बुटवल\ विभिन्न ‘प्रोजेक्ट’को सिलसिलामा मेघनाथ आचार्य झण्डै ३ दशकअघि थाइल्यान्ड (बैंकक) पुगेका थिए । ‘लुम्बिनीबाट आएको हुँ’ भनेर परिचय दिँदा त्यहाँका नागरिकले उनका खुट्टा ढोगेपछि उनी सोचमग्न भए ।
महामानव गौतम बुद्धको जन्मभूमि लुम्बिनीको यतिधेरै महत्त्व ! त्यहाँबाट फर्किएपछि विश्व समुदायले मान्ने पवित्र भूमि लुम्बिनीमा केही उद्यम गर्न आचार्यलाई प्रेरित गर्यो । लुम्बिनीमा जग्गा किनेर व्यवसाय गर्न सकिने सम्भावना पनि देखे उनले । त्यसका लागि खोजी र अनुसन्धान गरे ।
अन्ततः बैंककमा पाएको महत्त्वले सार्थकता पायो । मत्स्य विकास केन्द्रमा प्राविधिक सहायक पदमा कार्यरत आचार्यले आर्थिक अवस्था बलियो नभए पनि ऋणधन गरेर विक्रम संवत् २०५२ सालमा हार्डवेयर व्यवसाय थाले । त्यो बेलामा लुम्बिनीमा पहाडी मूलको व्यक्तिले थालेको व्यवसाय पहिलो थियो ।
व्यवसायसँगै तराईको समुदायसँग भावनात्मक सम्बन्धमा जोडिँदै पनि गए । त्यसपछि पेट्रोल पम्प सञ्चालनमा ल्याए । व्यवसायको सफलतासँगै विश्वका बौद्ध धर्मालम्बीलाई आतिथ्यता गर्ने पर्यटन क्षेत्रमा जोडिने आशासहित उनले जग्गाको क्षेत्रलाई विगाहा पुर्याए अनि शुरू गरे होटल बुद्धमाया प्रालि ।
केही दिनअघि उनीसँग भेट्दा होटलको स्तरवृद्धि ‘फोर स्टार’ बनाउन काम गर्दै गरेका कामदारलाई सिकाउँदै थिए । २०६५ सालमा २५ वटा रुमबाट शुरू गरेको आचार्यको होटल तारे होटल बनिसकेको छ ।
‘त्यो बेलाको मेरो थाइल्यान्ड ‘टूर’ अविश्मरणीय बन्न पुग्यो,’ आचार्य भन्छन्, ‘सरकारी जागिरे मलाई भगवान् गौतमबुद्धको काँखमा व्यवसाय गर्ने बनायो ।’ उनी होटल बुद्धमाया प्यालेस प्रालिका एक्ला सञ्चालक हुन् ।
अर्घाखाँचीको तत्कालीन अडगुरी गाविस (हाल पाणिनी गाउँपालिका) मा विक्रम संवत् २०१६ सालमा जन्मिएका मेघनाथ पढाइमा पनि तगडा नै थिए । १५ वर्ष जागिरे जीवन छाडेर व्यवसायमा जोडिएका उनको लुम्बिनीको पर्यटन विकासमा महत्त्वपूर्ण योगदान छ । पहाडी मूलको व्यक्तिले ९९ प्रतिशत तराई/मधेशका समुदायमा रहेर व्यवसाय गर्दा ठूला बाधा–व्यवधान पनि खेपे । १० वर्ष अगाडिको मधेश आन्दोलनले गर्दा उनलाई पिरोल्दै गयो । होटलमा ढुंगामुढा पनि भए ।
‘मधेश आन्दोलनको बेला ठूलो डर भयो,’ आचार्य भन्छन्, ‘सबै व्यवसाय बन्द गरेर हिँड्ने अवस्था आएको थियो । धैर्यधारण गरें । कसैको भावनालाई कुल्चिएन तर कसरी धानिएँ धानिएँ । अहिले सम्झिँदा आफैंलाई आश्चर्य लाग्छ । आन्दोलनको बेला पहाडी मूलका व्यक्ति देख्ने बित्तिकै आँखा तरिहाल्थे ।’ लुम्बिनी अहिले धेरै बदलिएको छ । दर्जनौं ‘फाइभ स्टार’देखि ‘स्टार लेवल’का होटल सञ्चालनमा आएका छन् ।
आफूसँगै अरूमा पनि लुम्बिनीको ठूलो महत्त्व छ भनेर व्यवसाय गर्न प्रेरित गर्दै गए । आचार्यको अहिले लुम्बिनीमा राम्रो पहिचान बनिसकेको छ । समयसँगै उनको परिचय पनि अहिले फेरिएर उद्यमी मेघनाथ बनेका छ । सानो पुँजीबाट शुरूआत गरेको आचार्यको व्यवसाय अहिले करोडौंको लगानीमा पुगेको छ ।
