बाँके\नेपालगन्ज उपमहानगरपालिका–४ न्युरोडका धर्मराज सुनारका बालबालिकासहित परिवारका १० जनालाई करिब एक सातादेखि रुघाखोकी र ज्वरोले सताएको छ । जाडोको बेला नेपालगन्जको मुटु काम्ने चिसो मौसममा रुघा लाग्नुलाई सर्वसाधारणले सामान्य रूपमा लिन्छन् । तर, यतिबेला चिसो बढेको र कोरोना संक्रमण दर बढेका कारण रुघाखोकी र ज्वरोका पीडित सर्वसाधारणलाई कोरोना संक्रमण हो कि सामान्य रुघाखोकी हो भन्ने छुट्याउन अन्योल भएको छ ।
नेपालगन्जका धर्मराजमात्रै होइनन्, यतिबेला बाँकेका हरेक गाउँ–सहरका घर–परिवारमा रुघाखोकी र ज्वरोको समस्या देखिएको छ । अधिकांशले सामान्य रुघाखोकी भन्दै कोरोना परीक्षण नै नगराई घरमै बसेका छन् । ‘एक सातादेखि हाम्रो पूरै परिवारलाई रुघाखोकी, ज्वरो आउने र जीउ दुख्ने समस्या भइरहेको छ । अहिलेसम्म जाँच गराएका छैनौं,’ धर्मराजले भने, ‘चिसो मौसममा हरेक वर्ष हुने फ्लु हो जस्तो लाग्छ । अप्ठ्यारो भयो भने अस्पताल गराएर परीक्षण गराउनु पर्ला ।’ यता कोरोनाको परीक्षण गराउन आएका मध्ये ८० प्रतिशतभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।
भेरी अस्पताल नेपालगन्जमा बुधबार गरिएको १ सय १ जनाको परीक्षणमध्ये ७० जनामा संक्रमण देखिएको हो । त्यस्तै, कोहलपुर मेडिकल कलेजमा ५३ जनाको परीक्षण गर्दा ३२ जना र बागेश्वरी ल्याबमा १३ जनाको परीक्षण गर्दा ६ जनामा कोरोना देखिएको छ । बाँकेमा सक्रिय संक्रमितको संख्या ४ सय पुगेको छ ।
‘यतिबेला चिसो र कोरोना संक्रमण दुवैको सिजन चलेको छ । सामान्य खोकी लागेकाले पनि परीक्षण गर्दा कोरोना पुष्टि भइरहेको छ,’ भेरी अस्पताल नेपालगन्जका मेडिकल विभाग प्रमुख तथा फिजिसियन डा. राजन पाण्डेले भने, ‘अब त शतप्रतिशतमा कोरोना देखिन सक्छ । तर, खोप धेरैले पाइसकेको र कोरोनाबारे धेरै जानकार भइसकेकाले अस्पतालमा बस्ने बिरामीको संख्या भने कम छ ।’ उनका अनुसार सुरुमा सुक्खा खोकी लागेका व्यक्तिमा कोरोनाको संक्रमण हुन सक्ने सम्भावना बढी मानिन्थ्यो । नाक बग्नु, आच्छ्युँ लाग्दैमा कोरोनाको संक्रमण नहुन सक्थ्यो । ‘अहिले त जस्तोसुकै खोकी होस् वा जीउ दुख्ने समस्या, परीक्षण गर्दा कोरोना देखिन्छ,’ डा. पाण्डेले भने, ‘बाँकेमा कोरोनाको तेस्रो भेरियन्ट पिकमा छ । दुई/तीन सातासम्म हामी सबै संक्रमित भइसक्ने छौं । अनि, आफैं कम हुँदै जानेछ ।’ नेपालगन्ज–१० की कमला बोहरा, छोरी र श्रीमान् तीन जनालाई रुघाखोकी लागेको एक साता भइसक्यो । उनले कोरोना परीक्षण नगराई सामान्य सिटामोल औषधि खाइरहेको बताइन् । ‘खोक्दा खसखस हुन्छ । नाक पनि बगेको छ,’ उनले भनिन्, ‘पहिले भन्दा अहिले स्वास्थ्यमा सुधार आइरहेको छ ।’
भेरी अस्पताल नेपालगन्जका कोरोना स्रोत व्यक्ति वरिष्ठ फिजिसियन डा. संकेतकुमार रिसालले रुघाखोकी लाग्ने चिसो मौसम र कोरोनाको संक्रमण तीव्र रूपमा भइरहेकाले स्वास्थ्य समस्या देखिए स्वास्थ्यकर्मीको सम्पर्कमा रहन सुझाव दिए । ‘घाँटी खसखस हुने, जीउ दुख्ने, रुघाखोकी लाग्ने, ज्वरो आउने जुनसुकै समस्या देखिए पनि कोरोना संक्रमण हुन सक्छ,’ उनले भने, ‘रुघा हो कि कोरोना हो ? परीक्षण गरेर मात्रै ढुक्क हुन सक्ने अवस्था रहन्छ ।’ उनले कोरोनाको खोप धेरैले लिइसकेका कारणले पनि जटिल अवस्था नआइसकेको बताए । ‘खोपले धेरैलाई जोगाएको छ,’ उनले भने । दुई साताअघि कोरोना संक्रमित दुई जनामात्रै बिरामी भेरी अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । हाल २५ जना उपचारका लागि भर्ना छन् । कोरोना परीक्षणका लागि नाकामा खटिएका १७ स्वास्थ्यकर्मीमध्ये १० जना संक्रमित भइसकेका छन् । इकान्तिपुर