बाँके\५ दलीय सत्तारुढ गठबन्धनले निर्वाचन कानून संशोधन गरेर जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ ।
स्थानीय तह निर्वाचन ऐन अनुसार जेठ ५ गतेभित्र स्थानीय तहको निर्वाचन गरेर परिणाम घोषणा गरिसक्नुपर्छ तर गठबन्धनले जेठ महिनाभित्र निर्वाचन गर्ने भनेपछि कानून संशोधन गर्नुपर्ने भएको छ ।
सरकारका प्रवक्ता एवं गठबन्धन बैठकमा सहभागी भएका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्ने निर्णय भएको जानकारी दिए ।
निर्वाचन कानून संशोधन गर्नुपर्ने भए त्यसको तयारी गर्न प्रधानमन्त्रीमार्फत सरकारलाई निर्देशन दिएको पनि उनले जानकारी दिए ।
चौतर्फी दबाबपछि जेठमा स्थानीय तहको निर्वाचन गर्न गठबन्धन तयार भएको छ । गठबन्धनमा रहेका माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरू निर्वाचन सार्ने पक्षमा थिए ।
सार्वजनिक रूपमा सिर्जना भएको दबाबका कारण गठबन्धनभित्र रहेका दल जेठमा निर्वाचन गर्न तयार भएका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले समेत कानूनअनुसार स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिएकी थिइन् । भण्डारीले प्रधानमन्त्री देउवालाई पत्र नै दिएर निर्वाचन सम्बन्धी कानून स्मरण गराएकी हुन् ।
गठबन्धनको शनिवारको बैठकमा निर्वाचनमा गठबन्धन कायम गरेर जाने विषयमा पनि छलफल भएको बैठकमा सहभागी एक नेताले बताए ।