बाँके\ चिसो अत्याधिक बढेपछि बाँकेका विद्यालयमा पठनपाठन बन्द गरिएको छ । चिसोका कारण बालबालिकाहरु बिरामी पर्न थालेपछि विद्यालय बन्द गरिएको हो ।सरकारी विद्यालय बन्द गरिएपनि निजी विद्यालयहरु भने बन्द गरिएको छैन ।
चिसो बढेपछि विद्यालयमा पढ्न आएका बालबालिकाहरु बिरामी पर्न थालेपछि विद्यालयको पठनपाठन बन्द गरिएको शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख रामसुरेश यादवले बताए ।
उनका अनुसार पालिकाहरुले विद्यालय बन्दका आ-आफनो मापदण्ड तय गरेको छ । नेपालगन्ज उपमहानगरपालिकाभित्रका बालविकास र १ देखि कक्षा ५ सम्मको पढाइ बुधबारदेखि तीन दिनका लागि बन्द गरिएको छ । बढ्दो चिसोको जोखिमलाई मध्यनजर गर्दै तल्लो तहमा अध्ययनरत साना बालबालिकाहरुको स्वास्थ्यलाई ध्यानमा राखी बाल विकास र कक्षा १ देखि ५ सम्मको कक्षा सञ्चालन बन्द गरिएको उपमहानगरपालिकाको शिक्षा महाशाखाका शाखा अधिकृत लोकेन्द्रबहादुर शाहीले बताए ।
अन्य पालिकाहरु खजुरा र नरैनापुरमा भने सबै विद्यालय बन्द गरिएका छन् । ती विद्यालय पनि तीन दिनकै लागि बन्द गरिएको हो ।