी सभापतिलाई कमजोर देखाउन यस्तो आह्वान गरेको हो भन्ने पनि पाइएलान्। कसैकसैले पंक्तिकारलाई दुराग्रही पनि भन्लान्। कुनै एउटा गुटको पक्षधर भएर संस्थापन पक्षलाई आरोपित गर्ने प्रयास हो भन्ने आलोचना पनि हुन सक्ला।
तर त्यस्तो केही होइन। यो आम लोकतन्त्रवादीको चाहना हो। सयौं सहिदहरु, जनआन्दोलनका हजारौं घाइते र प्रजातान्त्रिक तथा गणतान्त्रिक आन्दोलनमा सरिक भएर रगतपसिना बगाएकाहरुको प्रतिनिधि आवाज हो। ज्यानको पर्वाह नगरेर नागरिक अधिकारका लागि सडकमा उत्रिएका, जेलनेल भोगेका र जागिरको आशासमेत मारेर संघर्षमा होमिएका पेसाकर्मीहरुको साझा बोली हो। लोकतन्त्रमा मात्र देश र जनताको समृद्धि सम्भव छ भन्ने विचार राख्नेहरुको आमआग्रह हो।
कांग्रेस बाँच्नै किन पर्छ भन्ने प्रश्न पनि आउला। अरु दल फुट्दा हुन्छ। कतिपय दलहरु विघटन हुँदा पनि फरक परेको छैन। कत्रो तामझामका साथ एक भएका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले गठन गरेको नेपाल कम्युनिस्ट पार्टी तहसनहस भयो। करिब दुई तिहाइ शक्ति भएको यो पार्टी फुट्दा के बिग्रेको छ र कांग्रेस नहुँदा के फरक पर्छ भनी सोच्ने पनि होलान्। जसपाको मिलन र विग्रहको कुनै महिना वा बार छैन तैपनि देश र जनतालाई के असर परेको छ र कांग्रेस रहनै पर्दछ भन्ने पनि के छ र भन्ने पनि होलान्।
प्रजातान्त्रिक जनआन्दोलन र गणतान्त्रिक जनआन्दोलन गरेर नेपालमा ठूलाठूला तीनवटा जनआन्दोलन भए। यी तीनवटै जनआन्दोलनको नेतृत्व गर्ने अन्य कुनै दल जन्मिएन। सत्याग्रहजस्ता अन्य थुप्रै आन्दोलनहरु भए लोकतन्त्रका लागि र ती आन्दोलन एक्लैले गर्न कांग्रेस बाध्य भएको थियो। २०३७ को जनमत संग्रहमा त अन्य राजनीतिक दलहरुको सहयोग नपाएको मात्र होइन, नीलोमा मत हाल्ने कांग्रेस मात्र एउटा पार्टी थियो। पञ्चहरुले चौबीस लाख भोट पाउँदा पञ्चायतको विरुद्धमा बीस लाख नेपाली छन् भनेर देखाउने एउटै मात्र पार्टी नेपाली कांग्रेस थियो। अर्थात् नेपालमा लोकतन्त्रको बिउ जोगाएर राख्नका लागि कांग्रेस नै चाहिन्छ, त्यसैले कांग्रेस बचाऊ भन्ने आग्रह गर्नुपरेको हो।
नेपाली कांग्रेस बाँच्न दुइटा काम हुनैपर्दछ। पहिलो, यही भदौ २३ गतेभित्र चौधौं महाधिवेशन। दोस्रो, पार्टी सभापति शेरबहादुर देउवाको प्रधानमन्त्रीत्वमा गठित सरकारले जनप्रिय काम। केपी ओलीले ध्वस्त पारेको लोकतान्त्रिक वातावरण र संवैधानिक परिपाटीलाई सबल बनाउन यो सरकारले सकेन भने ओलीका गल्तीका दोषहरुको पनि भागीदार बन्नुपर्ने हुन्छ। नेपाली जनताले अघिल्लो सरकारको गल्तीलाई पछिल्लो सरकारमा हस्तान्तरण गर्ने गरेका छन् भन्ने हेक्का राख्नुपर्छ। अझ त्यसमाथि पनि कम्युनिस्ट सरकारलाई र पार्टीलाई गल्ती गर्ने छुट दिने गरेका छन् र नेपाली कांग्रेसलाई कुनै गल्ती गर्ने छुट दिँदैनन् भन्नेमा पनि ध्यान पुर्याउन सक्नुपर्छ।
