बाँके\ प्रदेश सरकारले ‘मानव वन्यजन्तु द्वन्द्व न्युनीकरण कार्यक्रम’ मार्फत् बाँकेमा बाघको आक्रमणबाट मृत्यु भएका व्यक्तिका परिवारलाई राहत प्रदान गरेको छ ।
डिभिजन वन कार्यालय बाँकेका प्रमुख ददिलाल कंडेलले मृतकको घरमै पुगेर प्रति परिवार ५० हजारका दरले चेक हस्तान्तरण गरे। दुवै पीडित परिवारलाई ५०/५० हजार हस्तान्तरण गरिएको डिभिजन वन कार्यालय बाँकेका प्रमुख कंडेलले बताए ।
बाघले आक्रमण गर्दा राप्ती सोनारी ६ फत्तेपुरकी २९ वर्षीया चाँदनी थारु र राप्ती सोनारी ४ पर्सोनाकी ५३ वर्षीया लिला विष्टको गत साता मृत्यु भएको थियो।
यस्तै वन तथा वातावरण संरक्षण समन्वय समिति कम्दी बाँकेले पनि फत्तेपुरका पीडित परिवारलाई काजकिरिया खर्चस्वरुप १० हजार प्रदान गरेको छ।
समन्वय समितिका अध्यक्ष लवराज खरेलले शुक्रबार सो रकम हस्तान्तरण गरेका थिए । समन्वय समितिको कार्यक्षेत्रअन्तर्गत पर्ने सामुदायिक वन उपभोक्ता मृतक चाँदनीका परिवारलाई किरिया खर्च दिएको खरेलले बताए।
यसअघि राप्ती सोनारी गाउँपालिकाले पनि बाघको आक्रमणबाट ज्यान गुमाएका लिला र चाँदनीको परिवारलाई किरिया खर्च बापत २०/२० हजार रुपैयाँ हस्तान्तरण गरेको थियो ।