आचार्यले अहिले मासिक लाखौं रूपमा हात पार्छन् । उमेरले ६ दशक पार गरे पनि उनको शारीरिक स्फूर्तिमा कुनै कमी आएको छैन ।
कोरानाले २ वर्ष थला परेको पर्यटन क्षेत्रलाई अब फेरि अर्को लहरले कुन अवस्थासम्म पुर्याउने हो भनेर उनी चिन्तित पनि छन् । कोरोनाको हलचलले कहाँ पुर्याउने हो केही ठेगान नभएको आचार्य बताउँछन् ।
लुम्बिनीको समग्र विकासमा राज्य चुकेको उनको बुझाइ छ । ‘साँच्चै लुम्बिनीको यति ठूलो महत्त्व रहेछ । राज्यले अझै पनि लुम्बिनी चिन्न सकेको छैन । जुन रूपमा लुम्बिनीको विकास हुनुपर्ने हो, अझै भएको छैन । विश्वका अरु देशमा यस्तो भूमि भए कस्तो विकास गर्थे होलान्,’ आचार्य भन्छन् । लगानीको वातावरण राज्यले निर्माण गर्न सके लुम्बिनीको पर्यटन क्षेत्र फस्टाउने उनको बुझाइ छ ।
आचार्यको परिवार २०२१ सालमा तत्कालीन कपिलवस्तुको कोपुवा (हाल वाणगंगा नगरपालिका) मा बसाइँसराइँ गरेर झरेको थियो । मेघनाथका बुवा तिलकराम कोपुवामा झरेपछि कृषि पेशा गर्थे । विद्यालय तह कोपुवामै पढेका आचार्यले तत्कालीन एसएलसी दिन अर्घाखाँची फर्किनुपर्यो । कोपुवामा नजिकै मावि तहको विद्यालय नहुँदा आचार्यले अर्घाखाँचीको शारदा माविबाट २०३५ सालमा एसएलसी उत्तीर्ण गरेका हुन् ।
एसएलसी पास भएपछि उनले चितवनको रामपुरमा विज्ञान संकाय लिएर पढें । आईएस्सी उत्तीर्ण गरेपछि उनले जागिर शुरू गरेका थिए । ‘आन्दोलन, विद्रोह वा संघर्षका माध्यमबाट व्यवस्था परिवर्तन भयो,’ आचार्य भन्छन्, ‘लुम्बिनीको संस्थागत विकास गरी देशलाई समृद्धिको बाटोमा अग्रसर गराउन सरकारले त्यति चासो दिएन ।’
४० वर्ष अघिदेखि थालिएको लुम्बिनी गुरूयोजना समेत अझै पूरा हुन सकेको छैन । भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि साँच्चै लुम्बिनीमा विदेशी पर्यटक र लगानी दुवैको ओइरो लाग्ने अपेक्षा छ । त्यसका लागि राज्यले लुम्बिनी गुरूयोजना छिटो पूरा गर्नतर्फ अग्रसरता देखाउनुपर्ने उनको बुझाइ छ ।
आचार्यको दिनचर्या सामान्य छ । बिहान सबेरै उठ्ने, आफैंले व्यवसायसँगै लुम्बिनीमा पालेका गाई दुहुने । आफैं बिहान–साँझ गाईको दूध दुहेर खान्छन् । सागसब्जी आफूलाई पुग्ने आफैं उत्पादन गर्छन् । आचार्यका २ छोरा पनि व्यवसायमै जोडिएका छन् । उनले ५० जनाभन्दा बढीलाई रोजगारी पनि दिएका छन् तर कामदारलाई टिकाउन ठूलो समस्या रहेको आचार्य बताउँछन् ।
पर्यटन व्यवसायमा एउटै सेवालाई ‘कपी पेस्ट’ गर्न नहुने आचार्यको मान्यता छ । ‘अर्को होटलले दिनेभन्दा फरक सेवा दिन सक्नुपर्छ,’ आचार्यले भने, ‘टुरिज्म प्रमोट गर्ने हो भने पर्यटकलाई फरक–फरक वातावरण, खानामा फरक स्वाद, बगैंचादेखि सजावटसम्म टिपिकल हुनुपर्छ ।’
अब फेरि कोरोनाको तेस्रो लहरको ठूलो त्रासमा पर्यटन क्षेत्र रहेको उनी बताउँछन् । अब पनि पर्यटन क्षेत्र थलिए व्यवसायी बैंकको व्याज तिर्न नसकेर धोतीटोपी हुने उनले बताए । लोकान्तर