नेपाली कांग्रेसको केन्द्रीय समितिमा युवाहरुको बाहुल्य हुनुपर्छ भन्ने माग उठेको धेरै भइसक्यो। निरन्तरको आवाजका कारण अहिलेको कांग्रेस केन्द्रमा युवाको संख्या पर्याप्त छ। राष्ट्रिय मापदण्डका युवा होइनन् कि कांग्रेसभित्रका युवा। नेपाली कांग्रेस महाधिवेशन नभएका कारण गम्भीर संकटमा पर्ने अवस्था आइसक्यो। युवाको बाहुल्य भएको केन्द्रीय समितिले समयमै महाधिवेशन गर्न दबाब सिर्जना गर्न किन सकेन भनेर प्रश्न उठ्न थालेको छ। यस्तै मौन युवा आगामी केन्द्रमा पुग्ने हो भने कांग्रेसको भावी दिन कस्तो होला भन्ने जिज्ञासा उठेको छ।
बूढा भनेर अभिभावकको भूमिकामा रहन कतिपयले आग्रह गर्ने गरिएका वरिष्ठ नेता रामचन्द्र पौडेल भने निरन्तर कराइरहेको सुनिन्छ। कहिले महाधिवेशन समयमै गर्न आवाज उठाउँछन् त कहिले अब महाधिवेशन नगर्ने हो भने यसो गरौं भन्दै पार्टी बचाउन विकल्पको प्रस्ताव गर्ने गर्दछन्। एक प्रकारको चिन्तन गरिरहन्छन् पार्टीको समुत्थानका लागि। उनका साथै केही युवाले पनि कहिले कता महाधिवेशन गर्नुपर्यो भनेर बोलेको त सुनिन्छ जुन आवाज सशक्त हुन सकेको पाइँदैन। यीबाहेक पार्टी सभापतिलाई निरन्तर घच्घच्याउने नेतामा डा. शेखर कोइराला देखिएका छन्। डा. कोइरालाका विचार सुन्दा उनी शेरबहादुर देउवाको कट्टर विरोधी जस्तो देखिए पनि उनका भनाइ नितान्त कांग्रेस बचाउन अभिप्रेरित भएको पाइन्छ।
रामचन्द्र र शेखरजस्तै महाधिवेशन गर्नका लागि कांग्रेस केन्द्रमा रहेका सबै युवा भनिएका एकजुट भएर लाग्ने हो भने यही भदौमा सम्पन्न हुन नसक्ने अवस्था छ र? छिटफुट एक्लाएक्लै बोल्ने गरेका केही युवाका आवाज आकाशमा त्यसै विलीन भइरहेको छ। ती युवा एकत्रित भएर नेतृत्वलाई महाधिवेशनका लागि बाध्य बनाउने अभियानमा लाग्न असम्भव छ र ? उद्योग वाणिज्य महासंघको महाधिवेशन कोरोना महामारीकै बीचमा गत वर्ष सम्पन्न भएको थियो। वित्तीय कर्मचारीको अधिवेशन भर्खरै समुद्घाटन भएको छ। कोरोना महामारीलाई देखाएर सार्नुपर्ने कुनै कारण छैन।
मान्छेको ज्यानभन्दा ठूलो केही छैन। कांग्रेसका महाधिवेशन एक वर्ष सारेर केही बिग्रंदैन, कार्यकर्ताको जीवन पहिलो महत्त्वपूर्ण हो भन्ने धारणा पर्याप्त मात्रामा आउन थालिसकेका छन्। यही बीचमा महामन्त्री डा. शशांक कोइरालाले महाधिवेशन मंसिरमा सर्छ भनेर नवलपरासीमा बोलेपछि त भदौमा नहुनेमा सबै ढुक्क भइसकेका छन्। इच्छाशक्ति हुने हो भने भदौमै गर्न नसकिने कुनै अवस्था छैन र महाधिवेशन प्रतिनिधिलाई सुरक्षित राखेरै पनि सम्भव छ। प्रश्न कांग्रेसलाई कता लैजाने भन्ने मात्रै हो।
नेपाल विद्यार्थी संघको महाधिवेशन नभएरै पनि चलेकै छ। नेपाल तरुण दलमा चार जना पदाधिकारी राखेरै वर्षौं बिताइसकियो भने कांग्रेस पनि त्यसै गर्न सकिन्छ भन्ने लागेको होला। कांग्रेसका महाधिवेशन नभएका भ्रातृ तथा शुभेच्छुक संघसंगठन कति छन् कति भने कांग्रेसकै महाधिवेशन किन गर्नुपर्यो ? भन्ने ठानिएको पनि हुन सक्छ। यस्तै पारामा चल्दा तीस लाख भोट आएकै थियो भने अब त झन् कम्युनिस्ट फुटेका छन्, किन तात्नुपर्यो भन्ने पनि सोचिएको छ कि जस्तो लाग्न थालेको छ।
कुरो त्यसो होइन। साढे पाँच वर्ष कटेपछि अन्य राजनीतिक दलहरु र निर्वाचन आयोगले वैधानिकताका बारेमा प्रश्न उठाए भने कांग्रेसको हविगत के हुन्छ? नेपाली कांग्रेसको निर्वाचन लड्ने रुख चिह्न कांग्रेससँगै रहेन भने पार्टीको अस्तित्व कहाँ रहन्छ ? नेपाली कांग्रेस राष्ट्रिय पार्टी नरहेको सूचना निर्वाचन आयोगले निकाल्यो भने वि.सं. २००३ सालदेखिको इतिहास के बाँकी रहला? नेवि संघ, तरुण दल, महिला संघ आदिको अधिवेशन नहुँदा कमजोर कांग्रेसका रुपमा रहन सक्छ तर कांग्रेसै रहेन भने त न नेवि संघ रहन्छ न तरुण दल नै।
समय अझै छ। लोकतन्त्रका लागि नेपाली जनताको ढुकढुकी नेपाली कांग्रेस नै हो। विकास र समृद्धि कांग्रेसबाट मात्रै सम्भव छ भन्ने विश्वास अझै छ नेपाली जनतामा। अझ त्यसलाई पुष्टि गर्न केपी ओलीका क्रियाकलापले सहयोग गरेको अवस्था छ। जनताको यो आस्था, विश्वास र भरोसालाई कांग्रेसको नेतृत्व र नेतागणले कदापि मर्न दिन हुँदैन। जनताको संवेदनालाई नेताहरुले मनन गर्नेछन् भन्ने विश्वास जनतामा मरिसकेको छैन।
अर्कोतिर, ‘मलाई शेरबहादुर देउवा मन पर्छ किनभने’ अभियान देउवाकै सचिवालयबाट सञ्चालन गरिएको भन्ने सुन्नमा आएको छ। आफ्नो गुनगान आफैंले गाउन लगाउनु कसैगरी राम्रो मानिँदैन। यसै गर्दा पूर्वप्रधानमन्त्री केपी ओलीको के हालत भयो विचार गर्नु नै उचित हुन्छ। यसो गर्नु भन्दा सामाजिक सञ्जालमा सरकारका बारेमा उठाइएका विषय अध्ययन गर्ने र जस्ताको तस्तै प्रधानमन्त्रीलाई सुनाउने संयन्त्र निर्माण गरेमा केही राम्रो हुन्थ्यो। र ती आमजनताका चासोलाई सम्बोधन गर्ने परिपाटीको विकास गर्ने कि! अधिकारीले यो लेख नेपाल समयका लागि लेखेको हुन।